घर ध्वस्त भएपछि आफन्तको शरणमा नेताहरू
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री र पूर्वमन्त्रीसहित विभिन्न नेताहरूको घरमा आगजनी र तोडफोड भएको छ।
- आन्दोलनकारीले अर्घाखाँची, दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही, बाँके र बर्दियाका नेताहरूको घरमा क्षति पुर्याएका छन्।
- प्रशासनले शान्ति सुरक्षा कायम भइसकेको र केही नेताहरू घर फर्किसकेको जनाएको छ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको सन्धिखर्क – १ हटारिमास्थित घरमा आन्दोलनकारीहरूले भदौ २४ गते आगजनी र तोडफोड गरे ।
श्रीमती दीपा आचार्यले लामो समय शिक्षक पेसामा रहेर बनाएको उक्त घर आन्दोलनकारीले क्षणभरमै ध्वस्त पारे । केही दिन आफन्तकहाँ बसेपछि दीपा अहिले मुख्यमन्त्री निवास दाङ देउखुरी पुगेकी छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेका अनुसार उक्त घरमा मुख्यमन्त्री कहिलेकाहीँ मात्र जाने गरेका थिए । ‘अरू बेला आन्टी (दीपा) बस्नुहुन्थ्यो, घर नै ध्वस्त भएपछि बास खोज्नुपरेको छ,’ उनले रातोपाटीसँग भने ।
यस्तै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको दाङ तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाँउमा रहेको घर पनि आन्दोलनकारीहरूले आगजनी गरेका छन् । घरमा क्षति भएपछि उनी पनि आफन्तकहाँ शरण लिन बाध्य भएका छन् ।
चौधरीकी बिरामी वृद्धा आमालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने परिवार आफन्तकहाँ छन् । ध्वस्त भएको घर पूर्ण रूपमा मर्मत नगरी बस्न नमिल्ने भएको छ ।
यस्तै कपिलवस्तु, वाँणगंगा नगरपालिका–११ भडसामा रहेको नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपकुमार उपाध्यायको घर पनि भदौ २४ गते आन्दोलनकारीले जलाएका छन् । भडसामा रहेको पुख्र्यौली घर जलेपछि उपाध्याय कपिलवस्तुको तौलिहवा रहको अर्को घरमा बस्न बाध्य भएका हुन् ।
आन्दोलनकारीले बाणगंगा नगरपालिका वार्ड–८ मा रहेको माओवादी नेता एवं पूर्वमन्त्री चक्रपाणि खनाल (बलदेव), राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे र केपी ओलीको सरकारमा भूमि व्यवस्था तथा सहरकारी मन्त्री रहेका बलराम अधिकारीको घर पनि जलाए ।
कपिलवस्तु वाँणगंगा नगरपालिका–८ स्थित जलाइएको घरमा अधिकारी दम्पती अहिलेसम्म पुगेका छैनन् । मर्मत नगरी बस्न नमिल्ने भएपछि श्रीमती बसुन्धरासँगै निवर्तमान मन्त्री अधिकारी काठमाडौँतिरै आफन्तको घरमा बसिरहेका छन् ।
अधिकारीका स्वकीय थानेश्वर अधिकारीका अनुसार घर मर्मत गर्न एक साता लाग्नेछ । माओवादी नेता एवं पूर्वमन्त्री चक्रपाणि खनालको घर पनि ध्वस्त छ । उनी आफन्तकहाँ बाहिरै बसिरहेका छन् ।
यस्तै नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री सुरेन्द्र आचार्यको घर पनि आन्दोलनकारीले तोडफोड गरेका छन् । बुद्धभूमि नगरपालिका–३ मा रहेको आचार्यको घर भने सरसफाइ गरेर बस्न मिल्ने बनाइएको छ । त्यसैगरी कपिलवस्तुस्थित एमाले नेता डम्बर शर्मा र जिल्ला भूमि आयोगका अध्यक्ष छविलाल पोख्रेलको पनि घर आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् ।
प्रशासन भन्छ – अब अवस्था सामान्य भइसक्यो
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार नेताहरूको घरमा क्षति भए पनि शान्ति सुरक्षा कायम भइसकेकाले बस्न मिल्ने अवस्था छ ।
‘उहाँहरूलाई सुरक्षाको त्रास छैन, तर घरमा भौतिक क्षति भएको बस्न मिल्ने या मर्मत गर्ने अर्को पाटो हो,’ रातोपाटीसँग उनले भने, ‘केही नेताहरू सरसफाइ गरेर घर फर्किसकेका छन् ।’
आन्दोलनकारीले दाङमा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै कांग्रेस नेता गेहेन्द्र गिरीको घर पनि जलाएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ सल्लाङ्ग रोडमा रहेको गिरीको घर जलेपछि उनी पनि परिवारसहित नेपालगञ्जमा आफन्तकहाँ छन् । बस्नलायक नै नभएकाले अझैसम्म उनी घर फर्किएका छैनन् ।
दाङ प्रहरीका अनुसार घोराही उपमहानगरका पूर्वमेयर नरूलाल चौधरी, पूर्वसांसद कोमल वली र नेता हीराचन्द्र केसीको घरमा तोडफोड र आगजनी भएका छन् । कोमल वलीको होटलसमेत तोडफोड भएको छ ।
पूर्वीनवलपरासीको बर्दघाट नगरपालिका मेयर शम्भुलाल श्रेष्ठको घरमा पनि आन्दोलनकारी आगजनी गरे । घर क्षति भएपछि श्रेष्ठ अहिलेसम्म अन्यत्र बसिरहेका छन् ।
यस्तै सोही नगरपालिका–१० निवासी कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनालको घर पनि आगजनी तथा तोडफोडमा पर्यो ।
बाँकेमा भने दलहरूका पार्टी कार्यलयहरूमा धेरै क्षति भए । नेताहरू घर भने भने तुलानात्मक रूपमा कम क्षति भएका छन् ।
प्रहरीका अनुसार पूर्वीनवलपरासीका संघीय सांसद सरिता खनाल, बर्दघाटका मेयर रुद्र प्रकाश उपाध्याय, बर्दघाटका पूर्वमेयर धीरज बस्याल, प्रदेश सांसद विश्व प्रेम पाठक, सुनवलका मेयर विमला अर्याल, एमाले नेता थानप्रसाद गैरे, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार, पूर्वमन्त्री तथा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका घरमा आगजनी तथा तोडफोड भएका छन् ।
यहाँ अहिले मन्त्री कलावार, पूर्वमन्त्री त्रिपाठी, प्रतापुरका अध्यक्ष उमेश चन्द्र यादवको घर बस्न लायक छैन । तर कतिपय भने सरसफाइ तथा मर्मत गरेर बिस्तारै बस्न थालिसकेका छन् ।
आन्दोलनकारीले रुपन्देहीमा पनि नेताहरूको घरलाई निसाना बनाएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका भाइ श्यामकृष्ण, यस्तै तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँण, सैनामैना नगरपालिका मेयर फणीन्द्र शर्मा, देवदह नगरपालिका मेयर धुव्र खरेल, लुम्बिनी प्रदेश खेलकुद मन्त्री सन्तोष पाण्डेय लगायतको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

यस्तै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं एमाले नेता भूमिश्वर ढकाल, सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, बुटवलका एमाले प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, भैरहवामा राप्रपाका नेता सागर प्रताप राणा र संघीय सांसद सर्वेन्द्रनाथ शुक्लाको घरमा पनि आगजनी भएको छ । शुक्ला भने प्रायः काठमाडौँ नै बस्ने गर्छन् ।
रुपन्देहीमा पनि धेरैले सरसफाइ तथा मर्मत गरेर आफ्नै घरमा बस्न थालेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यहाँ सैनामैना नगरपालिका मेयर फणीन्द्र शर्मा झारवैरस्थित आफ्नो घर आगजनीबाट नष्ट भएपछि आमासँग पुरानो घर रन्यौरा भन्ने ठाउँमा बस्न पुगेका छन् ।
बाँकेमा भने दलहरूका पार्टी कार्यलयहरूमा धेरै क्षति भए । नेताहरू घर भने भने तुलानात्मक रूपमा कम क्षति भएका छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको घर भने आन्दोलनकारीको निशानामा पर्यो ।
यस्तै बर्दियामा नेपाली कांग्रेसका नेता एवं संघीय सांसद सञ्जय कुमार गौतमको घर पनि तोडफोड र आगजनी भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण