चलचित्र पत्रकारिता दिवसमा दर्जन बढी पत्रकारलाई सम्मान र पुरस्कार प्रदान
काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालले कला क्षेत्रका क्रियाशील दर्जन बढी पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरेको छ । चलचित्र पत्रकारिता दिवस तथा २५औँ रजत वार्षिक उत्सव पारेर उक्त पुरस्कार तथा सम्मान बाँडेको हो ।
कार्यक्रममा नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले नगद ५५ हजार ५ सय ५५ सहित ‘चलचित्र पत्रकारिता रजत सम्मान २०८१’ प्राप्त गरे ।
सङ्घका अध्यक्ष समीर बलामीको सभापतित्व र कार्यक्रम उपाध्यक्ष कुबेर गिरीको संयोजकत्वमा सम्पन्न समारोहमा पत्रकार कृष्ण भट्टराई र राज श्रेष्ठ ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८१’बाट सम्मानित भए ।
त्यसैगरी पत्रकार सुरज खड्का र अशेष अधिकारीलाई जनही नगद ५१ हजार रुपियाँसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१’बाट पुरस्कृत भएको कार्यक्रममा पत्रकार मदन रिजाल र दाङका पत्रकार शिव पुनले जनही २५ हजार रुपियाँसहित क्रमशः ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१’ र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८१’ प्राप्त गरे ।
सोमबार साँझ राजधानीको नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम अभिनेत्री भुवन चन्द, हास्य साम्राज्ञी वसुन्धरा भुसाल लगायतले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा उपप्रधान मन्त्री महासेठले नेपाललाई सुटिङ गन्तव्यको रूपमा विश्वमाझ परिचित गराउनुपर्नेमा जोड दिए । महासेठले सङ्घका पदाधिकारी तथा चलचित्रकर्मीहरूलाई मंगलबार मन्त्रालयमा निमन्त्रणा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेतको उपस्थितिमा छलफल गरी सरकारको तर्फबाट सक्दो सहयोग गर्नुका साथै बजेट सेसनमा फिल्म छेत्रको लागि बजेट छुटाउन पहल गर्ने बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र, गीत संगीत, नृत्यजस्ता विभिन्न विधालाई अघि बढाउन चलचित्र पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै चलचित्र पत्रकारिता बिना चलचित्र क्षेत्र अपूरो हुने बताए ।
त्यसै गरी सम्मानित र पुरस्कृत पत्रकारहरूको तर्पmबाट बोल्दै सङ्घका अध्यक्ष समेत रहेका विदुर गिरीले आफूले सम्मान र पुरस्कारका लागि पत्रकारिता नगरे पनि संघको रजत सम्मानले भावुक बनाएको र आगामी दिनमा पत्रकारितालाई अघि बढाउन थप हौसला मिलेको बताए ।
सङ्घका अध्यक्ष समीर बलामीले संघको रजत जयन्तीसँगै फिल्म पत्रकारहरू सच्चिएर जानुपर्नेमा जोड दिए । चलचित्र पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आगामी दिनमा पनि विभिन्न कार्यक्रम गर्नेछौ’ बलामीले भने ।
सङ्घका पूर्व अध्यक्ष शान्तिप्रियले चलचित्र पत्रकारले बौद्धिकता र पेसागत मर्यादालाई कायम राख्दै नयाँ बाटो कोर्न प्रतिबद्ध हुनुपर्ने सुझाव दिए ।
सङ्घका उपाध्यक्ष कुबेर गिरीले संघले चलचित्र पत्रकारको हक हितका लागि काम गर्दै उनीहरूलाई प्रोत्साहन र सम्मान गर्दै अगाडि बढेको बताए ।
सङ्घका महासचिव रघुनाथ सापकोटाद्वारा सञ्चालित समारोहमा अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले चलचित्र पत्रकारहरुले निश्पक्ष र खोजमूलक पत्रकारिता गर्नुपर्ने औँल्याउँदै कला क्षेत्रको उत्थानमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।
अभिनेत्री वसुन्धरा भुसालले पनि फिल्म क्षेत्रमा चलचित्र पत्रकारको भूमिकाको चर्चा गरिन् । नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले आफूपनि चलचित्र पत्रकारिता गर्दै कलाकारितामा अघि बढेको जानकारी गराउँदै चलचित्र पत्रकारले कलाकारलाई आँखा देखाउँदै सचेतकको भूमिका निर्वाह गर्दै आएको चर्चा गरे ।
कार्यक्रममा चलचित्र पत्रकारिता रजत बर्ष पारेर पत्रकार डिबी खड्का, दिपक बिष्ट, रञ्जन खनाल, शिल्पा अधिकारी, जयनसुब्बा मानन्धर, अमृत पुडासैनी, मनिराज गौतम, रवीन्द्र खड्काले ‘चलचित्र पत्रकार रजत वर्ष विशेष सम्मान’ प्राप्त गरे ।
बिभिन्न सांगीतिक कार्यक्रम सहित सम्पन्न सन्तोष बस्याल र सहिमा श्रेष्ठले गीत र विजेता अधिकारी, रमा न्यौपानेलगायतले नृत्य देखाएका थिए । कार्यक्रममा चलचित्र क्षेत्रका थुप्रै संघसंस्थाको प्रतिनिधि, चलचित्रकर्मी, पत्रकारिता क्षेत्रका संघसंस्थाको प्रतिनिधिहरूको समेत सहभागिता थियो ।
कार्यक्रममा रजत वर्षको केक समेत काटेर सेलिब्रेसन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण