संघीयता जोगाउन भन्दै मधेस केन्द्रित दलले सुरु गरे एकताको गृहकार्य
काठमाडौँ । जेनजी आन्दोलनपछि मुख्य राजनीतिक दलहरुमा रुपान्तरण र नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । मधेस केन्द्रित दलहरु भने एकता गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
मधेस केन्द्रित दलहरु सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा पार्टी एकताको एजेन्डा प्रवेश गरेको छ भने एकताका लागि गृहकार्य समेत सुरु भएको नेताहरु बताउँछन् ।
पटक-पटक फुटेका दलहरु जेनजी आन्दोलनपछिको परिस्थितिमा फेरि एक ठाउँमा आउने संकेत देखिएको छ । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरुबिच एकताका लागि प्रस्ताव नै पेस भएको छ ।
२०७४ सालको आम निर्वाचन जनता समाजवादी पार्टी नेपाल बनाएर मधेस केन्द्रित अधिकांश दल एकीकृत भएका थिए । संघीय लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रकि पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी आवद्ध छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि मोर्चामा आवद्ध थियो, तर बैठकमा जान छाडेको छ ।
सुरुमा मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीबाट नै यी सबै दल विभाजन भएका हुन् । पछि यी तीन दल विभाजन भएर विभिन्न दल बनेका थिए । २०७० सालको दोस्रो संविधानसभा चुनावपछि विभिन्न ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बनेको थियो । तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतन्त्रिक), तराई मधेस सद्भावना पार्टी मिलेर राजपा नेपाल बनेको थियो ।
राजपा नेपालमा उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी फोरम सहभागी थिएन । त्यस्तै, हृदयेश त्रिपाठी पनि एकताबाट असन्तुष्ट भएर अलग भएको थियो । त्यस्तै राजपा नेपालबाट अलग भएर वृषेशचन्द्र लालले तमलोपा पुनर्गठन गरेका थिए । पछि राजपा नेपाल र उपेन्द्र यादव नेतृत्वका तत्कालीन संघीय समाजवादी फोरम नेपालबिच एकता भयो । त्यसपछि उक्त पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखियो । जसपा नेपाल एक वर्ष पनि एकीकृत रहन सकेन । त्यहाँबाट महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अनिलकुमार झा लगायत नेताहरु अलग भएर लोसपा नेपाल गठन गरे । उता जेलमा रहेका जसपा नेपालका नेता रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरिसकेका थिए ।
लोसपा नेपालबाट राजेन्द्र महतो अलग भएर राष्ट्रिय मुक्ति पार्टी गठन गरे भने अनिल झाले नेपाल सद्भावना पार्टी पुनर्गठन गरे । विभिन्न कारण अलग भएका यी दलहरु पुनः एकताका लागि जुर्मुराएका छन् । राजनीतिक मामिलाका जानकारहरु भन्छन्, ‘जेनजी पुस्ताको आन्दोलनका कारण आगामी निर्वाचनमा ती दलहरुमा संकट आउने देखिएपछि हतार-हतारमा एकता गर्न लागेका हुन् ।
तर जसपा नेपालका प्रवक्ता मनिष सुमन भन्छन्, ‘संघीयता बचाउन दलहरुबिचमा एकता अपरिहार्य भइसकेको छ ।’ विगतमा के भयो कस्तो भयो त्यसको समीक्षा हुँदै गर्छ, एकता हुनुअघि ती सबै कमीकमजोरीलाई ख्याल गरेर एकता अगाडि बढाउनुपर्छ भन्दै उनले जेनजी आन्दोलनपछि संघीयतामाथि खतरा उत्पन्न भएको उनको तर्क छ ।
भदौ २४ पछि संघीयता पक्षधर र संघीयता नचाहनेबिच संघर्ष नै सुरु भएको उनी बताउँछन् । ‘संघीयता नै चाहिँदैन, प्रदेश नै चाहिँदैनजस्ता कुरा उठ्न थालेका छन् । त्यसलाई जोगाउने दायित्व देखिएकाले संगठित भएर लाग्नुपर्ने देखिएको छ,’ सुमन भन्छन् ।
कांग्रेस–एमाले गठबन्धन बनेपछि संविधान संशोधनमा दबाब दिन मधेस केन्द्रित दलहरुका बिचमा मोर्चाबन्दी भएको थियो । कांग्रेस–एमाले गठबन्धनको अघिल्लो सरकारले संविधान संशोधन गरेर दुई पार्टी प्रणाली ल्याउने, थ्रेसहोल्ड बढाउने, समानुपातिक प्रणाली हटाउने जस्ता कुरा बाहिर ल्याएपछि मधेस केन्द्रित दलहरुले त्यतिबेला मोर्चाबन्दी गरेका थिए ।
अब अहिले फेरि जेनजी आन्दोलनपछि संघीयतामाथि खतरा उत्पन्न भएको भन्दै ती दलहरु एकताका लागि जुर्मुराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण