आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ

जेनजी आन्दोलनपछि बीमा कम्पनीहरूमा करिब २१ अर्बको बीमा माग दाबी

बिहीबार, ०२ असोज २०८२, १४ : ३१
बिहीबार, ०२ असोज २०८२

काठमाडौँ । जेनजी आन्दोलनका कारण भएको क्षतिमा भएको बीमा माग दाबी करिब २१ अर्ब पुगेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार देशभरका निर्जीवन बीमा कम्पनीमा प्राप्त भएको माग दाबीको रकम २० अर्ब ७० करोड ३८ लाख रहेको हो । यो भदौ ३१ अर्थात् मंगलबारसम्मको तथ्याङ्क हो । 

हाल देशमा १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा गरी कुल १८ वटा कम्पनी छन् । ती कम्पनीमध्ये सबैभन्दा धेरै माग दाबी दि ओरियन्टल इन्स्योरेन्समा परेको छ ।

४० वटा माग दाबी निवेदनबाट कम्पनीसँग ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा दाबी गरिएको छ । यो हिल्टन होटेलको माग दाबी समेतको हो । 

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोडको माग दाबी परेको छ । भाटभटेनीका अधिकांश बीमा यही इन्स्योरेन्समार्फत् भएको बताइन्छ । सिद्धार्थमा कुल २ सय ५८ वटा निवेदन परेको छ।

शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ माग दाबी सहित ३ सय ६६ वटा निवेदन परेका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बराबरको २४ वटा बीमा दाबीको निवेदन परेको छ ।

त्यस्तै सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ बराबरको २ सय ३३ वटा दाबी परेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सरमा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ माग दाबी सहित १९६ वटा आवेदन पर्दा र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको ४० वटा निवेदन परेको बीमा प्राधिकरणको तथ्याङ्क छ ।

इन्स्योरेन्स कम्पनीमध्ये नेशनल इन्स्योरेन्समा सबैभन्दा कम ६ करोड रुपैयाँ बराबरको माग दाबी छ । उक्त कम्पनीमा १९ वटा आवेदन प्राप्त भएको छ । माइक्रो इन्स्योरेन्समध्ये प्रोएक्टिभ इन्स्योरेन्समा १ करोड १३ लाखको दाबी पर्दा अन्य कम्पनीमा करोडभन्दा कम दाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।

गत भदाै २३ र २४ गते काठमाडाैँ लगायत देशभर जेनजी पुस्ताका युवाहरूले बेथितिविरूद्ध आन्दाेलन गरेका थिए । साे क्रममा सार्वजनिक तथा निजी संरचनाहरूमा आगजनी तथा ताेडफाेड गरिएकाे थियाे । 

bima

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप