आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गोलार्द्ध

नवीकरणीय खाद्य पदार्थको उदय

सोमबार, १६ भदौ २०८२, ०८ : १२
सोमबार, १६ भदौ २०८२

सारांश

  • जलवायु परिवर्तन, पानीको अभाव र माटो क्षयीकरणले गर्दा खाद्य उत्पादन घट्ने सम्भावना बढेको छ।
  • फिनल्याण्डको कम्पनीले हावा, पानी र नवीकरणीय ऊर्जाबाट प्रोटिनको पिठो बनाउन थालेको छ।
  • नयाँ प्रविधि र दृष्टिकोणले खाद्य प्रणालीमा परिवर्तन ल्याउँदैछ, र पुरानो शैलीका उद्योगहरू धराशायी बन्ने खतरा छ।
00:00 / NaN:NaN
Audio By AI

हामी दैनन्दिन जीवनमा देखापर्ने अल्पकालीन राजनीतिक वा व्यावसायिक उतार–चढावका चर्चाहरूमा यत्तिकै हराइरहेका हुन्छौँ ।  तर, यस्ता होहल्लाहरू भन्दा बाहिर केही महत्त्वपूर्ण सन्दर्भहरू पनि छन् । जसमा विज्ञान र अर्थशास्त्र पर्छन् । तिनीहरूले हाम्रो जीवनमा साँच्चिकै प्रभाव पारिरहेका हुन्छन् ।

विज्ञानले भन्दैछ औद्योगिक स्तरमा गरिएको खेतीपाती तथा त्यसमै टिकेको खाद्य प्रणाली दिगो छैन । जलवायु परिवर्तन, पानीको अभाव, माटोको क्षयीकरण जमिनको प्रयोगको हालको अवस्थाका कारण उद्योगहरूले अबका दिनमा बढ्दो जनसङ्ख्यालाई धान्न खाद्यान्न उत्पादन गर्न सक्दैनन् । उनीहरूले फेरिँदो उपभोग शैली र बढ्दो आयबिच आउने दिनमा बढेको जनसङ्ख्याको माग मध्ये आधा मात्रै उत्पादन गर्न सक्छन् ।

हामी मनग्गे खाद्यान्न उत्पादन गर्न सक्छौ कि सक्दैनौ भन्ने प्रश्न अव केवल सैद्धान्तिक प्रश्न मात्रै रहेन । यसको व्यवहारिक र तात्कालिक महत्त्व छ । हामीलाई उपयुक्त मूल्य, स्थान, समयमा आफूलाई आवश्यक खाद्यान्न उपलब्ध गराउने वैश्विक खाद्य प्रणाली चाहिन्छ । 

बढ्दो भूराजनीतिक अस्थिरता तथा घट्दो वैश्विक सहकार्यको अवस्थामा यसको महत्त्व झनै बढ्दै छ । यस्तो अवस्थामा जलवायु परिवर्तन लगायत अन्य असरहरू अझै बढ्छन् । आपूर्तिमा अवरोध हुने वा वैश्विक खाद्य सङ्कट आइपर्ने सम्भावना थपिन्छन् । 

क्षेत्रीय स्तरमा बढेका तनावहरूले आपूर्ति प्रणालीमा अस्थिरता ल्याउने प्रवृत्ति सामान्य हुन जान्छ । समग्र यी घटनाले भूराजनीतिक हलचल, द्वन्द्व तथा अव्यवस्था हुँदै ठुलो वैश्विक आर्थिक प्रभाव सिर्जना गर्छन् ।

अहिलेकै अवस्था कायम रहने हो भने अब जलवायु परिवर्तनको शिकार हुने पालो खाद्य तथा कृषि प्रणालीको हो । यो समस्या समाधानको सम्भावनाविहीन भने छैन ।

खाद्यान्न उत्पादनमा अत्याधुनिक प्रविधिको प्रयोग बढेको छ । फिनल्यान्डको प्रविधि कम्पनी ‘सोलार फुड्स’ले पानी, हावा र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत प्रोटिनको पिठो बनाउँदै छ ।

बजारहरूले आफै नवीकरणीय खाद्य प्रणालीको बाटो देखाउन थालेका छन् । खाद्य उत्पादनका लागि विभिन्न नयाँ दृष्टिकोणहरू अहिले व्यापक प्रयोगमा आउन थालेका छन् । त्यस्ता नयाँ दृष्टिकोणको प्रयोग तीव्र रूपमा बढिरहेको छ । 

जसमध्ये सबैभन्दा आशालाग्दो चाहिँ मानिसले धेरै अघिदेखि उपयोग गर्दै आएको ‘फर्मेन्टेसन’ विधिलाई एआई तथा बायोटेक जस्ता आधुनिक प्रविधिहरूसँग मिसाउने अभ्यास हो । यसरी जैविक प्रक्रियाहरू प्रयोग पनि हुन्छ साथै परम्परागत कृषिको तरिका भन्दा पृथक् रूपमा प्रोटिन लगायत अन्य खाद्य सामग्रीहरू उत्पादन गर्न सकिन्छ ।

खाद्यान्न उत्पादनमा अत्याधुनिक प्रविधिको प्रयोग बढेको छ । फिनल्यान्डको प्रविधि कम्पनी ‘सोलार फुड्स’ले पानी, हावा र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत प्रोटिनको पिठो बनाउँदै छ । यस्तो उत्पादनमा मासु मात्र नभएर जमिनकै समेत आवश्यकता पर्दैन । 

पशुजन्य उत्पादनलाई कच्चा पदार्थको रूपमा प्रयोग नगरेरै पनि प्रोटिन र दुग्धजन्य खाद्य पदार्थ उत्पादन हुन थालेको छ । अझ यस्ता उत्पादनहरू प्रभावकारी र पर्यावरणमैत्री समेत छन् । अध्ययनहरूले यस्ता विधिको प्रयोगले उत्पादनका लागि पानीको खपत, हरित गृह ग्याँस उत्सर्जन  तथा जमिनको प्रयोग ९० प्रतिशत भन्दा कम गराउने देखाएका छन् ।

भेरामारिस नामको कम्पनीले झ्याउबाट माछाको तेल उत्पादन गर्दैछ । यसको प्रयोग माछापालन लगायत गतिविधि तथा मान्छेको पोषणका लागि हुने गर्छ । यस्ता उत्पादनको मूल्यमा मौसमको फेरबदलले उतार–चढाव ल्याउँदैन । कुनै प्रदूषित वस्तु राखिएको हुँदैन । विशुद्ध भरपर्दा र स्वास्थ्यका लागि आवश्यक तत्त्वहरू राखिएका हुन्छन् ।

अहिलेसम्म प्रभावशाली रहेका पुराना शैलीका उद्योगहरू अब धराशायी हुन सक्छन् । बजार केवल नैतिक, सामाजिक आवश्यकता वा उपभोक्ताको छनोटले मात्रै चलेको हुँदैन । यसका पछाडि अर्थशास्त्रले काम गरेको हुन्छ । 

यस्तो नवीन शैलीको उत्पादन अहिले प्रारम्भिक चरणमा छ । तर वैश्विक खाद्य प्रणालीमा ठुलो रूपान्तरण आउने कुरा बजारले पक्कै सोचिसकेको छ ।

नयाँ उद्योगहरू सस्तो, स्वस्थ र सुरक्षित खाद्यान्न उत्पादन गर्दैछन् । उनीहरू धेरै प्रतिस्पर्धी क्षमतामा उदाउँदै छन् । यसले पुरानो प्रविधि र उद्योगको शैलीलाई मेट्दैछ । नवीकरणीय ऊर्जा तथा विद्युतीय सवारी साधन उत्पादनको क्षेत्रमा विभिन्न मुलुकहरू हार्ने र जित्ने अवस्था सिर्जना भएको हामी देखिरहेकै छौँ । 

खाद्यान्न उत्पादनका क्षेत्रमा चीन र सिंगापुरले यस अघि नै नवीकरणीय खाद्यान्न उत्पादनमा आक्रामक नीतिसाथ सहकार्य सुरु गरिसकेका छन् । अमेरिका र युरोपेली सङ्घ पछाडि पर्ने जोखिममा छन् । अहिले अमेरिकामा चलेको ‘ड्रिल बेबी ड्रिल’को अन्त्य कसरी हुन्छ भन्ने हामीले थाहा पाइसकेका छौँ ।

यस्तो नवीन शैलीको उत्पादन अहिले प्रारम्भिक चरणमा छ । तर वैश्विक खाद्य प्रणालीमा ठुलो रूपान्तरण आउने कुरा बजारले पक्कै सोचिसकेको छ । ‘गुड फुड इन्स्टिच्युट’ नामको संस्थाले हाल करिब दुई हजार व्यावसायिक संस्थाहरू प्रोटिन व्यापारमा सक्रिय रहेको देखाएको छ । त्यस्ता कम्पनीहरूमा केही नयाँ विचार भएका नयाँ खाले कम्पनीहरू छन् । 

धेरैजसो चाहिँ युनिलिभर, डानोन र नेस्ले जस्ता ठुला विश्वव्यापी ब्रान्डहरू छन् । तिनीहरू आपूर्ति शृङ्खलाहरूलाई बलियो र सस्तो बनाउनमा धेरै जोड गर्छन् । सामाजिक हितमा उनीहरूको जोड छैन केवल अनिश्चित संसारमा आफू प्रतिस्पर्धी रहनेमा ध्यान छ ।

यद्यपि नवीकरणीय खाद्य उद्योग भने अबका दिनमा ठुलो सम्भावना बोकेको क्षेत्र हो भन्ने प्रस्ट भएको छ । यो सम्भावना साकार हुन्छ कि हुँदैन त यसै भन्न सकिन्न । तर अहिले विद्यमान खाद्य प्रणालीले भने अबका दिनमा विश्वको माग धान्न सक्दैन भन्ने चाहिँ पक्का हो । 

जब कुनै कुरा धान्न नसकिने अवस्थामा पुग्छ, निश्चय पनि त्यसको अन्त्य हुन्छ । जब खाद्यान्न आपूर्ति रोकिन्छ सबै कुरा त्यहीँबाट सुरु हुनेछ । त्यस्तो समयमा बजारले आवश्यक परिमार्जनसहित खाद्यान्न उपलब्ध गराउनु पर्ने हुन्छ । हामीले त्यो दिशामा काम गर्ने समय आइसकेको छ । 

विकल्पका रूपमा क्षितिजमा नवीकरणीय खेतीको झल्को देखिइसकेको छ ।   

(फाइनान्सियल टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पाउल गिल्डिङ
पाउल गिल्डिङ
लेखकबाट थप