डाेनाल्ड ट्रम्प र निकाेलस मदुरोबिच संवाद, काराकासको आपत्ति
अमेरिका । संयुक्त राज्य अमेरिका र भेनेजुएलाबिच बढ्दो तनावको बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग गरेको फोन वार्तालाई आइतबार पुष्टि गरेका छन् ।
उनले उक्त संवादको परिणामबारे स्पष्ट केही भन्न नसक्ने बताउँदै ‘यो एउटा फोन कल मात्र थियो’ भनी टिप्पणी गरेका छन् । तर काराकासले भने अमेरिकाले सम्भावित आक्रमणको तयारी गरिरहेको भन्दै कडा निन्दा गरेको छ ।
अमेरिकाले क्यारेबियन क्षेत्रमा सैन्य उपस्थिति बढाएको, मदुरोसँग जोडिएको कथित ‘कार्टेल अफ द सन’ लाई आतङ्कवादी समूह घोषणाको चेतावनी दिएको र भेनेजुएलाको हवाई क्षेत्र बन्द हुनसक्ने सङ्केत दिएको कारण वातावरण झनै चर्किएको छ ।
वासिङ्टनले भने आफ्नो सैन्य तैनाथीको मुख्य उद्देश्य लागुऔषध तस्करी रोकथाम भएको दाबी गर्दै आएको छ, तर काराकासले यसलाई शासन परिवर्तनको पूर्वतयारीका रूपमा व्याख्या गर्दै आएको छ ।
अमेरिकी मिडियाहरूले हालै ट्रम्प–मदुरोबिच सम्भावित भेटबारे छलफल भएको र मदुरोले पदत्याग गरेमा सम्भावित माफीका सर्तहरू पनि उठेको बताएका थिए । अमेरिकी सिनेटर मार्कवेन मुलिनले समेत मदुरोलाई देश छोडेर रुस वा अन्य स्थानमा बसाइँ सर्न सक्ने विकल्प प्रस्ताव गरिएको जानकारी दिएका छन् ।
अमेरिकाले मदुरोलाई लागुऔषध तस्करीमा संलग्न आपराधिक समूहको नेतृत्व गरेको आरोप लगाउँदै पाँच करोड डलरको पुरस्कारसमेत घोषणा गरेको छ । तर भेनेजुएला र त्यसका सहयोगी राष्ट्रहरूले त्यस्तो सङ्गठन अस्तित्वमै नभएको स्पष्ट गर्दै आएका छन् ।
धेरै विशेषज्ञहरूका अनुसार ‘कार्टेल अफ द सन’ को अर्थ वास्तवमा केही उच्च पदस्थ अधिकारीहरू माझको भ्रष्टाचारजन्य आपराधिक गतिविधिहरूलाई जनाउने अवधारणा रहेको बताइन्छ ।
गत वर्षको राष्ट्रपति चुनावमा मदुरो विजयी भएको तथ्यलाई संयुक्तराज्य अमेरिकाले स्वीकार गरेको छैन । ट्रम्पले सार्वजनिक रूपमा बल प्रयोग गर्ने उद्घोष नगरे पनि उनले भेनेजुएलाबाट हुने लागुऔषध तस्करी ‘धेरै चाँडै’ भूमिबाटै रोक्ने सङ्केत दिएका छन् ।
यसैबिच, राष्ट्रपति मदुरोले ओपेकलाई पत्र लेखी अमेरिकी ‘आक्रमण रोक्न’ सहयोग गर्न अनुरोध गरेका छन् । उनले वासिङ्टनले भेनेजुएलाको विश्वकै सबैभन्दा ठूलो तेल भण्डार कब्जा गर्न सैन्य बल प्रयोग गर्न खोजिरहेको दाबी गरेका छन् ।
सेप्टेम्बरयता अमेरिकाले क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा कथित लागुऔषध तस्करीमा संलग्न डुङ्गाहरू लक्ष्य गर्दै हवाई आक्रमण गरिरहेकामा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । अमेरिकाले प्रस्तुत गरेका धेरै आरोपका लागि ठोस प्रमाण नदेखिएको बताउँदै विशेषज्ञहरूले पनि कारबाहीको वैधतामाथि प्रश्न उठाइरहेका छन् ।
अमेरिकी मिडियाले सेप्टेम्बरमा भएको एक आक्रमणपछि बचेका व्यक्तिमाथि थप प्रहार गरिएकै कारण मृतकको सङ्ख्या बढेको खुलाएका थिए । यस सम्बन्धमा रक्षामन्त्री पिट हेग्सेथले ‘सबैलाई समाप्त गर्ने’ आदेश दिएका थिए भन्ने दाबी भए पनि ट्रम्पले सो आरोप अस्वीकार गरेका छन् ।
हेग्सेथले भने आफूले त्यस्तो आदेश नदिएको स्पष्ट गरेका छन् भने भेनेजुएलाका वरिष्ठ सांसद जोर्ज रोड्रिग्जले यस्तो घटना युद्ध अपराध सरह ठहरिन सक्ने बताएका छन् ।
यसैबिच अमेरिकी विशाल विमान वाहक क्यारेबियनमा तैनाथ गरिएकाले वातावरण अझ संवेदनशील बनेको छ । अमेरिकी लडाकु र बमवर्षक विमानहरू भेनेजुएलाको तट नजिकै निरन्तर उडिरहेका छन् ।
यस तनावपछि केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले भेनेजुएलातर्फका उडान रद्द गरे पनि आइतबार काराकास विमानस्थल नियमित रूपमा सञ्चालन भइरहेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण