शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सरकार बनाउने संसद्ले हो, कलङ्कको टीका लगाउने गल्ती कसैबाट नहोस् : सूर्य थापा

बिहीबार, २६ भदौ २०८२, १२ : ५३
बिहीबार, २६ भदौ २०८२

सारांश

  • नेकपा एमालेका नेता सूर्य थापाले देशलाई सही रूपमा अघि बढाउन मूलबाटो छाड्न नहुने बताए।
  • उनले संसद विघटनको असंवैधानिक कदममा देशी-विदेशी स्वार्थ समूह सक्रिय रहेको बताए, र यसलाई मानव अधिकारको उल्लंघनको रूपमा चित्रण गरे।
  • थापाले राष्ट्रपतिलाई सम्बोधन गर्न र लोकतन्त्रको रक्षाका लागि आह्वान गरे।

काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले मूलबाटो छाडेर देशलाई सही रूपमा अघि बढाउन सम्भव नहुने बताएका छन् । 

एक प्रेस वक्तव्य जारी गर्दै उनले भनेका छन्– 'सरकार बनाउने संसद्ले हो। यो मूलबाटो छाडेर वा बिराएर अथवा भत्काएर देशलाई सही रूपमा अघि बढाउन सम्भव हुने छैन। इतिहासमा कलङ्कको टीका लगाउने गल्ती कसैबाट नहोस्। यति कुरामा हरेक लोकतन्त्र पक्षधरले ध्यान दिनुपर्छ।'

'जनताको नासो संसद् विघटनको असंवैधानिक कदममा देशी–विदेशी स्वार्थ समूहहरू सक्रिय रहेको स्पष्ट देखिएको छ। संविधानसम्मत र सार्वभौम संसद्को छलफल एवं निर्णयभन्दा भिन्नढंगले कोही पनि अघि बढ्न खोज्नु असंवैधानिक मात्र होइन स्वतन्त्रता र मानव अधिकारका लागि पटक पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई कत्लेआम गर्ने पश्चगामी र प्रतिगामी कदम हुनेछ', उनले भनेका छन् । 

उनले भने–'आवधिक निर्वाचनले स्थापित गरेको जनमतलाई खण्डित गर्ने अर्को निर्वाचनले मात्रै हो। असंवैधानिक रूपमा संसद् विघटनको परिकल्पना संविधानले गरेको छैन। जहाँसम्म अहिलेको आन्दोलनले खोजेको सुशासन र प्रतिनिधित्व प्रणालीमा परिवर्तनको विषय छ, त्यसलाई संविधान संशोधनको माध्यमबाट समाधान गर्न सक्ने र संविधानको परिधिभित्र रहेरै जान सकिने अवस्था पनि विद्यमान छ। त्यसतर्फ सहमतिका साथ अगाडि बढ्नु संवैधानिक र बुद्धिमत्तापूर्ण निर्णय हुनेछ।'

प्रेस वक्तव्य
केही दिनयता विकसित भएका घटनाक्रम र गतिविधिहरूप्रति गंभीर ध्यानाकर्षण भएको छ। यस अवधिमा आफ्नो अमूल्य जीवन गुमाउने होनहार Gen-z युवाहरूप्रति श्रध्दाञ्जलि अर्पण गर्दछु। त्यसयता मलुकमा सिर्जित राज्यबिहीनता र सुरक्षा रिक्तताको अवस्थामा असुरक्षा, अमानुषिक दुर्व्यवहार, आक्रमण र सर्वत्र आगजनी एवं लुटपाटको मारमा पीडित/प्रताडित सबैप्रति गहिरो सहानुभूतिकासाथ धैर्यधारण गर्न आग्रह गर्दछु।
जनताको नासो संसद विघटनको असंवैधानिक कदममा देशी-विदेशी स्वार्थ समूहहरू सक्रिय रहेको स्पष्ट देखिएको छ। संविधानसम्मत र सार्वभौम संसदको छलफल एवं निर्णयभन्दा भिन्नढंगले कोही पनि अघि बढ्न खोज्नु असंवैधानिक मात्र होइन स्वतन्त्रता र मानव अधिकारका लागि पटक पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई कत्लेआम गर्ने पश्चगामी र प्रतिगामी कदम हुनेछ। आवधिक निर्वाचनले स्थापित गरेको जनमतलाई खण्डित गर्ने अर्को निर्वाचनले मात्रै हो। असंवैधानिक रूपमा संसद विघटनको परिकल्पना संविधानले गरेको छैन।
जहाँसम्म अहिलेको आन्दोलनले खोजेको सुशासन र प्रतिनिधित्व प्रणालीमा परिवर्तनको विषय छ, त्यसलाई संविधान संशोधनको माध्यमबाट समाधान गर्नसक्ने र संविधानको परिधिभित्र रहेरै जान सकिने अवस्था पनि विद्यमान छ। त्यसतर्फ सहमतिका साथ अगाडि बढ्नु संवैधानिक र बुद्धिमत्तापूर्ण निर्णय हुनेछ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू संविधानविपरितको काम र क्रियाकलापमा सहभागी वा सहमत हुनुभएको छैन र हुनुहुने पनि छैन भन्ने विश्वासमा छौं। सम्माननीय राष्ट्रपतिलाई यस्तो काम गर्नमा कुनै अवाञ्छित प्रयास कहीं कतैबाट नहोस्। सम्माननीय सभामुख महोदयबाट जनमत र जनताको सार्वभौमसत्ताको अभ्यास हुने प्रतिनिधिसभाको रक्षा र उचित भुमिका निर्वाहका निम्ति विशेष अनुरोध गर्दछु।
नेपाली सेनाका परमसेनाधिपति महोदयले नेपाली सेनालाई शान्तिसुरक्षा व्यवस्थापनको मुख्य काममा निर्देशित गरेर लोकतन्त्रको सर्वस्वीकार्यतामा नै देशलाई अघि बढाउन पहल गर्नु अपरिहार्य छ। यस विपरितका कार्यको किमार्थ समर्थन हुने छैन र हुन सक्ने छैन।
सरकार बनाउने संसदले हो। यो मूलबाटो छाडेर वा बिराएर अथवा भत्काएर देशलाई सही रूपमा अघि बढाउन संभव हुने छैन। इतिहासमा कलंकको टीका लगाउने गल्ती कसैबाट नहोस्। यति कुरामा हरेक लोकतन्त्र पक्षधरले ध्यान दिनुपर्छ।
लोकतन्त्रका हिमायती सम्पूर्ण राजनीतिक दलहरू आआफ्नो धारणा स्पष्ट गर्दै संयुक्त रूपमा राष्ट्र, संविधान र जनमतको नासोको रक्षाका निम्ति मोर्चाबन्दीमा जुट्नुपर्ने अवस्थातर्फ समेत ध्यानाकर्षण गराउन चाहन्छु।
राष्ट्रपति महोदय, कहाँ हुनुहुन्छ? अविलम्ब राष्ट्रको नाममा सम्बोधन गरेर आम नागरिकलाई आश्वस्त र विश्वस्त बनाउनुहोस !
 
सूर्यबहादुर थापा क्षेत्री
सदस्य, प्रतिनिधिसभा
प्युठान
२६ भदौ २०८२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप