झलनाथ खनाल एमाले फर्कन तयार, राखे ४ वैचारिक सर्त
सारांश
- झलनाथ खनालले एमालेमा फर्कन समाजवादी क्रान्तिको बाटो र चार सर्तहरू राखेका छन्।
- उनले केपी शर्मा ओलीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै एमालेमा सुस्थिर चिन्तनको अभाव रहेको बताए।
- एमालेसँग एकता नभए नयाँ पार्टी बनाउने र माओवादी केन्द्रसँगको सहकार्यको सम्भावना रहेको उनको भनाइ छ।
काठमाडौँ । नेपालको वाम आन्दोलन फेरि एकपटक वैचारिक मोडमा उभिएको छ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेमा फर्कने सम्भावना रहेको सङ्केत गर्दै त्यसका लागि ‘समाजवादी क्रान्तिको बाटो’ अपनाउनुपर्ने मुख्य सर्त राखेका छन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता खनालले आफूलाई एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘सुस्थिर चिन्तन’ नदेखिएको भन्दै कडा आलोचना गरे। एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उनको ठहर छ।
- एमाले फर्कने चार वैचारिक सर्त
नेता खनालले एमाले फर्कनका लागि चारवटा आधारभूत वैचारिक सर्तहरू अगाडि सारेका छन्, जसलाई वार्ताको आधार बनाउन सकिने उनले बताएका छन्।
खनाल भन्छन्, ‘एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ। जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ।’
एमालेसँग एकताका लागि खनालले अगाडि सारेका सर्तहरू:
१. मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने: विचारमा मात्र होइन, व्यवहारमा पनि मार्क्सवादी बन्नुपर्ने।
२. समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउने: पुँजीवादी जनवादी क्रान्ति पूरा भइसकेकाले अब समाजवादतर्फको रूपान्तरणको चरणमा प्रवेश गर्नुपर्ने।
३. नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्ने: मार्क्सवादको ढाँचालाई नेपाली यथार्थ (कृषक, श्रमिक र युवाको मिश्रित वर्ग संरचना) मा रूपान्तरण गर्नुपर्ने।
४. देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प: यो आर्थिक निर्भरता र राष्ट्रिय स्वाभिमानको ह्रासविरुद्धको सङ्घर्ष हो।
उनले यी चार बुँदामा एकरूपता भएमा तत्काल वार्ता सुरु गर्ने स्पष्ट पारे।
नेता खनालले एमालेलाई आफ्नो ‘जीवनको वैचारिक सन्तान’ बताउँदै भावनात्मक माया रहेको उल्लेख गरे। तर, एमाले अध्यक्ष केपी शर्मा ओली प्रति भने उनले असन्तुष्टि पोखे। ‘एमालेभित्र सुस्थिर चिन्तनको हामी अपेक्षा गर्छौँ। तर ओलीजीमा त्यो सुस्थिर चिन्तन विकसित हुन सकेको छैन,’ खनालको भनाइ छ।
उनको आलोचना एमालेको प्रचारमुखी, अवसरवादी र व्यक्तित्व–केन्द्रित प्रवृत्तितर्फ लक्षित थियो। उनले पार्टीलाई सामूहिक नेतृत्व र दीर्घकालीन समाजवादी दृष्टिकोणतर्फ फर्काउन सके मात्र सबै नेता कार्यकर्ता समाहित हुन सहज हुने बताए।
- नयाँ पार्टीको तयारी
एमालेसँग वैचारिक एकता नभएको खण्डमा खनाल समूह नयाँ बाटोमा अघि बढ्न तयार छ। ‘हामी नयाँ ढङ्गले पुनर्गठित हुँदैछौँ। नयाँ पार्टी निर्माण गर्नु अवश्यम्भावी छ,’ उनले भने।
यस पुनर्गठन प्रयासमा माओवादी केन्द्रभित्रको पुनर्गठन प्रयाससँग पनि निकटता सम्भव रहेको उनले सङ्केत दिए। यदि छलफल गर्दा माथिका चार आधारभूत सर्तमा एकरूपता देखिएमा उनीहरूसँग निकटता स्वाभाविक हुने उनको भनाइ छ।
- राष्ट्रिय सङ्कटको निकास निर्वाचन होइन
देशको वर्तमान राजनीतिक सङ्कटबारे नेता खनालले निर्वाचनलाई पहिलो विकल्प मान्न अस्वीकार गरे। उनको धारणा छ, ‘मुलुकमा विद्यमान सङ्कट समाधानका लागि निर्वाचन पहिलो विकल्प होइन। संवैधानिक बाटोबाट अघि बढाउनका लागि संसद् पुनर्स्थापना वा राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलन गरेर राष्ट्रिय सहमति बनाएर मुलुकलाई अघि बढाउनुपर्छ।’
उनले प्रमुख पार्टीका वर्तमान नेतृत्व यो कार्यकालमा असफल भएको ठहर गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्नेमा जोड दिए। यसमा उनले युवा पुस्तालाई राजनीतिमा आउन आग्रह गर्दै भने, ‘निर्वाचनमा भाग लिनका लागि जेनजी पुस्ताले पनि दल गठन गरेर आउनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण