बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संयुक्त विज्ञप्ति

१६ नेताले भने– संविधानसम्मत ढंगले अन्तरिम सरकार गठन गरियोस्

बिहीबार, २६ भदौ २०८२, २२ : २८
बिहीबार, २६ भदौ २०८२

सारांश

  • १६ जना नेताहरूले मुलुकको असामान्य अवस्थालाई मध्यनजर गर्दै अन्तरिम सरकार गठनको माग गरेका छन्।
  • विज्ञप्तिमा जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरिएको छ।
  • नेताहरूले राजनीतिक सङ्कट समाधानका लागि अन्तरिम सरकार गठन, छानबिन आयोग गठन र भ्रष्टाचार नियन्त्रणको माग गरेका छन्।

काठमाडौँ । मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै १६ जना नेताहरूले संविधानसम्मत ढङ्गले तत्काल अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन्।

नेताहरू धनश्याम भुसाल, सुरेन्द्र प्रसाद पाण्डे, जनार्दन शर्मा, मिनेन्द्र रिजाल, गोकर्ण विष्ट, रामकुमारी झाँक्री, चन्द्र भण्डारी, देवेन्द्र पौडेल, एन.पी. साउँद, राजकिशोर यादव, अमरेश सिँह, सुदन किराती, मिना तामाङ, अमनलाल मोदी, सन्तोष परियार र प्रकाश ज्वालाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानसम्मत ढङ्गले अन्तरिम सरकार गठन गर्न राष्ट्रपति समक्ष माग गरेका हुन्।

नेताहरूले जेनजी आन्दोलनमा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली र घाइतेहरूका लागि स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनले उठाएका नाराहरू सान्दर्भिक रहेको निष्कर्ष निकालेका छन्। साथै, विगतमा जनताको निराशा बुझ्न असफल भएको र दलभित्र लोकतान्त्रिक मूल्य कायम गर्न नसकेको कमजोरी स्वीकार गर्दै क्षमायाचना गरेका छन्।

विज्ञप्तिमा वर्तमान राजनीतिक सङ्कटको समाधानका लागि तत्काल संविधानसम्मत ढङ्गले अन्तरिम सरकार गठन गर्नुपर्ने, आन्दोलनका क्रममा भएको जनधन तथा सम्पत्तिको क्षति छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन शक्तिशाली आयोग बनाउनु पर्ने र उच्च तहमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारविरुद्ध कठोर कारबाही गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरिएको छ।

यस्तै, संविधानको पुनरावलोकन तथा सुधार आयोग गठन गरी सरोकारवालासँग परामर्श गरेर आवश्यक संशोधन गर्ने, परिवारवाद र सत्तामा लामो समयसम्म केही व्यक्तिहरूको हालीमुहाली अन्त्य गर्ने, नयाँ पुस्ताबाट नेतृत्व अघि बढाउन कानुनी संशोधन गर्नुपर्ने माग समेत नेताहरूले गरेका छन्।

नेताहरूले सार्वजनिक तथा निजी संरचना र तथ्याङ्क नष्ट गरी भएको ठुलो आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै यस्तो कठिन परिस्थितिमा राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने संवैधानिक भूमिकामा राष्ट्रपति सक्रिय हुने विश्वास प्रकट गरेका छन्।

विज्ञप्ति

जेन.जी पुस्ताले गरेको आन्दोलनको क्रममा सरकारले निहत्ता युवाहरू माथि चलाइएको गोलीबाट दर्जनौँ को मृत्यु भएको घटनाले समग्र राष्ट्र नै स्तब्ध भएको छ। राजनैतिक सुधारका लागि माग गर्ने होनहार युवाहरूको हत्या को भर्त्सना गर्दै मृत्यु वरण गर्नेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।साथै परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछौँ। । सयौँको सङ्ख्यामा घाइते हुनुभएकाहरू प्रति स्वास्थ्य लाभको कामना गर्दछौँ। आन्दोलनले उठाएका मुख्य नाराहरू सान्दर्भिक भएको निष्कर्ष निकाल्दै देशमा विद्यमान विषम परिस्थिती लाई समाधान गर्न शान्ति सुरक्षा कायम गर्न र समाधानको लागि सहयोगी बन्न हामी प्रतिबद्ध छौं । साथै विगतमा जनताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समयमा समाधान गर्ने पहलमा कमी भएको र पार्टीमा लोकतान्त्रिक मूल्य स्थापित गर्न नसक्नुमा हाम्रो पनि कमजोरी भएको कुरा प्रति आत्म समीक्षा गर्दै क्षमायाचना गर्दछौ ।वर्तमान राजनैतिक सङ्कट समाधान गर्न हामी निम्न व्यक्तिहरूले देहाय बमोजिम गर्न गराउन सम्माननीय राष्ट्रपतिज्यूको ध्यानाकर्षण गर्दछौँ।

राष्ट्रमा उत्पन्न असामान्य परिस्थितिको अन्त गरी मुलुकलाई वैधानिक दायरामा ल्याउन जेन–जीको भावना अनुरुप संविधान सम्मत ढङ्गले अन्तरिम सकार गठन गर्न अनुरोध गर्दछौ। आन्दोलनको क्रममा भएको जनधनको क्षति सार्वजनिक तथा निजी सम्पत्तिको क्षति व्यक्ति केन्द्रित हमला समग्रको छानबिन गरी दोषी यकिन गर्न र निजहरूलाई कानुनको दायरामा ल्याउन एक शक्तिशाली आयोग गठन गर्न माग गर्दछौ। भ्रष्टाचारको अन्त गर्न राज्यको उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोग गठन गरियोस्।

वर्तमान संविधानको संशोधन र परिमार्जनको बारेमा विभिन्न मत रहेको सन्दर्भमा ध्यान दिँदै संविधानको पुनरावलोकन गरी संविधानमा गर्नुपर्ने सुधारका विषयहरूलाई सरोकारवाला सबैसँग परामर्श गरी सिफारिस गर्न संविधान पुनरावलोकन तथा सुधार आयोग गठन गरियोस् आन्दोलनले स्थापित गरेका मुद्दाहरू भ्रष्टाचारको अन्त्य गरी सुशासनको सुनिश्चितता, राजनीतिक स्थायित्व ,परिवारवादको अन्त्य र नयाँ पुस्ताबाट नेतृत्व गर्ने वातावरण सिर्जना गर्ने,सत्तामा लामो समयसम्म निश्चित व्यक्तिको हालीमुहाली हुनुले आजको सङ्कटको अवस्था सिर्जना गरेकाले आइन्दा यस्तो अवस्थाको पुनरावृत्ति हुन नदिन राजनीतिक दल सम्बन्धी कानुन परिमार्जन मार्फत सत्तालाई दुरुपयोग गर्ने अवस्था अन्त्य गरियोस् । आन्दोलनको क्रममा अवाञ्छित तत्त्वहरूले सार्वजनिक र निजी संरचना राज्यका तथ्य तथ्याङ्क स्रेस्ता सम्पूर्ण जलाएर समाप्त पारिए को छ। ठुलो आर्थिक क्षेती भएको छ । यस्तो परिस्थितिमा संवैधानिक रूपले राष्ट्रपति ज्युको अहम् भूमिका हुने र राष्ट्र र राष्ट्रियताको रक्षा तथा नेतृत्व गर्न कमी हुने छैन भन्ने विश्वास व्यक्त गर्दछौ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप