आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सिरियाली राष्ट्रपतिलाई ट्रम्पले दिए अत्तर उपहार

बिहीबार, २७ कात्तिक २०८२, ११ : ५४
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शारासँग भेटवार्ता गरे।
  • भेटमा ट्रम्पले अल शारालाई अत्तर उपहार दिए र उनीहरूबिच विभिन्न विषयमा कुराकानी भयो।
  • यो भेटघाट सिरियामा अमेरिकी सैन्य अड्डा बनाउने योजनाबारे छलफलको लागि महत्त्वपूर्ण मानिएको छ।

वासिङ्टन डीसी । हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा सिरियाका अन्तरिम राष्ट्रपतिलाई भेटेका छन् । कुनै बेला अमेरिकाले आतङ्कवादी घोषणा गरेर टाउकोको मूल्य नै तोकेका अहमद अल–शारासँग ट्रम्पको याे अकल्पनीय भेट हो । 

गतवर्ष अल शाराको सशस्त्र समूह ह्यात तहरीर अल–शाम नेतृत्वको विद्रोही समूहहरूले बसर अल असदको सरकार ढालेपछि अल शारा सिरियाका अन्तरिम राष्ट्रपति बनेका थिए । यसपछि अमेरिकाले आतङ्कवादी सूचीबाट उनको नाम हटाउँदै उनीमाथि राखेको १ करोड डलरको इनाम पनि हटाएको थियो

ह्वाइट हाउसमा भएको भेटघाटको क्रममा ट्रम्पले अल शारालाई उपहारमा अत्तर उपहार दिएका छन् । उपहार दिएपछि ट्रम्पले अत्तर खोलेर सिरियाली राष्ट्रपतिलाई लगाइदिएका थिए । 

‘यो सबैभन्दा राम्रो अत्तर हो । एउटा तपाईंको लागि र एउटा तपाईंको श्रीमतीको लागि’ ट्रम्पले भने । त्यसपछि मजाक गर्दै ट्रम्पले सिरियाली राष्ट्रपतिलाई तपाईंका कति जना श्रीमती छन् भनेर सोधेका थिए । यो सुनेरे अल शाराले हाँस्दै एउटा भने । ट्रम्प र अल शाराबिचको यो कुराकानी सुनेपछि ओभल अफिसमा उपस्थित सबै जना हाँसे ।

ह्वाइट हाउसमा ट्रम्प र अल शाराबिच भएको भेटघाट यस वर्ष दुईबिच भएको दोस्रो भेटघाट हो । यसअघि दुवैले सन् २०२५ को मे महिनामा साउदी अरेबियामा भेटेका थिए । अल शाराको यो पहिलो अमेरिका भ्रमण हो । उनी सन् १९४९ मा सिरिया स्वतन्त्र भएयता अमेरिका भ्रमण गर्ने पहिलो सिरियाली राष्ट्रपति पनि हुन् । 

सञ्चारमाध्यमहरूमा आइरहेका समाचारका अनुसार अमेरिकाले सिरियामा सैन्य अड्डा निर्माण गर्ने योजना बनाइरहेको छ । अल शाराको अमेरिका भ्रमणको क्रममा यो मुद्दामा छलफल भएको बताइएको छ । यो प्रस्तावित अड्डा दमास्कसमा बन्न सक्ने भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप