आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
जीएसटी

भारतले घटायो जीएसटीको स्ल्याब, नेपालमा कस्तो पर्छ असर ?

बिहीबार, १९ भदौ २०८२, १५ : ००
बिहीबार, १९ भदौ २०८२

सारांश

  • भारतले वस्तु तथा सेवा कर (जीएसटी) को स्ल्याब परिवर्तन गरेको छ, जसअनुसार नयाँ दरहरू सेप्टेम्बर २२ देखि लागू हुनेछन्।
  • जीएसटी काउन्सिलको निर्णयले केही वस्तुमा करको दर बढाएको छ भने धेरै वस्तुमा घटाएको छ।
  • भारतको जीएसटी परिवर्तनले नेपालमा चोरी पैठारी बढ्ने र भ्याट दर घटाउनुपर्ने दबाब बढ्ने सम्भावना रहेको छ।

काठमाडौँ । भारतले लगाउँदै आएको वस्तु तथा सेवा कर (जीएसटी) को स्ल्याब परिवर्तन भएको छ । बुधबार बसेको जीएसटी काउन्सिलको बैठकले यसअघि रहेको जीएसटीको स्ल्याबलाई परिवर्तन गर्ने निर्णय गरेको हो । 

यो काउन्सिलमा संघीय अर्थमन्त्रीदेखि सबै प्रदेशका अर्थमन्त्रीहरू रहने गर्छन् । यो निर्णय सेप्टेम्बर २२ तारिखदेखि कार्यान्वयनमा निर्णय समेत काउन्सिलले गरेको छ ।  

यसअघि भारतमा उत्पादन तथा बिक्री हुँदै आएको वस्तुमा ५ प्रतिशत, १२ प्रतिशत, १८ प्रतिशत र २८ प्रतिशतको दरमा जीएसटी लाग्दै आएको थियो । अब यो दर ५ प्रतिशत र १८ प्रतिशत कायम गरिएको छ । केही विलासी र स्वास्थ्यका लागि हानिकारक, वस्तुमा मात्रै ४० प्रतिशतको स्ल्याब कायम गरिएको छ । 

त्यसबाहेक यसअघि १२ प्रतिशत स्ल्याब भएका सबै वस्तुको दर ५ प्रतिशतमा झरेको छ । यसअघि १८ प्रतिशत स्ल्याब रहेका वस्तुलाई केहीलाई छाडेर बाँकीलाई १८ प्रतिशतमा झरिएको छ । 

  • कुन वस्तुमा कति थियो जीएसटी अब कति भयो ?

१. ४० प्रतिशत जीएसटी पुर्‍याइएका वस्तुहरू

बुधबारको निर्णय अनुसार यसअघि २८ प्रतिशत जीएसटी रहेका वस्तुमध्ये सुर्तीजन्य पदार्थ, चुरोड, बबिँडि, तमाखु तथा चिनीजन्य पदार्थ मिश्रण गरिएको वस्तु एवं पेय पदार्थमा यो दर ४० प्रतिशत पुर्‍याइएको छ । यसमा पान मसला, चिनी वा अन्य गुलियो पदार्थ मिसाइएका सबै सामानहरू (कार्बोनेटेड पानी समेत), कार्बोनेटेड जुस तथा पेय पदार्थ, क्याफिन मिसाइएको पेय पदार्थहरू, उत्पादन गर्न बाँकी सुर्तीजन्य पदार्थ र यसमा उत्पादनहरू, तमाखु वा त्यसको विकल्पमा बनेका चुरोट तथा सिगारहरू, बिँडी तथा त्यससँग सम्बन्धित सामाग्रीहरू रहेका छन् ।

त्यस्तै, १२०० सीसीभन्दा बढी क्षमता वा ४००० मिलिमिटरभन्दा धेरै लम्बाई भएका हाइब्रिड सवारी साधन, ३५० सीसीभन्दा माथिका मोटरसाइकल, व्यक्तिगत प्रयोजनका विमान, याट तथा मनोरञ्जन तथा खेलकुदका लागि प्रयोग गरिने जलयानहरू, पेस्तोल तथा रिभल्भरहरू रहेका छन् । अहिले १८ प्रतिशत रहेको तोकिएका बाहेकका गैर अल्कोहलिक पेयर पदार्थको दर समेत ४० प्रतिशत पुर्‍याइएको छ । 

२. २८ प्रतिशतबाट १८ प्रतिशतमा झारिएका/पुर्‍याइएका सामान वस्तुहरू 

बुधबारको निर्णय अनुसार यसअघि हाल २८ प्रतिशत जीएसटी लाग्दै आएका २८ प्रकारका वस्तुमा अब यो शुल्क १८ प्रतिशतमा झार्ने निर्णय गरिएको छ । यस्ता वस्तुहरूमा विभिन्न प्रकारका सिमेन्टहरू, विमानबाहेक सबै प्रकारका सवारी साधनमा प्रयोग हुने टायर, विमानका बाहेक  स्पार्क(इग्निशन रेसिप्रोकेटिङ वा रोटरी इन्जिनहरू, डिजेल वा सेमि–डिजेल कम्प्रेशन इन्जिनहरू, एयर कन्डिसन, टेलिभिजन, ट्रयाक्टर, १० जनाभन्दा धेरै अट्ने सवारी साधन, १२०० सीसी र ४००० मिलिमिटर भन्दा कमका सवारी साधन, एम्बुलेन्स, सवारी साधनका पार्टस् तथा अन्य उपकरणहरू, ३५० सीसी भन्दा कम क्षमताका उपकरणहरू लगायत रहेका छन् । 

यसअघि १२ प्रतिशत जीएसटी रहेका करिब डेढ दर्जन वस्तुमा १८ प्रतिशत कर पुर्‍याइएको छ । त्यसमा मेन्थोल तथा मेन्थोल क्रिस्टलहरू, बायोडिजेल, रासायनिक काठको पल्प, डिसोल्भिङ ग्रेड, अनकोटेड कागज र पेपरबोर्ड, पोसाक र कपडाहरू रहेका छन् । यसअघि ५ प्रतिशत रहेको कोइला, लिगनाइट लगायतको जीएसटी दर समेत १८ पुर्‍याइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस बनाउँदै गर्दा आगामी दीपावालीका लागि जीएसटी घटाएर जनतालाई राहत दिने घोषणा गरेका थिए ।

३. यी हुन् पाँच प्रतिशत जीएसटी तोकिएका वस्तुहरू

त्यसबाहेक धेरै वस्तुमा सरकारले जीएसटीको दर घटाएको छ । यसअघि १८ प्रतिशत रहेका करिब साढे चार दर्जन वस्तुमा अब ५ प्रतिशत मात्र जीएसटी तोकिएको छ । यसरी जीसटी घटाइएका वस्तुहरूमध्ये खाद्य तथा पेय पदार्थ, , चिनीजन्य पदार्थ, विभिन्न प्रकारका तयारी खाद्य पदार्थहरू,  कफी र चिया, पानी, दूधजन्य पेय पदार्थ रहेका छन् । 

त्यस्तै, ट्र्याक्टरका पार्टसहरू, कृषि सम्बन्धित मेसिनरी सामाग्री, सल्फ्युरिक एसिड, नाइट्रिक एसिड र अमोनिया लगायत रासायनिक पदार्थहरू, फेस पाउडर, हेयर आयल, स्याम्पु, डेन्टल फ्लस, टूथपेस्ट, सेभिङ क्रिम, सेभिङ लोसन र टूथब्रस लगायत व्यक्तिगत हेरचाह तथा सरसफाइका उत्पादनहरू, चिकित्सा थर्मोमिटर र शल्यक्रिया, दन्त वा पशु चिकित्साका लागि प्रयोग हुने उपकरण तथा यन्त्रमा १८ प्रतिशत जीएसटी रहेकोमा यसलाई ५ प्रतिशतमा झार्ने निर्णय गरिएको छ । 

यसअघि १२ प्रतिशत रहेका माथि उल्लेखित बाहेक सबै वस्तुको जीएसटी छटाएर ५ प्रतिशतमा झारिएको छ । यी वस्तुहरूमा खाद्य पदार्थ र पेय पदार्थ, कृषि उत्पादन र रसायन, स्वास्थ्य र औषधिजन्य सामग्री, निर्माण सामग्री र काठजन्य उत्पादन, कपडा र कपडाजन्य उत्पादन, धातु र धातुजन्य उत्पादन, ऊर्जा र यान्त्रिक उपकरण उल्लेखित बाहेक अन्य यातायातका साधन रहेका छन् । 

हाल ५ प्रतिशत जीएसटी दर तोकिएका सबै वस्तुमध्ये माथि उल्लेख गरिएका केही वस्तुमा जीएसटी बढाउनु बाहेक बाँकी वस्तुमा यस्तो दरलाई निरन्तरता दिइएको छ ।

  • नेपाललाई कस्तो असर गर्छ ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस बनाउँदै गर्दा आगामी दीपावालीका लागि जीएसटी घटाएर जनतालाई राहत दिने घोषणा गरेका थिए । यसको तीन साता नबित्दै जीएसटी काउन्सिलले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै नेपाललाई तीन प्रकारबाट प्रभाव पार्ने विश्लेषकहरू बताउँछन् । 

भारत नेपालको सबैभन्दा ठुलो व्यापार साझेदार मात्र होइन, दुई देशबिच खुला सिमाना समेत छ । नेपालका करिब आधा जनसङ्ख्या तराई क्षेत्रमा बस्छन् जुन सीमावर्ती भारतीय सहरसँग नजिकै छ । त्यसैले कतिपय नेपालीले भारतीय सहरबाट समेत सामान किनबेच गरेर ल्याउने चलन छ । 

भारतको जीएसटी भनेको नेपालको मूल्य अभिवृद्धि कर (भ्याट) जस्तै कर हो जुन अन्तिम उपभोक्तामा लगाइन्छ । भारतले अधिकांश वस्तुको जीएसटी घटाउँदा भारतीय बजारमा ती वस्तुको मूल्य स्वतः घट्छ । यसले सीमावर्ती भारतीय र नेपाली सहरबिचको मूल्यमा अन्तर बढ्नेछ । यसले नेपालीले बोर्डर पारि गएर सामान किन्ने प्रवृत्ति बढाउने मात्रै काम गर्दैन, यसले चोरी पैठारी बढाउने जोखिम रहेको व्यवसायीहरू बताउँछन् । शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा अबको सबैभन्दा ठुलो जोखिम भनेकै चोरी पैठारी बढ्नु रहेको बताउँछन् । 

‘खुला सिमाना भएको ठाउँमा सुरक्षा संयन्त्रबाटै चोरी पैठारी रोक्छु भनेर सम्भव हुँदैन । यसले गर्दा भारतले जीएसटी घटाएपछि चोरी पैठारी बढ्छ, यसो हुँदा नेपालमा बसेर कानुन पालना गरेर व्यवसाय गर्नेलाई ठुलो असर गर्छ । त्यसैले यसबारे राज्यले अहिले नै सोच्नुपर्छ,’ उनले भने ।

भारतको यो निर्णयसँगै नेपाललाई समेत करको दर घटाएर ग्राहकलाई राहत दिनुपर्ने दबाब बढ्नेछ । अहिले नेपालले १३ प्रतिशत बराबरको एकल भ्याट दर कायम गरेको छ । जबकि अत्यावश्यक उपभोग्य वस्तुमा यसअघि नै ५ प्रतिशत मात्रै जीएसटी लगाउँदै आएको थियो । सोही कारण नेपालले समेत भ्याटमा बहुदर कायम गरेर दर घटाउनुपर्ने माग व्यवसायीले गर्दै आएका थिए । अब सरकारलाई यो दबाब समेत बढ्ने देखिन्छ किनकि अब १२ प्रतिशत स्ल्याब रहेका वस्तुको दर समेत ५ प्रतिशतमा झारिएको छ । 

यो विषयले भ्याट बहुदरको सान्दर्भिकता बढ्यो भन्ने विषयमा भने थापाको फरक मत छ । भारतले जीएसटीको स्ल्याब चार वटाबाट २ वटामा घटाएकोले नेपालले लिएको एकल भ्याट दरको नीति ठिक रहेछ भन्ने यसले पुष्टि गरेको थापा बताउँछन् । 

उद्योगी शारडा यो निर्णयपछि आफूहरूले राखेको भ्याट बहुदरको माग झनै सान्दर्भिक बन्दै गएको बताउँछन् । उनले भने, ‘हामीले त पहिलै बहुदर लागु गरौँ, जनतालाई राहत दिऊँ भन्दै आएका थियौँ, भारतको निर्णयले यो आवश्यकता अझै बढ्यो, सरकारले अब यो निर्णय गर्न ढिला गर्न हुँदैन ।’

नेपालबाट वैधानिक रूपमा हुने व्यापारमा भने यसले असर गर्ने देखिँदैन । भारत नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार भए पनि जीएसटी अन्तिम वस्तुमा लाग्ने भएकोले यसले असर गर्दैन । उदाहरणको लागि नेपाली व्यापारीले कुनै एलसी खोलेर कुनै सामान आयात गर्छ भने यसमा जीएसटी लाग्दैन । त्यसैले अहिले घटेको दरले नेपालमा आउने सामानको मूल्यमा प्रत्यक्ष रूपमा कुनै असर नपर्ने व्यवसायी तथा विज्ञहरू बताउँछन् । 

उता, नेपालबाट भारतमा जाने वस्तुमा जीएसटीको प्रत्यक्ष असर पर्छ । यो दर कम हुँदा मूल्य घट्ने देखिन्छ तर यही अनुसार उपभोक्ता मूल्य समेत घट्ने भएकोले यसले व्यवसायलाई धेरै फाइदा पुग्ने देखिँदैन ।

यसले भारतमा नेपालबाट निर्यात भएका वस्तुको प्रतिस्पर्धात्मक क्षमतामा समेत खासै प्रभाव नपर्ने विज्ञहरू बताउँछन् । नेपालबाट जाने मात्रै नभएर भारतमा उत्पादन हुने वा अन्य देशबाट भारत आउने सामानमा समेत सोही जीएसटी लागु हुने भएकोले यसको असर नदेखिने अर्थविद् नरबहादुर थापा बताउँछन् ।

यो विषयले भ्याट बहुदरको सान्दर्भिकता बढ्यो भन्ने विषयमा भने थापाको फरक मत छ । भारतले जीएसटीको स्ल्याब चार वटाबाट २ वटामा घटाएकोले नेपालले लिएको एकल भ्याट दरको नीति ठिक रहेछ भन्ने यसले पुष्टि गरेको थापा बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप