आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा अहिलेसम्म क–कसले पाए कार्यवाहकको जिम्मेवारी ?

मङ्गलबार, २८ असोज २०८२, १७ : ३५
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए।
  • कांग्रेसमा यसअघि पनि कार्यवाहक सभापति दिने प्रचलन रहेको थियो, जसमा विश्वेश्वरप्रसाद कोइरालाले सुवर्ण शमशेरलाई दिएका थिए।
  • रामचन्द्र पौडेल, सुशील कोइराला लगायतका नेताहरूले पनि कार्यवाहकको जिम्मेवारी सम्हालेका थिए।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन मार्फत उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु,’ सभापति देउवाले सम्बोधनको अन्तिममा भने ।

अहिलेमात्रै होइन, कांग्रेसमा कार्यवाहक सभापति दिने प्रचलन पुरानो हो । सबैभन्दा पहिला कार्यवाहक सभापतिको जिम्मेवारी विश्वेश्वरप्रसाद कोइरालाले सुवर्ण समशेर जबरालाई दिएका थिए ।

तत्कालीन राजा महेन्द्रले २०१७ सालमा सैन्यबलमा संसदीय व्यवस्था खारेज गरे र दलहरुमाथि प्रतिबन्ध लगाए भने कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालालाई जेल हाले l त्यो विषम परिस्थितिमा कोइरालाले भारतमा रहेका कांग्रेस नेता सुवर्ण समशेर जबरालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । बीपी ८ बर्ष सुन्दरीजल जेलमा रहँदा सुवर्ण समशेरले नै कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

आठ बर्ष काराबासपछि भारत प्रवासमा आठै बर्ष बिताएपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुअघि नेता कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए । भट्टराई सबैभन्दा लामो समय कार्यवाहक सभापति पाउने कांग्रेस नेता हुन् । उनले २०४८ सालमा झापाको कलवलगुडीमा भएको पार्टीको आठौँ महाधिवेशनसम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाले ।

२०४८ फागुन १ देखि ३ गतेसम्म कलवलगुडीमा भएको आठौँ महाधिवेशनबाट भट्टराई नै सभापतिमा निर्वाचित भएका थिए ।

कालान्तरमा सभापति गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

२०५९ साउन ७ गते फुटेको कांग्रेस २०६४ असार २३ गते पुनः एकीकरण भएपछि गिरिजाप्रसाद कोइरालाले स्वास्थ्यका कारण सुशील कोइरालालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

२०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भएको १२औँ महाधिवेशनबाट कार्यवाहक सभापति सुशील कोइराला नै सभापतिमा निर्वाचित भए ।

सभापति सुशील कोइरालाको २०७२ साल माघ २६ निधन भएकाले तत्कालीन उपसभापति रामचन्द्र पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी पाए । पौडेल अहिले राष्ट्रपति छन् ।

पौडेलको नेतृत्वमा २०७२ फागुन २० देखि २४ गतेसम्म भएको १३ औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति भए । 

देउवा १४ औँ महाधिवेशनबाट पनि सभापति भएका थिए । जेनजी बिद्रोहका क्रममा भदौ २४ गते भएको आक्रमणबाट घाइते बनेका सभापति देउवाले आज स्वास्थ्यको कारण देखाउँदै विधान अनुरुप उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप