लेनिन, गान्धी र बालेन
नेपालको इतिहासमा भर्खरै नयाँ पाना थपिएको छ । अब नेपालको इतिहास लेखिँदा जेन–जी क्रान्तिअघि र जेन–जी क्रान्तिपछि भनेर लेखिनेछ । भन्नेहरूले जेन–जी क्रान्तिलाई दुनियाँकै सबभन्दा छोटो अवधिमा सम्पन्न क्रान्ति भनेका छन् । जेन–जी क्रान्तिको उठान र बैठान जम्माजम्मी २७ घण्टाको मानेका छन् । जेन–जी क्रान्ति अर्थात् सन् १९९७ देखि २०१२ को बिचमा जन्मेको पुस्ताले नेतृत्व गरेको क्रान्ति ।
म स्वयं यस क्रान्तिमा सहभागी हुन पाउँदा गर्वबोध भएको छ । जनयुद्ध, गणतन्त्रको सङ्घर्ष र मधेस आन्दोलनमा म अब्जर्भर मात्र थिएँ । जेन–जी युवाले इतिहासलाई किताबमा, चित्रमा र डकुमेन्ट्रीमा मात्र पढेको, हेरेको थियो । आज जेन–जी युवा स्वयं इतिहास निर्माता, इतिहासको प्रमुख अङ्ग बनेको छ । मोबाइलमा हराएको भनिएको पुस्ता सडकमा निस्केको छ, आन्दोलन गरेको छ ।
नेपालको इतिहासमा हरेक पुस्ताले आफ्नो स्वतन्त्रता, अधिकार र स्वाभिमानका लागि लडाइँ लडेको छ— राणाशासन विरुद्धको सङ्घर्ष वा सात सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, ०६२/६३ को आन्दोलन, मधेस आन्दोलन र अहिले २०८२ मा यो जेन–जी आन्दोलन ।
महात्मा गान्धीले अहिंसालाई आन्दोलनको औजार बनाएका थिए । गान्धीले अहिंसा र सत्याग्रहका माध्यमबाट अङ्ग्रेजको अन्याय र उत्पीडन विरुद्ध सङ्घर्ष गरे । उनले पास एक्ट, सविनय अवज्ञा, दण्ड विरोध जस्ता विधिहरू अपनाएर शक्ति संरचनालाई चुनौती दिएका थिए । गान्धी स्वयंले कहिले पनि हतियार उठाउन भनेनन् र उनले पनि उठाएनन् तर अङ्ग्रेजलाई लखेटिछाडे । उनको एउटा लट्ठी थियो । त्यसैको बलमा उनी हिँडडुल गर्थे । इतिहासकारहरूले यही विम्बलाई प्रयोग गर्दै गान्धीले एउटा लाठीले अङ्ग्रेजलाई लखेटे भन्ने फ्रेज बनाएका छन् ।
गान्धीले प्रयोग गरेको लाठी कुनै काठको टेको मात्र थिएन, त्यो त प्रतीक थियो जनताको एकताको, धैर्यको, संयम र न्यायको । ठ्याक्कै त्यस्तै यतिखेरका काठमाडौँ महानगरका मेयर बालेन शाहको हातमा पनि कुनै बन्दुक छैन तर उनको हातमा छ— सत्यको हतियार, युवाहरूको समर्थन, जनताको विश्वास, पारदर्शिताको बल । महात्मा गान्धी, नेल्सन मन्डेला, चे ग्वेभारा, लेनिन र बालेन यी सबैमा एउटै समानता थियो— तिनीहरू आफ्नो पुस्ताको साँचो प्रतिनिधि थिए, जसले इतिहासको बाटो मोडिदिए ।
गान्धीले प्रयोग गरेको लाठी कुनै काठको टेको मात्र थिएन, त्यो त प्रतीक थियो जनताको एकताको, धैर्यको, संयम र न्यायको । ठ्याक्कै त्यस्तै यतिखेरका काठमाडौँ महानगरका मेयर बालेन शाहको हातमा पनि कुनै बन्दुक छैन तर उनको हातमा छ— सत्यको हतियार, युवाहरूको समर्थन, जनताको विश्वास, पारदर्शिताको बल ।
लेनिनले पनि क्रान्तिका लागि उचित समय आयो भन्ने लागेपछि संसद् विघटन गरेका थिए । अलि विस्तारमा भन्नुपर्दा लेनिनको पार्टी पनि संसद्मा एउटा सानो अङ्ग थियो, प्रमुख अङ्ग थिएन तर उनीहरूले भनेजस्तो भइरहेको थिएन । लेनिनले १९१७ को अक्टोबर बोल्सेभिक क्रान्तिपछि सत्ता सम्हाले । त्यसपछि रुसमा गठन भएको संविधानसभा संसदमा बोल्सेभिकहरूले स्पष्ट बहुमत पाउन सकेनन्, बरु अन्य दलहरूको वर्चस्व थियो । उनले यो सभालाई पुँजीपति र अभिजात वर्गको प्रभावमा रहेको ठानी मजदुर–किसानको हित गर्न असक्षम ठहर गरे र ‘सर्वशक्तिमान सोभियत’ नै जनताको वास्तविक प्रतिनिधि हो भन्ने तर्क अघि सारे । साथै उनले त्यस समयमा आर्थिक सङ्कट, युद्धको थकान र आमजनतामा फैलिएको असन्तोषलाई क्रान्तिका लागि उपयुक्त वातावरण मानेर बाह्य परिस्थिति क्रान्तिका लागि तयार छ भन्ने निष्कर्ष निकाले । यही कारण उनले १९१८ जनवरीमा पहिलोपटक बसेको संविधानसभालाई सेना प्रयोग गरी जबर्जस्ती बन्द गरिदिए र संसद्लाई विघटन गर्दै सोभियत प्रणालीलाई मात्र वैध राजनीतिक संस्था घोषणा गरे ।
नेपालको जेन–जी क्रान्तिमा त्यति पनि गर्नुपरेन । बालेनको दुईवटा फेसबुक स्टाटसले पुरानो सरकार ढल्ने अवस्था ल्यायो र संसद् विघटनको अनिवार्यता पनि सम्भव बनायो ।
क्रान्ति भनेको सत्ता परिवर्तन मात्र होइन, एउटा आन्दोलनले मात्रै क्रान्ति पूरा हुँदैन । साढे दुई वर्षमा बालेन शाह सामाजिक चेतना, संरचनात्मक परिवर्तन, बदलिएका मूल्य–मान्यता र जनताको सक्रिय सहभागिताको केन्द्रीय व्यक्तित्व बनेका थिए । क्रान्ति भनेको आन्दोलन वा हिंसा मात्र होइन । क्रान्ति भनेको विचार, प्रतिबद्धता, परिवर्तनका साधन र जनमतको शक्तिको प्रयोग पनि हो । बालेन शाहले त्यही जनमतको शक्ति प्रयोग गर्दै आफूलाई यस क्रान्तिको नायक बनाए । बालेन शाह कुनै परम्परागत दलका उत्पादन होइनन् । उनी न राजनीतिक घरानाबाट आएका हुन् । उनी र्यापर, स्ट्रक्चरल इन्जिनियर, कवि, गायक, कलाकार हुन्; सबैभन्दा महत्त्वपूर्ण युवा पुस्ताको साँचो प्रतिनिधि हुन् ।
काठमाडौँ महानगरपालिकाको मेयर बन्नु उनको राजनीतिक यात्राको सुरुवात मात्र थियो । त्यो जितले पुराना दलहरूलाई स्तब्ध नै बनाइदियो । उनी निर्वाचनबाट मात्र होइन, आफ्नो शैलीमार्फत पनि क्रान्तिकारी बने । भ्रष्टाचारविरुद्धको स्पष्ट आवाज, पारदर्शिता र जवाफदेहिताको अभ्यास, सार्वजनिक मुद्दामा हस्तक्षेप— यी सब कुराले उनी जनतामा एउटा क्रान्तिकारी व्यक्तित्व बनिरहेकै थिए । क्रान्ति शब्दको अर्थ केवल हिंसात्मक विद्रोह होइन, गान्धीले अहिंसा प्रयोग गरेर पनि क्रान्ति गरे, मन्डेलाले कैयौँ वर्ष जेल बसेर पनि क्रान्ति गरे । चे ग्वेभाराले बन्दुक बोकेर पनि क्रान्ति गरे । लेनिनले संसद् विघटन गरेर पनि क्रान्ति गरे । बालेनले सङ्गीत, आफ्ना कामहरू र फेसबुक स्टाटसमार्फत क्रान्ति गरिरहेका थिए ।
दोस्रो चरणको क्रान्ति सजिलो हुँदैन जति पहिलो चरणको क्रान्ति भयो । पुराना दलहरूले हामीविरुद्ध महागठबन्धन गर्नेछन्, प्रशासनिक अवरोधहरू खडा गर्नेछन्, निन्दा प्रचार, अफवाह र आक्रमण हुनेछ । यही चुनौती नै क्रान्तिकारिताको बाटो हो । इतिहासले देखाएको छ कि गान्धीलाई मूर्ख भनियो, मन्डेलालाई आतङ्ककारी भनियो, चे ग्वेभारालाई विद्रोही अपराधी भनियो, लेनिनलाई अल्पमतको हरुवा भनियो, तर अन्ततः समयले प्रमाणित गर्यो कि उनीहरू साँचो क्रान्तिकारी थिए । चे ग्वेभाराले भनेका थिए— क्रान्ति कुनै पाकेर खस्ने स्याउ होइन, त्यो त आफैँ झार्नुपर्छ । बालेन शाहले त्यही गरेको हो ।
हुन त जेन–जी क्रान्ति एउटा स्वतःस्फूर्त उठेको युवाहरूको क्रान्ति थियो । यसको कोही खास लिडर थिएन । यसको कुनै राजनीतिक उद्देश्य थिएन तर नसोचेको क्षति भोग्नुपरेपछि आन्दोलनले नेतृत्व खोजेको थियो, शून्यतामा क्रान्ति हुँदैनथ्यो । बालेनजीले हाम्रो भावना अनुरूप नेतृत्व लिनुभयो र आन्दोलनको सही अवतरण गराउनुभयो । वास्तवमा अन्योलताका बिच बालेनले अनिवार्य संसद् विघटनको माग राख्नुभयो र सबभन्दा ठुलो प्राप्ति भयो । सरसर्ती हेर्दा हामीले सत्ता ढलायौँ र संसद् विघटन गर्यौँ । अरु आन्दोलनको म्यान्डेट अनुसार क्रमैसँग प्राप्ति हुनेछन् । एकातिर गान्धीले झैँ बालेनले पनि प्रधानमन्त्री बन्ने लोभ राखेनन् । उनले आफ्नो उचित समय कुरेर परिपक्व नेताको परिचय दिएका छन् भने अर्कोतिर आन्दोलनको म्यान्डेट अनुसार संसद् विघटनमा दह्रो अडान राखेर दूरगामी दृष्टिकोण भएको नेता क्षमता पनि देखाएका छन् । बालेनजीको अडान र चलाखीपूर्ण सुझबुझले आन्दोलन आन्दोलनबाट क्रान्तिमा परिणत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण