मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

समूह विजेता बन्दै ब्राजिल नकआउट चरणमा

बिहीबार, १४ असार २०७५, ०१ : ४६
बिहीबार, १४ असार २०७५

काठमाडौँ । पाँच पटकको विश्व विजेता ब्राजिल सर्बियालाई पारजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राती सम्पन्न खेलमा ब्राजिल २–० गोलअन्तरले विजयी भएको हो ।

जीतसँगै ब्राजिल समूह ईको समूह विजेता बन्दै अन्तिम १६ मा स्थानमा बनाउन सफल रह्यो ।

खेलको पहिलो हाफमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । खेलको ३६ औँ मिनेटमा काउन्टिन्होको पासमा पाउलिन्होले ब्राजिललाई अग्रता दिलाएका थिए ।

ब्राजिलले यो विश्वकपमा गरेका चारमध्ये तीन गोलमा काउन्टिन्होको प्रत्यक्ष संलग्नता रहेको छ । यसमा उनले एक गोल गर्नका साथै दुईमा गोलको अवसर सृजना गरेका छन् ।

खेलको दोस्रो हाफमा सर्बियाले सुधारिएको खेल प्रदर्शन गरे पनि ब्राजिलको पोष्टमा प्रत्यक्ष आक्रमण भने गर्न सकेन । बराबरी गोलका लागि सर्बियाले प्रयास गरिरहँदा नेयमारको कर्नरमा थियागो सिल्भाले हेडमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

योसँगै सर्बियाको नकआउट चरण पुग्ने सपना चकनाचुर बन्यो । ब्राजिलले त्यसपछि खेलमा नियन्त्रण बनायो । यसक्रममा स्टार खेलाडी नेयमारले थुप्रै गोलको अवसर गुमाए ।

त्यसपछि कुनै गोल हुन सकेन र ७ अंक सहित ब्राजिल समूह विजेता बन्यो । अब ब्राजिलले नकआउट चरणमा मेक्सिकोको सामना गर्नेछ ।

उता, कोस्टारिकासँग २–२ गोलको बराबरी खेल्दै स्वीटजरल्याण्ड पनि नकआउट चरणमा प्रवेश गरेको छ ।

खेलमा दुई पटक अग्रता लिए पनि स्वीटजरल्याण्डले जीत हासिल गर्न सकेन ।

ब्लेरिम डेजमालीले स्वीटजरल्याण्डलाई अग्रता दिलाए पनि केनडल वाटसनले खेल बराबरी गरे ।

खेलको ८८ औँ मिनेटमा जोसिप ड्रिमिचले गोल गर्दै स्वीटजरल्याण्डलाई जीत नजिक पुर्याए पनि इन्जुरी समयमा यान सोमारले गोल गर्दै कोस्टारिकालाई विश्वकप २०१८ मा पहिलो अंक दिलाए ।

स्वीटजरल्याण्डले अब स्वीडेनको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप