सिन्धुली क्षेत्र नं. २ बाट निर्वाचित सांसद आशिष गजुरेल पूर्वाधार र सार्वजनिक यातायात क्षेत्रका विज्ञ हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गजुरेलले निजी र सरकारी दुवै क्षेत्रमा काम गरिसकेका छन् ।
प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिको सभापतिको जिम्मेवारीमा रहेका उनले सडक सुरक्षा, सार्वजनिक यातायातको गुणस्तर र यातायात व्यवस्थापनमा रहेका कानुनी तथा नीतिगत झमेलाहरूलाई हटाउन सक्रिय भूमिका खेलिरहेका छन् । साइकल संस्कृति र यसको प्रवर्द्धनमा उनले जोड दिँदै आएका छन् । गजुरेलसँग रातोपाटीको सांसदसँग स्तम्भका लागि गरिएको कुराकानीः
मैले लामो समयसम्म निजी क्षेत्रमा काम गरेँ, अध्यापन पनि गराएँ । त्यसपछि सरकारी क्षेत्रमा काम गरेँ । त्यस क्रममा मलाई पूर्वाधार निर्माणका नीतिगत र प्रक्रियागत तहमा रहेका अस्पष्टता र त्रुटिहरू सुधार गर्नुपर्ने धेरै कुराहरू छन् भन्ने महसुस भयो ।
देशको आर्थिक विकासका लागि बलियो पूर्वाधार र गुणस्तरीय कामको आवश्यकता छ, र त्यो सुधार गर्न नीति–निर्माणको तह (संसद) मा पुग्नुपर्छ भन्ने लाग्यो, तब म सांसद बन्ने बाटोमा लागेँ । म राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएर संसदमा पुगेँ ।
मेरो मुख्य जोड सार्वजनिक यातायातको सुधार र सडक सुरक्षामा छ । मैले संसदमा सार्वजनिक यातायातको दयनीय अवस्था र यात्रुले भोग्नुपरेको सास्तीको विषयमा पटक–पटक आवाज उठाएको छु । हालै खरिद ऐनमा भएको संशोधनले पूर्वाधार निर्माणलाई ‘फास्ट ट्रयाक’ मा लैजान सहयोग पुर्याएको छ । हामीले विद्युतीय भुक्तानी, ब्लु बसको सञ्चालन र महिलाहरूको लागि सुरक्षित र निःशुल्क यात्राको व्यवस्था जस्ता कार्यहरूलाई प्राथमिकतामा राखेका छौँ । यो काम छिटै नै अगाडि बढ्छ ।
सभापतिको नाताले म अहिले पूर्वाधारमा देखिएका नीतिगत र प्रक्रियागत समस्याहरूको पहिचान र अध्ययन गरिरहेको छु । हामीले समितिमार्फत राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गरिरहेका छौँ र प्राविधिक ज्ञानको हस्तान्तरण पनि गरिरहेका छौँ । मेरो उद्देश्य भनेको पूर्वाधारको निर्माणलाई व्यवस्थित, गुणस्तरीय र समयमै सम्पन्न हुने बनाउनु हो ।
मेरो मुख्य एजेन्डा भनेको सिन्धुलीमा बाढी नियन्त्रण, कृषि उत्पादन व्यवस्थापन, मलको सहज प्राप्ति, स्वास्थ्य र शिक्षामा सुधार, खेलकुदको विकास र रोजगारी सिर्जना गर्ने हो । मैले राष्ट्रिय एजेन्डा र सिन्धुलीका लागि छुट्टै एजेन्डा बनाएको छु र ती प्रतिबद्धताहरू पूरा गर्न म दृढ छु ।
मलाई विश्वास गरेर सांसदको जिम्मेवारीमा पुर्याउनु हुने सम्पूर्ण मतदाता र जनतालाई धन्यवाद दिन चाहन्छु । मेरो प्रयास भनेको सिन्धुलीलाई आर्थिक रूपमा सबल जिल्लाको रूपमा विकास गर्नु हो । म आफ्नो प्रतिबद्धतामा अडिग छु र ती सबै योजनाहरू सफल हुन्छन् भन्ने कुरामा म विश्वस्त छु ।
प्रतिक्रिया