बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

जेनजी विद्रोहको परकम्प : बाबुरामले पद त्यागे, देउवा, ओली र प्रचण्डको छैन छाँट

बुधबार, ०८ असोज २०८२, १९ : १२
बुधबार, ०८ असोज २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार अप्रत्यासित रुपमा पद त्याग गरेको घोषणा गरे । भदौ २३ र २४ गते जेनजी विद्रोहले नेपालको शासनप्रणाली नै पल्ट्याइदिएपछि हरेक राजनीतिक दलहरूमा पार्टी पुनर्गठनको बहस चलिरहेको छ । 

जेनजी विद्रोहको परकम्पपछि भट्टराईले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका थिए । बैठकमा भट्टराईले आफू नेतृत्वको वैकल्पिक नयाँ शक्तिले उठाउँदै आएको विषय जेनजी विद्रोहले साकार पारेको बताएका थिए । सम्बोधनको अन्त्यमा उनले जेनजी विद्रोहले राजनीतिमा रुपान्तरण खोजेको भन्दै नयाँ वैकल्पिक शक्ति निर्माणका लागि पद त्याग गरेको घोषणा गरे ।

‘पछिल्लो जेनजी विद्रोहले रुपान्तरण खोज्यो । दलहरूको नेतृत्व र पुस्तान्तरण खोज्यो । अहिले सबै पार्टी विघटनको अवस्थामा पुगेको छ । बृहत् खालको रुपान्तरण ध्रुवीकरणको लागि म पद त्याग गरेको घोणा गर्दछु’, बैठकमा उनले भनेका थिए ।

भट्टराईले मौजुदा केन्द्रीय समिति विघटन गरी उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ । नयाँ र वैकल्पिक शक्तिहरूसँग छलफल गरेर महाधिवेशनको मिति तय गर्ने प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

‘महाधिवेशनमा अन्य वैकल्पिक र नयाँ शक्ति आउन सक्ने भएकाले अहिले महाधिवेशन मिति घोषणा गरेको छैन । जेनजी विद्रोहपछि सबै पार्टी विघटनको संघारमा पुगेको छ’, शर्माले भने, ‘त्यहाँभित्र पनि पार्टी पुनर्गठनको कुरा उठिरहेको छ । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस तीव्र भएको छ । एकता र ध्रुवीकरणको नेतृत्वदायी भूमिका निर्वाह उहाँले नै गर्नुहुन्छ ।’

भट्टराईको कदमले नेतृत्व त्याग्न आनाकानी गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलहरूलाई समेत नैतिक दबाब बढेको छ । माओवादीभित्र नेतृत्व हस्तान्तरणका लागि अध्यक्ष प्रचण्डमाथि निरन्तर दबाब छ । असोज ५ गते बसेको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा लगायत नेताहरूले राजीनामा दिन सुझाएका थिए । तर प्रचण्ड तत्काल राजीनामा दिने मुडमा देखिएका छैनन् ।

बुधबार बसेको स्थायी समिति बैठकमा नेताहरूले यस विषयमा कुरा उठाउँदा बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा बोल्ने जवाफ फर्काए । बैठकपछि बाहिर सञ्चारकर्मीसँग संक्षिप्त जवाफ दिँदै उनले महाधिवेशनसम्म जाँदा सबै कुरा हल हुने बताए । 

‘नेतृत्व परिवर्तनको विषयमा पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ’, प्रचण्डको जवाफ थियो ।

यता विघटित संसदका दुई ठुला दल कांग्रेस र एमालेभित्र पनि नेतृत्व हस्तान्तरण गर्ने वा पद छाड्ने भन्ने विषयमा मौन देखिएका छन् । जेनजी आन्दोलनकारीले आक्रमणबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अस्पतालबाट डिस्चार्ज नभएसम्म नेतृत्व हस्तान्तरणको बहस नगर्न आग्रह गरेका छन् ।

नेपाली सेनाकै सुरक्षा घेरामा उपचार गरिरहेका देउवा पार्टी विधान अनुसार नै १५ औँ महाधिवेशनमा भाग लिन पाउने छैनन् । तर महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायत युवा नेताहरूले सभापतिलाई तत्काल राजीनामा दिन दबाब दिइरहेका छन् । यद्यपि थापा र शर्माको दबाबलाई पुराना नेताहरूले मोर्चाबन्दी गरेर नै चुनौती खडा गरेका छन् ।

यता जेनजी विद्रोहका कारण झण्डै दुई तिहाइ नेतृत्वको शक्तिशाली सरकार छाडेर सेनाको हेलिकप्टरबाट शिवपुरी भागेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाड्ने संकेत गरेका छन् । सेनाको सुरक्षा घेराबाट १४ दिनपछि भक्तपुरस्थित गुन्डुबाट सार्वजनिक भएका ओलीले अहिलेसम्म पार्टी बैठक बोलाएका छैनन् । पार्टीका वरिष्ठदेखि कनिष्ठ नेताहरूसँग ‘वान टु वान’ छलफलमा रहेका ओली तत्काल पद छाड्ने पक्षमा नदेखिएको स्रोतको दाबी छ । 

२०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राज्यसत्तामा पालैपालो देउवा, ओली र प्रचण्डको हालीमुहाली थियो । देउवा ९ वर्ष, ओली ११ वर्ष र प्रचण्ड ३६ वर्षदेखि पार्टी नेतृत्वमा छन् ।

राजनीतिक विश्लेषक मुमाराम खनाल नमरुन्जेल पद नत्याग्ने प्रवृत्ति देखाएकाले अहिलेको स्थिति आएको बताउँछन् । अब पनि पद नत्याग्ने हो भने पार्टीभित्रबाट गलहत्याएर निकाल्ने स्थिति आउन सक्ने उनको विश्लेषण छ ।

‘नमरुन्जेल पद नत्याग्ने भएकाले नै आज यो अवस्था आएको हो । तर पार्टीभित्र ठुलो विद्रोह हुने देखिन्छ । अहिले पनि पद नत्याग्ने हो भने लज्जापद तरिकाले त्याग्नुपर्ने स्थिति आउन सक्छ । यिनीहरूलाई गलहत्याएर निकाल्छन्’, विश्लेषक खनाल बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप