बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला उद्यमीका उत्पादनमा धेरैको चासो

सोमबार, ०७ पुस २०८२, २३ : ०४
सोमबार, ०७ पुस २०८२

सारांश

  • बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका उत्पादनमा दर्शकको चासो बढेको छ।
  • प्रदर्शनीमा करिब १५० वटा महिला उद्यमीका स्टल छन् र बिक्री वितरण राम्रो छ।
  • प्रदर्शनीमा आठ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने अनुमान छ।

लुम्बिनी । बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ मा महिला उद्यमीका उत्पादनमा दर्शकको चासो बढेको छ ।

रुपन्देही उद्योग सङ्घको आयोजनामा यही पुस ३ गतेदेखि बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा करिब ४० प्रतिशत महिला उद्यमीका ‘स्टल’ रहेका छन् ।

प्रदर्शनीको सुरुवाती चरणबाटै ती स्टलमा अवलोकनकर्ताले बढी चासो देखिएको सङ्घका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले बताए ।

प्रदर्शनीमा करिब १५० वटा महिला उद्यमीका स्टल रहेका छन् । महिला उद्यम तथा कृषि उपसमितिका संयोजक पार्वती गिरीका अनुसार प्रदर्शनीमा आउने अधिकांश अवलोकनकर्ता महिला उद्यमीको उत्पादनमा ध्यान केन्द्रित गरेको र ती उत्पादनको बिक्री वितरण पनि राम्रो रहेको बताइन् ।

सङ्घका सहकोषाध्यक्ष राजु घिमिरेले प्रदर्शनी प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सम्पर्क स्थापना, उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने उपयोगी रहेको बताए । उनले उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्दै अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावसमेत सङ्कलन गरिने बताए ।

सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले रुपन्देही महिला उद्यमीलाई प्रोत्साहन गर्न विशेष सहुलियत दिइएको बताए ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा ‘पेभिलियन’ निर्माण गरिएका छन् । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको र सबै स्वदेशी उद्योगहरूलाई स्थान दिइएको सङ्घका कोषाध्यक्ष विशाल वेलबासे बताए ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भएको प्रदर्शनीमा आठ लाख दर्शकले अवलोकन गर्ने र रु ३० करोडको आर्थिक कारोबार हुने अनुमान रहेको प्रबन्धक यादव भण्डारीले उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप