आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
गुपचुप सरुवा

गृह मन्त्रालयले गर्‍यो सात उपसचिवको गुपचुप सरुवा

शुक्रबार, २० भदौ २०८२, १५ : २१
शुक्रबार, २० भदौ २०८२

काठमाडौँ । गृह मन्त्रालयले सात उपसचिवको गुपचुप सरुवा गरेको छ । अघिल्लो साता गरेको सरुवा मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको छैन ।

शाखा अधिकृत र नायब सुब्बालाई हाजिर हुन २४ घण्टे चेतावनी दिएको पत्र समेत वेभसाइटमा राख्ने मन्त्रालयले उपसचिव सरुवा गरेको विषय भने एक साता बित्दासम्म वेभसाइटमा राखेको छैन । 

मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट रातोपाटीलाई प्राप्त सूची अनुसार सरुवा भएकामध्ये तीन जनालाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ भने अरूलाई विभिन्न विभाग र मन्त्रालयमा ल्याइएको छ । 

सूची अनुसार जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीलाई कारागार कार्यालय पर्साको कारागार प्रशासक बनाइएको छ ।

त्यहाँका कारागार प्रशासक खिमराज भुसाललाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेललाई इलाका प्रशासन कार्यालय सिमरा बाराको प्रमुख बनाएर पठाइएको छ । इलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्मालाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । 

कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरे नेपाललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको निर्देशक बनाएर पठाइएको छ । गृह मन्त्रालयमा रहेका चोमेन्द्र न्यौपानेलाई कारागार व्यवस्थापन विभागमा निर्देशक बनाएर पठाइएको छ । 

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वतको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप