बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कामना विष्टको धमाकेदार प्रदर्शन : लगातार तीन खेलमा उत्कृष्ट

बुधबार, ०५ कात्तिक २०८२, २० : ४७
बुधबार, ०५ कात्तिक २०८२

काठमाडौँ । नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शनका साथ चम्किएकी छिन् । 

अक्टोबर १३ देखि ३० तारिखसम्म सञ्चालन भइरहेको यस प्रतियोगितामा उनी माल्दिभ्सको नैफारू चेल्सी स्पोट्र्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन् ।

नैफारूले प्रतियोगिताको सुरुवात उत्कृष्ट ढङ्गले गरेको थियो। पहिलो खेलमा २५–१२, २५–०२ र २५–२१ को सोझो सेटमा ३–० को प्रभावशाली जित निकाल्यो । दोस्रो खेलमा पनि टिमले २५–२१, २२–२५, २५–२२ र २५–१० को सेट स्कोरसहित ३–१ को जित दर्ता गर्न सफल भयो ।

तेस्रो खेल अझ रोमाञ्चक बन्यो, किनकि यो खेल दुई नेपाली खेलाडीहरू– कामना विष्टको नैफारू क्लब र उषा भण्डारीको टिम–बिचको भिडन्त थियो । 

तीव्र प्रतिस्पर्धाका कारण खेल पाँच सेटसम्म लम्बिएको थियो। अन्ततः कामनाको टिमले २१–२५, २५–२१, ०७–२५, २५–१३ र १५–१३ को नतिजासहित ३–२ को सङ्घर्षपूर्ण जित हात पार्‍यो ।

कामनाले आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै तीन वटै खेलमा ‘प्लेयर अफ द म्याच’ को उपाधि जितेकी छन् । उनको उत्कृष्ट स्पाइक, बलियो ब्लक र खेलप्रतिको समर्पणले टिमलाई लगातार जिततर्फ डोर्‍याएको छ ।

हालसम्म नैफारूले तीनै खेलमा जित दर्ता गरेर सेमिफाइनल यात्राको ढोका लगभग खोलिसकेको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको यस्तो निरन्तर र उच्चस्तरीय प्रदर्शनले नेपाली भलिबलको गौरवलाई थप उच्च बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप