मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

एकताको तयारीमा एनआरएनएका दुई समूह

बिहीबार, २३ असोज २०८२, २१ : ५०
बिहीबार, २३ असोज २०८२

सारांश

  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को दुई समूहबीच एकताको प्रयास अन्तिम चरणमा पुगेको छ।
  • महेश श्रेष्ठ र बद्री केसी पक्षबीचको वार्तामा आगामी अक्टोबर ११ मा संयुक्त कार्यक्रम गरी एकता घोषणा गर्नेबारे छलफल भयो।
  • एनआरएनएमा नेतृत्व विवादका कारण संगठनात्मक गतिविधि प्रभावित भएका थिए, तर अब एकताको मोडालिटीबारे छलफल भइरहेको छ।

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दुई समूहबिच एकताको प्रयास अन्तिम चरणमा पुगेको छ ।

गत वैशाखको एकताको महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठ र ११ औँ महाधिवेशनबाट अध्यक्ष बनेका बद्री केसी पक्षबिच बिहीबार ठमेलमा वार्ता भएको छ ।

बैठकमा अभियन्ताहरु डी।बी। क्षेत्री, खगेन्द्र न्यौपाने, शनी कुमार ओली, रामशरण सिम्खडा, भीम उदास, सोनाम लामा, रमेश भट्ट, रतन झालगायत सहभागी रहेका एक अभियन्ताले बताए । उनीहरूबिच संघमा उत्पन्न विवादलाई अन्त्य गरी अक्टोबर ११ मा संयुक्त रुपमा कार्यक्रम गरी एकताको घोषणा गर्नेबारे छलफल भएको उनले बताए । 

बैठकमा सहभागी  नेताहरूले एनआरएनएमा  एकताबाहेक अरू विकल्प नभएकामा सबै सहमत भएका छन् । एकताको मोडालिटीबारे छलफल जारी रहेकाले छिट्टै ठोस निर्णय हुने अपेक्षा गरिएको एक अभियन्ताले बताए । 

ती अभियन्ताका अनुसार, गैरआवासीय नेपाली संघको नेतृत्व एकता गर्नका लागि केही दिनयता दुवै पक्षका प्रतिनिधिहरूबीच पछिल्ला दिनहरूमा निरन्तर संवाद भइरहेको छ । 

एनआरएनएमा पछिल्लो समय नेतृत्व विवादका कारण संगठनात्मक गतिविधि प्रभावित भएका थिए ।

अक्टोबर ११ मा संयुक्त उत्सवमार्फत नयाँ सहमतिको प्रारम्भ गर्ने तयारी भइरहेको सहभागीहरूले बताएका छन् । एनआरएनए अभियन्ता रामशरण सिम्खडाले देशको परिस्थिति र एनआरएनएको हितका लागि पनि एकताका लागि आफूहरू गम्भीर वार्तामा रहेको बताए ।

उनले छिट्टै निकास निस्कनेमा आशावादी रहेको बताए । एनआरएनएमा करिब ४ वर्षयता विवाद रहेको छ । विवादकै कारण एनआरएनएको अभियान नै प्रभावित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप