मधेस केन्द्रित दलले रुपान्तरण होइन, एकताको बहस चलाउन थाले
काठमाडौँ । जेनजी आन्दोलनपछि प्रमुख दलहरुमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्संरचनाको बहस चलिरहेको बेला मधेस केन्द्रित दलहरुमा भने एकताको चर्चा सुरु भएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एकताका लागि आन्तरिक छलफल सुरु गरेका छन् । यादव, ठाकुर र महतोबिच पनि यस विषयमा कुराकानी भइरहेको स्रोतको दाबी छ ।
लोसपा नेपालका उपाध्यक्ष लक्ष्मणलाल कर्ण मधेस केन्द्रित दलहरुबिच एकताको विकल्प नरहेको बताउँछन् । उनका अनुसार यस विषयमा अनौपचारिक छलफल चलेको भएपनि त्यसले मूर्तरुप भने छठपछि पाउन सक्छ ।
‘जेनजी पुस्ताको आन्दोलनले हरेक राजनीतिक दललाई जरैदेखि हल्लाइदिएको छ । पार्टीहरु नयाँ स्वरुपमा नगए कुनै दलको कल्याण हुँदैन,’ उनी भन्छन्, ‘पार्टी एकीकरण गरेर नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गरेर पुराना नेताहरु अभिभावकको भूमिकामा रहेर दिशानिर्देश गर्नुपर्छ ।‘
तत्काल एकतासम्म जान नसकिए मोर्चा कसिलो बनाउनुपर्ने उनको भनाइ छ । आगामी चुनाव अहिलेका दलहरुका लागि निकै चुनौतीपूर्ण रहेकाले समयमै आफूलाई रुपान्तरण गर्न सके राम्रो हुने उनी बताउँछन् ।
जसपा नेपालका महासचिव रामकुमार शर्मा असोज ५ गते बसेको कार्यकारिणी समितिको बैठकले पनि विचार र मुद्दा मिल्ने राजनीतिक दलहरुसँग एकता वा कार्यगत एकता गर्ने निर्णय गरेको बताउँछन् । त्यसका आधारमा दलहरुसँग अनौपचारिक छलफल सुरु भएको उनले स्वीकारे ।
‘एकता वा मोर्चाका लागि जसपा नेपाल सुरुदेखि नै छलफल गर्दै आएको हो, त्यसैको निरन्तरता अहिलेको गतिविधि हो,’ उनी भन्छन् ।
उनले कुन-कुन दलबिच एकता हुन्छ भन्ने कुरा छलफल प्रारम्भिक चरणमै रहेकाले अहिले नै भन्न नसकिने जानकारी दिए ।
बिहीबार दिउँसो ४ बजे लोसपा नेपालको कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दैछ । बैठकमा यसबारे छलफल हुने बताइएको छ ।
रामुपा नेपालका महासचिव सन्तोष मेहता एकता र सहकार्यका लागि आफ्नो पार्टी खुल्ला रहेको बताउँछन् । ‘हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र महतोसमक्ष विभिन्न दलबाट प्रस्ताव आएका छन् । कतिपय नेताहरुसँग कुराकानी पनि अगाडि बढेको छ । दसैँ-तिहार र छठपछि परिणाम आउने गरी छलफल हुन्छ,’ उनी भन्छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग रामुपा नेपालले कार्यगत एकता गरिसकेको छ । अब एकताका लागि छलफल अघि बढ्ने मेहता बताउँछन् ।
तर चुनावका लागि मात्र होइन, अधिकार र पहिचानका लागि संघर्ष गर्न एकता हुनुपर्ने उनको भनाइ छ । ‘चुनाव जित्न, सांसद बन्न, मन्त्री बन्न मात्र एकता हुन गइरहेको छ भने त्यो एकता टिकाउ हुँदैन,’ उनी भन्छन्, ‘हाम्रो पार्टी एकताका लागि सकारात्मक रहेको तर वृहत सोचका साथ एकता हुनुपर्नेमा दृढ छौँ ।‘
लोसपा नेपालका एक नेता भन्छन् ‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले हाम्रो पार्टीका अध्यक्षसँग पटक-पटक छलफल गर्नुभएको छ । उहाँले राजेन्द्र महतोसँग पनि छलफल गर्नुभएको छ ।’ चुनावअघि पार्टी नै एकता गर्ने वा गठबन्धन बनाएर एउटै चुनाव चिन्हमा निर्वाचनमा भाग लिने प्रस्ताव जसपा नेपालका अध्यक्ष यादवले राखेको उनको दाबी छ ।
यसमा लोसपा नेपालका अध्यक्ष ठाकुर र रामुपा नेपालका अध्यक्ष महतो पनि सकारात्मक रहेको बुझिएको छ ।
असोज ७ गते बसेको लोसपा नेपालको पदाधिकारी बैठकमा ठाकुरले आफूले नेतृत्व हस्तान्तरण गर्न तयार रहेको र नेतृत्व कसले लिने त्यो अगाडि आउनुपर्ने धारणा राखेका थिए । यसले पनि एकताको पक्षमा उनी रहेको बुझ्न सकिने ती नेताको भनाइ छ । बुधबार मात्रै मधेस केन्द्रित विभिन्न दलका युवा नेताहरुले अपील जारी गर्दै एकताका लागि आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
पातपतिङ्गरबाट प्राङ्गारिक मल
-
पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण