आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

लुटपाटको जोखिम रहेको भन्दै सुरक्षा कडाइ गर्न यातायात व्यवसायीको माग

शनिबार, ०४ असोज २०८२, १५ : ३४
शनिबार, ०४ असोज २०८२

सारांश

  • चाडपर्व नजिकिँदै गर्दा सडक यात्रामा लुटपाटको जोखिम बढेको भन्दै यातायात व्यवसायीले सुरक्षाको माग गरेका छन्।
  • यातायात व्यवसायीहरूले राजमार्गमा सुरक्षा सुदृढ बनाउन र जेलबाट कैदी फरार भएकाले सुरक्षामा कडाइ गर्न आग्रह गरे।
  • छलफलमा सडक अवरुद्ध रहेका विभिन्न खण्डलाई तत्काल सञ्चालनमा ल्याउने र दसैँलाई लक्षित गरी सुरुङमार्ग खोल्नेबारे छलफल भयो।

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा सडक यात्राका क्रममा लुटपाटको जोखिम समेत रहेको भन्दै यातायात व्यवसायीहरूले  सुरक्षामा कडाइ गर्न सरकारसँग माग गरेका छन् । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा शनिबार मन्त्रालयमा बसेको संयुक्त छलफलमा यातायात व्यवसायीहरुले  प्रमुख राजमार्गमा सुरक्षा सुदृढ बनाउन जोड दिएका हुन् ।

नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले हालै जेलबाट कैदी फरार र हातहतियार समेत चोरी भएकाले सडकमा लुटपाटसमेत हुनसक्ने जोखिम  भएकाले सोहीअनुसार तयारी गर्न सरकारलाई सुझाव दिइएको बताए । त्यसैले राजमार्ग हुँदै चल्ने सवारीसाधनको सुरक्षामा स्थानीय तह, प्रशासन र प्रहरीलाई सक्रिय बनाउन माग गरिएको उनले बताए ।

छलफलमा मन्त्रालयका प्रतिनिधि, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी महासंघका पदाधिकारी सहभागी थिए । सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार अहिले अवरुद्ध रहेका अरनिको राजमार्ग, स्याफ्रुवेँसी–रसुवागढी सडक, मुग्लिन–नारायणगढ र दाउन्ने खण्डलाई तत्काल सञ्चालनमा ल्याउनेबारे छलफल भएको छ ।

यस्तै झलफलमा यातायात व्यवसायीले दाउन्ने र मुग्लिन–नारायणगढ सडक खण्डका कारण यातायात तालिका अस्तव्यस्त भएको भन्दै तत्काल समाधान गर्न आग्रह गरेका छन् । यस्तै दसैँलाई लक्षित गरेर नागढुङ्गा सुरुङमार्ग पनि खुला गर्न माग गरेका छन् । 

यस्तै, व्यवसायीहरूले घटस्थापनादेखि अत्यावश्यक बाहेकका १२ चक्के मालवाहक सवारीलाई रोक लगाउनुपर्ने र मौसम विज्ञान विभागले समयमै सूचना दिनुपर्ने सुझाव पनि दिएका छन् । सडक सहज र सुरक्षित बनाउन सरोकारवालाबीच ‘वाट्स्एप ग्रुप’ समेत बनाइएको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप