आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सुडानबाट ३ महिनामा नेपालले आयात गर्‍यो सवा २ करोडको खरबुजाको बीउ

सोमबार, १० कात्तिक २०८२, १५ : २८
सोमबार, १० कात्तिक २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा विश्वका गरिब मुलुकमध्ये एक सुडानबाट नेपालले २ करोड भन्दा बढी रुपैयाँ बराबरको सामान आयात गरेको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि असोजसम्मको अवधिमा विभिन्न तीन प्रकारका वस्तुहरू सुडानबाट नेपाल भित्रिएका छन्, जसको कुल आयात मूल्य २ करोड २८ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

सामान्यतया नेपालले विकसित वा तुलनात्मक रूपमा स्थिर अर्थतन्त्र भएका मुलुकहरूबाट धेरै आयात गर्ने गरेपनि, द्वन्द्वग्रस्त र आर्थिक रूपमा कमजोर मानिने सुडानबाट वस्तु आयात अनपेक्षित देखिन्छ ।

तथ्याङ्क अनुसार सुडानबाट सबैभन्दा धेरै मेलन सीड्स (खरबुजाको बियाँ) आयात भएको छ । यस अवधिमा १ लाख ४० हजार ४०० किलोग्राम मेलन सीड्स आयात हुँदा यसको मूल्य २ करोड २१ लाख २९ हजार रुपैयाँ रहेको छ । यसबाट नेपाल सरकारले ६४ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी ५० ग्राम सुनका गरगहना र सोका पार्टपुर्जाहरू पनि सुडानबाट आयात भएका छन् । यसको आयात मूल्य ७ लाख ११ हजार रुपैयाँ रहेको छ भने यसबाट ३६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

शिशुहरूका लागि प्रयोग हुने १.५% भन्दा बढी फ्याट भएको १२ किलोग्राम दुधजन्य खाद्य पदार्थको पनि आयात भएको छ, जसको मूल्य ४२ हजार रुपैयाँ र राजस्व १५ हजार रुपैयाँ रहेको छ । 

यी तीन महिनामा सुडानबाट भएको कुल आयातबाट नेपाल सरकारले कुल ६५ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप