शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जसले क्यान्सरलाई जिते

‘मैले डाक्टरलाई सोधेँ– मर्नका लागि सजिलो उपाय के छ ?’

‘नवमीको रात पुनः क्यान्सरले झकझक्याएपछि लाग्यो– अब म बाँच्दिनँ’
बुधबार, १५ असोज २०८२, २० : ३०
बुधबार, १५ असोज २०८२

सारांश

  • कमल पौडेल क्यान्सर जितेर अन्य बिरामीहरूलाई मनोवैज्ञानिक सहारा दिइरहेका छन्।
  • २०७७ सालको दसैँमा कोरोना र क्यान्सरसँग लडेका पौडेलले बोनम्यारो प्रत्यारोपण गराए।
  • प्रत्यारोपण असफल भएपछि चमत्कार भयो, र अहिले उनी क्यान्सर बिरामीहरूलाई परामर्श दिन्छन्।

विराटनगर । जब दसैँ आउँछ, कमल पौडेल आफ्नो कहालीलाग्दो विगतमा फर्किन्छन् । उनका लागि चाडपर्वको उल्लासभन्दा जीवन र मृत्युको दोसाँधमा गुज्रिएका पल धेरै छन् । 

आज उनी क्यान्सर जितेका एक योद्धामात्र होइनन्, उही पीडा भोगिरहेका सयौँका लागि मनोवैज्ञानिक सहारा पनि बनिरहेका छन् ।

कुरा २०७७ सालको दसैँको हो । कोरोना महामारीले विश्व नै त्रस्त थियो । विराटनगर–५ का कमल पौडेल ११ दिनदेखि ज्वरोले थलिएर घरमै सुतिरहेका थिए । परिवारले कोरोनाको डरले अस्पताल लैजान मानेको थिएन, तर दसैँको नवमीको रात १० बजे उनलाई महसुस भयो– अब बाँचिँदैन ।

यस्तो महसुसपछि उनले आफ्ना साथी शेखर रेग्मीलाई फोन गरेर तुरुन्त एम्बुलेन्स खोजिदिन आग्रह गरे । केहीवेरमै एम्बुलेन्स आयो । थर्मसमा तातो पानी बोकेर उनी एक्लै अस्पतालतर्फ लागे । 

अस्पताल पुग्दा नपुग्दै उनी एम्बुलेन्समै बेहोस भएर ढलेछन् । होस खुल्दा उनी अस्पतालको बेडमा थिए । हातमा थर्मस पनि थिएन । उनी १० दिन अस्पताल बसे । जब घर फर्किए, दसैँ सकिइसकेको थियो ।

कोरोनाबाट तङ्ग्रिए पनि उनको स्वास्थ्यमा सुधार आएन । माघ महिनामा उनी फेरि गम्भीर बिरामी भए । स्थानीय उपचारले सम्भव नदेखेपछि उनी काठमाडौँ गए । त्यहाँ बोनम्यारो परीक्षण गर्दा थाहा भयो– उनको क्यान्सर दोहोरिएको थियो र रगतमा क्यान्सरका कोष फैलिसकेका थिए । 

डाक्टरले पौडेललाई अन्तिम विकल्प सुनाए– बोनम्यारो प्रत्यारोपण । 

योबाहेक उनीसँग जीवन बचाउने अरू कुनै उपाय थिएन । प्रत्यारोपणका लागि उनका दुई छोराको परीक्षण गरियो । दुवैको बोनम्यारो ६० प्रतिशत मिल्यो, जसलाई ‘ह्याप्लो ट्रान्सप्लान्ट’ भनिन्छ । 

तर, कोरोना महामारीका कारण प्रत्यारोपण सेवा बन्द हुँदा उनले लामो समय कुर्नुपर्‍यो ।

२०७८ साल साउन ७ गते उनमा बोनम्यारो प्रत्यारोपण भयो, तर दुर्भाग्यले उनलाई छोडेन । प्रत्यारोपण सफल नभएको सङ्केत देखियो । 

पौडेलको शरीरमा डाबरहरू आए । डाक्टरले प्रत्यारोपण सफल नभएको बताउँदा उनीभित्रको अन्तिम आशा पनि मरेर गयो । त्यो क्षणलाई सम्झिँदै उनी भन्छन्, ‘मैले डाक्टरलाई सोधेँ– अब म बाँच्दिनँ भने मर्नका लागि सबैभन्दा सजिलो उपाय के छ ?’ 

उनको प्रश्न सुनेर डाक्टर निःशब्द भए, अनि कोठाबाट बाहिर निस्किए । प्रत्यारोपण कक्षमा डाक्टरसँगको कुराकानी सुनिरहेकी आफ्नी श्रीमती अम्बिका लुइँटेलसँग उनको आँखामात्रै जुध्यो, बोल्न वाक्य फुटेन । आँशु बग्यो, तर आवाज आएन । 

Kamal (1)

त्यसरी नै एक महिना उनीहरूका लागि हरेक पल मृत्युको प्रतीक्षाजस्तै भयो ।

जब सबै आशा सकिएको थियो, तब एक चमत्कार भयो । डाक्टरले चलाएको स्टेरोइडले काम गर्न थाल्यो र उनको शरीरका डाबर हराउँदै गए । 

डाक्टरहरू आफैँ चकित परेर भने, ‘यो त चमत्कार भयो, तपाईं ठिक हुनुहुन्छ कि क्या हो !’

त्यसपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आयो, तर सङ्घर्ष सकिएको थिएन । उनले ६ महिनासम्म केही पनि चपाएर खान सकेनन् । खानेकुरा सबै झोल बनाएर पिउनु पर्थ्यो । चपाउन खोज्नासाथ बान्ता हुन्थ्यो ।

पौडेल आफ्नो यो जीवनलाई ‘बोनसको जिन्दगी’ भन्छन् । परिवारले समेत माया मारिसकेको अवस्थाबाट फर्किएका उनी अहिले आफ्नो अनुभवलाई अरूका लागि शक्तिमा बदल्दैछन् । विगत डेढ वर्षदेखि उनी विराट टिचिङ अस्पतालमा क्यान्सरका बिरामी र उनीहरूका आफन्तलाई परामर्श दिन्छन् । 

Kamal Poudel (3)

क्यान्सर पहिचान हुँदा आत्तिने, किमोथेरापीसँग डराउने र उपचारको क्रममा आउने मानसिक तनावलाई कसरी सामना गर्ने भनेर उनी सिकाउँछन् ।

‘जब म बिरामीलाई आफ्नो कथा सुनाउँछु, उनीहरू सोच्छन्– यति धेरै दुःख भोगेको मान्छे त हाँसेर बसेको छ भने हामी किन सक्दैनौँ ?’ उनले भने ।

पौडेलको परामर्शले धेरै बिरामीलाई उपचार पूरा गर्न र मानसिक रूपमा बलियो हुन मद्दत गरेको छ ।

पौडेलको कथाले देखाउँछ– क्यान्सर अन्त्य होइन । सही उपचार, उच्च मनोबल र परिवारको साथले यो रोगलाई जित्न सकिन्छ । मृत्युलाई नजिकबाट चिहाएर फर्केका कमल पौडेल आज अरूको जीवनमा आशाको दियो बाल्ने प्रयासमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप