प्रदर्शनकारीले हाम्रा भवन जलाउन सक्छन्, सपना सक्दैनन् : निर्वाण चौधरी
काठमाडौँ । चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले हालै भएको जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको तोडफोड तथा आगजनीबाट उठ्ने अठोट व्यक्त गरेका छन् ।
आगजनीपछि अन्योलमा रहेको सीजी परिवारलाई सन्देश दिँदै उनले उपद्रवीहरुले आफ्नो सपना जलाउन नसक्ने भन्दै उनले सबै मिलेर उज्ज्वल भविष्य निर्माण गर्ने आह्वान गरेका छन् ।
'उनीहरुले हाम्रा भवन जलाउन सक्छन्, तर हाम्रा सपनाहरू जलाउन सक्दैनन्,'चौधरीले भनेका छन्, ‘इतिहासले जलाइएका भवनहरूलाई नभई, हामी कसरी त्यसबाट बलियो, गर्विलो र अझ एकताबद्ध भएर बाहिर निस्क्यौँ भन्ने कुरालाई सम्झनेछ ।’
सन्देशमा चौधरीले पछिल्ला केही दिन कम्पनीको इतिहासमा सबैभन्दा पीडादायी रहेको बताए । उनले युवाहरूको जवाफदेहिता र परिवर्तनको माग गर्दै सुरु भएको आन्दोलनलाई बदमास र बाह्य शक्तिहरूले घुसपैठ गरी हिंसा, लुटपाट र विनाशमा परिणत गरेको उनको भनाइ छ ।
‘हामीले चकित पार्ने क्रूरताका कार्यहरू देख्यौँ । हाम्रो अध्यक्षलाई व्यक्तिगत रूपमा निशाना बनाइयो । हाम्रा पारिवारिक घरहरूमा आक्रमण गरी जलाइयो । हाम्रा कारखाना र कार्यालयहरूमा क्षति पुर्याइयो, र हाम्रा शोरूमहरू लुटिए,’ चौधरीले भनेका छन्।
उनले यो आक्रमण भौतिक सम्पत्तिमाथिको मात्र नभई यस समूहको दशकौँको काम, त्याग र प्रतिबद्धता तथा राष्ट्रका लागि केही अर्थपूर्ण निर्माण गर्ने विचारमाथिको आक्रमण भएको बताए।
तर, यो अन्धकारमय क्षणहरूमा चौधरी समूहको वास्तविक भावना उजागर भएको उनले बताए । उनले समूहको नेतृत्वकर्ता, प्रबन्धक तथा कर्मचारीहरूले आफ्नो सुरक्षा जोखिममा पारेर दिनरात काम गरेको, सम्पत्ति बचाएको र ग्राहकहरूलाई दिइएको वाचा कायम राखेको स्मरण गरे।
‘आफू वरपर सबै भत्किरहेको बेला पनि अडिग रहने तपाईँहरू प्रत्येकलाई म सलाम गर्दछु,’ चौधरीले भनेका छन्, ‘तपाईँहरूले संसारलाई चौधरी ग्रुप वास्तवमा के हो भनेर देखाउनुभएको छ ।’
उनले यसका बाबजुद आफूहरू नभाँचिएको बताए । ‘हो, हामी घाइते छौँ। हो, हामी हल्लिएका छौँ। तर, हामी भाँचिएका छैनौँ । तिनीहरूले हाम्रा शोरूमहरू लुट्न सक्छन्, तर तिनीहरूले हाम्रा मूल्यमान्यताहरू लुट्न सक्दैनन्। तिनीहरूले हामीलाई कमजोर बनाउने प्रयास गर्न सक्छन्, तर तिनीहरूले हाम्रो परिवारको एकता तोड्न सक्दैनन् ।’
उनले चौधरी समूह नेपालको सबैभन्दा ठुलो करदाता, सबैभन्दा ठुलो रोजगारदाता र एक राष्ट्र(निर्माता भएको कुरा स्मरण गराउँदै भूकम्प, बाढी वा महामारी जस्ता हरेक सङ्कटमा समूह अग्र पङ्क्तिमा रहेको बताए । त्यो अभियान, जिम्मेवारी र उद्देश्य समाप्त नभएको उनले प्रष्ट पारे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण