बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको संस्थापन पक्षले चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव लैजाने

बुधबार, १२ कात्तिक २०८२, २१ : ५३
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसको संस्थापन समूहले फागुन २१ गते निर्वाचनपछि महाधिवेशन गर्न प्रस्ताव गर्ने भएको छ।
  • ललितपुरमा भएको छलफलमा संस्थापन पक्षका नेताहरूबीच यस्तो प्रस्ताव लैजान सहमति जुटेको हो।
  • कांग्रेस महामन्त्रीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरी कार्यवाहक सभापतिलाई बुझाएका छन्।

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने भएको छ। ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा भएको छलफलमा संस्थापन पक्षका नेताहरूले त्यस्तो प्रस्ताव लैजानका लागि अनौपचारिक सहमति गरेका हुन् । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा संस्थापन पक्षीय पदाधिकारी पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरूको छलफलले यस्तो आन्तरिक सहमति जुटाएको एक नेताले जानकारी दिए ।

गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक बिहीबारदेखि पुनः सुरु हुँदैछ। कात्तिक १ गतेदेखि स्थगित भएको बैठक बिहीबारदेखि सुरु हुने भएपछि संस्थापन पक्षीय नेताहरूले आफ्नो समूहको आन्तरिक छलफल गरेका थिए। 

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर सङ्कलन गर्न लगाएर कार्यवाहक सभापति खड्कालाई बुझाउन लगाएका छन्।

अर्कोतर्फ इतर समूहका नेता डा.शेखर कोइराला समूहले भने आगामी मङ्सिरभित्र पार्टीको १५ औँ महाधिवेशन हुनुपर्ने बताइरहेको छ । यस्तो अवस्थामा संस्थापन पक्ष नेताहरूको बैठकले फागुनका लागि घोषणा गरिएको निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव लैजाने भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप