कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा सास्ती खेप्दै
सारांश
- कञ्चनपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
- पुल निर्माणका लागि पटक-पटक सर्वेक्षण र माटो परीक्षण भए पनि काम अघि बढेको छैन, जसले गर्दा स्थानीय चिन्तित छन्।
- वर्षामा बाढी र हिउँदमा जोखिमपूर्ण यात्राका कारण बालबालिका, बिरामी र स्थानीयलाई आवतजावतमा समस्या छ।
कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । बर्सातका बेला आउने बाढीले खोला तर्न सकिँदैन भने हिउँदका बेला बाढीको पानीले बनाएका खाल्डाखुल्डीले खोला पार गर्न निकै कठिनाइ हुने गरेको छ । खोलाको खाल्डाखुल्डीमा रहेका चिप्ला ढुङ्गामा चिप्लिएर दुर्घटना हुने गरेको छ ।
पुल निर्माणका लागि पटक–पटक माटो परीक्षण र सर्वेक्षण भए पनि हालसम्म कुनै ठोस निर्माण कार्य अघि बढ्न नसकेको स्थानीय बासिन्दा बताउँछन् । ‘हरेक निर्वाचनको अवधिमा राजनीतिक दलका प्रतिनिधिहरू फित्ता बोकेर नदीको दूरी नाप्ने र माटो परीक्षण गर्न प्राविधिक टोली खटाउने कार्य गर्छन्’, स्थानीय ८० वर्षीय नरबहादुर बोहराले भने-‘चुनाव सकिएपछि कोही पनि फर्केर आउँदैन, खोलाको सास्ती दशकौँदेखि खेप्दै आएका छौँ ।’
बोहराका अनुसार पुल नहुँदा विशेषगरी बर्सातका बेला ठूलो समस्या हुने गरेको छ । ‘खोला घटेपछि मात्रै वारपार गर्न सकिन्छ, कहिलेकाहीँ बाटै फर्किनुपर्छ’, उनले भने- ‘यसवर्ष मात्रै खोलामा बगेर दुई जनाको ज्यान जाने अवस्था आएको थियो तर समयमै उद्धार गर्न सफल भएर ज्यान बच्यो ।’
स्थानीय गोविन्द मालले विद्यालय जाने बालबालिका खोलामा आउने बाढीका कारण सबैभन्दा बढी प्रभावित हुने बताए । ‘बर्सातका बेला बालबालिकालाई खोला पार गर्न कठिन हुन्छ, कहिलेकाहीँ खोला घट्दासम्म राति अबेर सम्म पर्खनुपर्छ’, उनले भने- ‘बालबालिका विद्यालयबाट छुट्टी भएर आएपछि लिनका लागि खोलाको डिलमै ढुकेर बस्नुपर्ने बाध्यता छ ।’
‘चुरे क्षेत्रअन्तर्गत पर्ने उक्त खोलामा बर्सातका बेला बाढी आउँछ र दुवै किनार भरिन्छ’, माधवी नेपालीले भनिन्-‘हिउँदमा पानी घटे पनि खोलामा बनेका खाल्डाखुल्डी र चिप्ला ढुङ्गाका कारण दुर्घटनाको जोखिम रहन्छ ।’
उक्त खोला तरेर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी, पिलरीफाँटा, कृष्णपुर–१ दोमिल्ला, सुन्दरीफाँटा, पहरीया र श्रीपुर गाउँका बासिन्दा ओहरदोहर गर्ने गर्दछन् । यही बाटो भएर नायल पर्यटकीय क्षेत्रसम्म पुग्ने आन्तरिक पर्यटकहरूको आवागमन हुने गर्दछ ।
बर्सातका बेला खोला तर्न नसक्दा दोमिल्ला, सुन्दरीफाँटा, पहरीयालगायतका बासिन्दाले नजिकका बजार झलारी र कलुवापुर पुग्नका लागि लामो वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय बासिन्दाले लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका छन् । पुल निर्माण भएमा विद्यालय जाने विद्यार्थी, बिरामी, किसान तथा सर्वसाधारणको आवतजावत सहज हुने र आर्थिक गतिविधिमा वृद्धि हुने उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा बृहत् भेला आह्वान
-
‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’
-
जेठमा ६ फिल्म, असारमा भने खडेरी !
-
बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री वाग्ले
-
स्थानीयको प्रत्यक्ष सहभागितामा सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
५ जनाले मत हालेपछि रोकिएको थियो रास्वपा बागमतीको चुनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण