शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

खेल कविता : विश्वकप

शनिबार, ३० जेठ २०८३, १९ : ०५
शनिबार, ३० जेठ २०८३

टस जित्यौँ हामीले
मस्कियौँ तिमी र म
कारण– म थिएँ गोलकिपर 
तिमी थियौ स्ट्राइकर ।

छिर्‍यौँ  मैदानमा 
हुटिङको हर्षमा तेजिलो भएँ म
तिमी भयौ वेगवान् ।

देशको प्रतिष्ठाको प्रश्न थियो  
अपेक्षा थियो स्वजनहरूको
चम्काउनु थियो नाम
उत्कृष्ट गोलकिपर म 
उत्कृष्ट स्ट्राइकर तिमी ।

चलाख विपक्षी डिफेन्डरको
तोडेर व्यूह रचना
पहिलो हाफको अन्तिम सेकेन्डमा
जब बढायौ बल दुस्मनलाई धुलो चटाए झैँ 
जब गोल गर्‍यौँ पहिलो 
साँच्चै
खुसीले उफ्रिएँ दुनियाँ बिर्सिँदै 
अङ्गालो हाल्यौँ एकार्कालाई अनुरागले
यो बेला मैदान हाम्रै भयो 
दर्शकले उल्लास छरे 
लामो हुटिङले तिम्रो गोल अनुमोदन गरे ।

दोस्रो हाफको अन्तिम सेकेन्ड 
रोमाञ्चक थियो खेल
उत्साही थियौ तिमी 
तिम्रा खुट्टाहरूको लयमा हराएको थिएँ म
अचानक झ्याप्प उफ्रियो मिडफिल्डर 
कसैले छल्दै मेरो आँखा
छिरायो मेरै पोस्टमा बल 
देखेँ त्यो बेला 
तिम्रो आँखामा आँसुको भल ।

अर्कै भयो अनायास
संसार जित्ने अन्तिम सेकेन्ड !
मानौँ तिमीले जिन्दगीको बाटो बिरायौ 
र मेरै पोस्टमा गोल छिरायौ 
तिमीले गर्‍यौ आत्मघाती गोल
मेरो नेताले देशविरुद्ध गोल गरेझैँ
तिमीले मेरै जिन्दगीको मोल गरेझैँ ।

म मुर्छा परेँ 
अनन्त अन्धकारको सुरुङमा
ब्युँझिँदा म थिएँ भुईँमा
तिमी पनि भुईँमा ।

धत् 
सपना पो रहेछ यो सब !
अघिल्लो रात ‘म प्यारो कि फुटबल?’
भन्दै तिमी रुष्ट थियौ
मैले समय नदिएकामा ठुस्स थियौ
रातभर खेल हेरेपछिको अनिँदोमा 
निदाएछु ठाउँको ठाउँ
र, देखेछु यस्तो बेइमान सपना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपक ज्ञवाली
दीपक ज्ञवाली

ज्ञवाली रातोपाटीका सम्पादक हुन् l

लेखकबाट थप