आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भदौ २४ को आन्दोलन

जेनजी आन्दोलन : जोगिएनन् मधेसी दलका नेताका घर र कार्यालय पनि

मङ्गलबार, ३१ भदौ २०८२, १४ : ५४
मङ्गलबार, ३१ भदौ २०८२

काठमाडौँ । भदौ २४ गतेको प्रदर्शनमा प्रमुख राजनीतिक दल र तिनका नेताहरूको घरमा प्रदर्शनकारीहरूले छानीछानी तोडफोड तथा आगजनी गरे । आन्दोलनबाट सबैभन्दा बढी क्षति नेकपा एमाले तथा तिनका नेताहरूलाई भयो भने त्यसपछि नेपाली कांग्रेसले क्षति बेहोर्‍यो । 

उक्त दिनको आन्दोलनबाट मधेसकेन्द्रित दलहरूका कार्यालय पनि जोगिन सकेनन् । 

सबैभन्दा बढी मारमा उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपाल पर्‍यो । पार्टीको ललितपुर, बालकुमारीमा रहेको कार्यालयमा तोडफोड भयो भने समानहरू बाहिर निकालेर आन्दोलनकारीहरूले जलाइदिए । प्रवक्ता मनीष सुमनका अनुसार पार्टीका महासचिव मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जस्थित घर तथा दुईटा गाडीमा पनि आगजनी भए । 

यस्तै सोही पार्टीका प्रदेश सभाकी सदस्य सुरिता साहको घर तथा गाडीमा पनि प्रदर्शनकारीले आगजनी गरेका । अर्का प्रदेश सभा सदस्य रामअशीष यादवको घरमा पनि तोडफोड तथा आगजनीको प्रयास भएका थिए । 
यसैगरी राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको सिनामंगलस्थित घरमा तोडफोड गरिएको छ । छिमेकीका कारण उनको घरमा आगजनी भने हुन पाएन ।

पार्टी कार्यालय सचिव किशोर गुरुङका अनुसार आन्दोलनकारीले घरमा आगो लगाउन खोज्दा छिमेकीहरूले जोगाएका थिए । छिमेकीका कारण आगलागीबाट महतोको घर जोगिए पनि घरभित्रका सामान भने कुनै पनि जल्न बाँकी छैनन् । घरमा तोडफोड तथा समानहरू क्षति भएपछि महतो घर छाडेर भाग्न सफल भएका थिए । 

महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीका अनुसार सो पार्टीबाट मन्त्री बनेका वरिष्ठ नेता शरत्सिंह भण्डारीको भैंसीपार्टीस्थित निवासमा आगजनी तथा तोडफोड भएको छ । त्यस्तै सोही पार्टीका नेतृ निर्जला राउतको घरमा पनि आगजनी र तोडफोड भएको छ । 

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको नवलपरासीस्थित प्रतापपुर कठन्हवामा रहेको घरमा आगजनी भएको छ भने उनका छोरा हिमांशु त्रिपाठीको घरमा पनि आगजनी गरिएको छ । जनता समाजवादी पार्टीका सहमहासचिव प्रदीप यादवको वीरगञ्जस्थित घरमा आगजनी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप