बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोइलालाई उछिनेर बिजुलीको प्रमुख स्रोत बन्यो नवीकरणीय ऊर्जा

मङ्गलबार, २१ असोज २०८२, १४ : २७
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • अन्तर्राष्ट्रिय ऊर्जा विश्लेषक संस्था एम्बरका अनुसार, नवीकरणीय ऊर्जा विश्वको प्रमुख बिजुली स्रोत बनेको छ।
  • चीनले स्वच्छ ऊर्जा विस्तारमा नेतृत्व लिएको छ भने अमेरिका र युरोपेली संघ जीवाश्म इन्धनमा निर्भर छन्।
  • भारतमा सौर्य र वायु योजना विस्तारले कोइला र ग्यासबाट बिजुली उत्पादन घटेको छ।

लन्डन  । पहिलो पटक नवीकरणीय ऊर्जा विश्वको प्रमुख बिजुली स्रोत बनेको छ। यस वर्षको पहिलो छ महिनामा कोइलालाई उछिन्दै नवीकरणीय ऊर्जाले विश्व बिजुली उत्पादनमा अग्रस्थान हासिल गरेको अन्तर्राष्ट्रिय ऊर्जा विश्लेषक संस्था एम्बरको नयाँ तथ्यांकले देखाएको छ।

पछिल्ला वर्षहरूमा विश्वभर बिजुलीको माग तीव्र रूपमा बढ्दै गएको छ। तर सौर्य र वायु ऊर्जाको तीव्र विस्तारले यस अतिरिक्त मागको पूर्ण रूपमा पूर्ति गरेको एम्बरले जनाएको छ। यसले कोइला र ग्यासजस्ता जीवाश्म इन्धनको प्रयोग घटाउन पनि सहयोग पुगेको छ। तर एम्बरका अनुसार, सञ्चार माध्यममा आएका धेरै हेडलाइनहरूले विश्व ऊर्जा प्रणालीको यो मिश्रित वास्तविकतालाई ढाकछोप गर्ने प्रवृत्ति देखाएका छन्।

एजेन्सीको विश्लेषण अनुसार, विकासशील देशहरू विशेष गरी चीनले स्वच्छ ऊर्जा विस्तारमा नेतृत्व गरेका छन्। विपरीत रूपमा, अमेरिका र युरोपेली संघ (ईयू) जस्ता धनी राष्ट्रहरू अझै पनि बिजुली उत्पादनका लागि पृथ्वीको तापक्रम बढाउने जीवाश्म इन्धनमा बढी निर्भर छन्।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, कोइला २०२४ सम्म पनि बिजुली उत्पादनमा विश्वको सबैभन्दा ठूलो एकल स्रोत थियो। पाँच दशकभन्दा बढी समयदेखि कोइलाले यो स्थान कायम राख्दै आएको हो।

तर हाल चीनले सौर्य र वायु क्षमतामा अभूतपूर्व वृद्धि गरेपछि नवीकरणीय ऊर्जाले बढ्दो मागलाई पनि उछिनेको छ। यसले चीनमा जीवाश्म इन्धनबाट हुने उत्पादन झन्डै २ प्रतिशतले घटाउन मद्दत गरेको बताइएको छ। भारतमा पनि नयाँ सौर्य र वायु योजना विस्तार भएपछि कोइला र ग्यासबाट बिजुली उत्पादन घटेको छ, यद्यपि त्यहाँ कुल मागको वृद्धि तुलनात्मक रूपमा सुस्त रह्यो।

तर अमेरिका र युरोपमा त्यसको उल्टो प्रवृत्ति देखिएको छ। अमेरिकामा स्वच्छ ऊर्जाको उत्पादनभन्दा बिजुलीको माग छिटो बढ्दा जीवाश्म इन्धनमा निर्भरता बढेको छ। उता, युरोपेली संघमा कमजोर हावा र जलविद्युत उत्पादनका कारण कोइला र ग्यास प्रयोगमा पुनः वृद्धि भएको एम्बरले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप