२५ जना अर्बपति आउने भनिएको लुम्बिनीको कार्यक्रम 'खल्लो’
काठमाडौँ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा २५ जना अर्बपति आउने भन्ने चर्चा एक सातादेखि चलिरहेको थियो । विदेशी पाहुना अर्बपतिहरू आउने 'विश्व शान्ति कार्यक्रम’ भव्य होला भन्ने धेरैलाई लागेको थियो । कार्यक्रममा प्रधानमन्त्री नभए कम्तीमा नेपाल सरकारका मन्त्रीको सहभागिता होला भन्ने अपेक्षा थियो ।
तर प्रदेश सरकारका मन्त्री र सांसदको समेत सहभागिता नभई उक्त कार्यक्रम सम्पन्न भयो । स्थानीय तहको प्रतिनिधिको रूपमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक मेयर कल्पना हरिजन मात्र सहभागी भइन् । राष्ट्रिय रूपमा परिचित व्यक्ति अभिनेता राजेश हमाल मात्रै थिए ।
हरिजन र आयोजक संस्था 'द प्रमिस्ड ल्यान्ड’ फाउन्डेसनका अध्यक्ष निकेश अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए । लुम्बिनी विकास कोषका पदाधिकारी कसैको पनि उद्घाटन कार्यक्रमको हलमा सहभागिता थिएन ।
'अहिलेको कार्यक्रममा कोषको समन्वय र सहकार्य नभएको लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईले बताए । 'हामीले हल भाडामा उपलब्ध गराउँछौँ । जुनसुकै कार्यक्रममा कोष हुनैपर्छ भन्ने भएन’ उनले भने ।
कार्यक्रममा मुख्य विदेशी पाहुनाको रूपमा इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रट लेन थिए । केही अरू विज्ञ तथा व्यवसायी थिए । कार्यक्रममा २५ जना अर्बपति आउने भनेपनि त्यो खालको माहोल हलमा देखिएको थिएन । रुपन्देहीमा दर्जन बढी व्यवसायिक संस्था छन् । एक दुई जना बाहेक ती व्यवसायिक संस्थाबाट सहभागिता थिएन। स्थानीय पत्रकारहरू धेरैलाई निम्ता थिएन ।
चार पाँच हजार अट्ने लुम्बिनीको सभाहलमा निकै कम सहभागी थिए । दर्शकदीर्घामा धेरै स्काउट र विद्यार्थीहरू थिए । आयोजक टिममा रहेका मध्येकै एक जनाले नै कार्यक्रम खल्लो भएको र सोचजस्तो नभएको सुनाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण