गण्डकीमा राष्ट्रिय सभाको अंकगणित, के गरिरहेका छन् दलहरू ?
सारांश
- फागुन २० गते रिक्त हुने राष्ट्रिय सभा सदस्यका लागि माघ ११ गते उपनिर्वाचन हुने भएको छ।
- कांग्रेसले दुई सिटका लागि ५० जनाको नाम केन्द्रमा पठाएको छ भने एमालेले कुनै तयारी गरेको छैन।
- गण्डकी प्रदेशमा कांग्रेस, एमाले र नेकपाबीच प्रतिस्पर्धा हुने सम्भावना छ, तर गठबन्धनको अवस्थाले नतिजा निर्धारण गर्नेछ।
पोखरा । फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाको सदस्य पदका लागि माघ ११ गते उपनिर्वाचन हुँदै छ । पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकेको छ ।
निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू उम्मेदवार छनोटमा कस्सिएका छन् । नेपाली कांग्रेसले देशभरबाट राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका आकांक्षीको नाम एकैचोटि सङ्कलन गरिरहेको छ ।
गण्डकी प्रदेशमा राष्ट्रिय सभाका २ सदस्यको पद रिक्त हुँदै छ । खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुँदैछन् । अब हुने निर्वाचनमा पनि सोही क्लस्टरबाट सांसद निर्वाचित हुनेछन् ।
उम्मेदवार छनोटका लागि के गरिरहेका छन् दलहरू ?
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुनेछन् । यसको अर्थ प्रदेश सांसद नभएका र स्थानीय तहमा जनप्रतिनिधि नरहेका राजनीतिक दलहरूको आफ्नै उम्मेदवार हुने छैनन् । त्यसो हुँदा गण्डकीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (नेपाली कम्युनिस्ट पार्टी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी (नेपाली कम्युनिष्ट पार्टी) र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)बाट निर्वाचित जनप्रतिनिधि मात्रै गण्डकीमा छन् । राष्ट्रिय सभामा पनि उनीहरूले नै उम्मेदवार उठाउनेछन् ।
नेसपा (नयाँ शक्ति) बाट एक जना मात्रै सांसद भएका कारण उम्मेदवारका लागि चाहिने प्रस्तावक र समर्थकसमेत पुग्दैनन् । राप्रपाको प्रस्तावक र समर्थक पुग्छन् । जनमोर्चासँग पनि त्यो सुविधा रहन्छ, तर यहाँ प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच हुनेछ । अरुले उम्मेदवार उठाउने वा ठुला दलहरूलाई समर्थन गर्ने टुंगो छैन ।
कांग्रेसले २ सिटको राष्ट्रिय सभा निर्वाचनका लागि ५० जनाको नाम केन्द्रमा पठाएको छ । तीमध्ये ४३ जना पुरुष छन् भने ७ जना महिला छन् । धेरैले प्रदेश सभापति शुक्रराज शर्मालाई टिकट दिनुपर्ने आवाज उठाएका छन्, उनको नाम पनि आकांक्षीका रुपमा सिफारिस भएको छ ।
ठुला तीन दल छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा कांग्रेस पहिलो दल हुन सक्ने सम्भावना हुँदा एमाले दोस्रो तथा नेकपा तेस्रो बन्न सक्छ । तर निर्वाचनमा गठबन्धन भए परिणाम कता जान्छ भन्न सकिँदैन ।
कांग्रेसले सिफारिस भएकै नामबाट उम्मेदवारको टुंगो लगाउन सक्छ । ‘नाम सिफारिस गरिएको छ । अब केन्द्रले गर्ने निर्णय बाँकी छ,’ प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने भन्छन्, ‘हामीले जिल्लाबाट आएका सबै नाम केन्द्रमा पठाएका हौँ । हटाउने वा घटाउने निर्णय प्रदेशले गर्न सक्ने अवस्था थिएन ।’
तर पठाइएका नामहरूमा प्रदेशले राय भने दिएको छ । एमालेले कुनै तयारी गरेको देखिँदैन । एमाले प्रदेशका सचिव धनन्जय दवाडीका अनुसार पार्टीले हालसम्म कुनै निर्देशन जारी गरेको छैन । ‘केन्द्रबाट केही निर्देशन आएको छैन । तलबाट सिफारिस नमाग्दासम्म केही भन्ने कुरा भएन,’ उनले भने, ‘केन्द्रले नमागी सिफारिस गर्ने कुरा पनि भएन । हामी अलमलमै छौँ ।’ एमालेले सीधै टिकट थमाएर उम्मेदवार पठाउने सम्भावना पनि अधिक देखिन्छ ।
विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी एकतामा रहेका दलहरूबिच छलफलमै छ । साविक माओवादीको प्रदेश अध्यक्ष गायत्री गुरुङ पार्टीभित्र आन्तरिक छलफल चलिरहेको बताउँछिन् । ‘प्रदेशबाट नाम माग गरेको छ । यहाँबाट सिफारिस गर्ने नाममा सामान्य छलफल भैरहेको छ, तर टुंगिएको छैन,’ उनले भनिन्, ‘जिल्लाबाट नेताहरूसँग पनि हामीले सुझाव लिइरहेका छौँ । दुईवटै क्लस्टरमा ५/५ जनाको नाम पठाउने तयारी छ ।’ केहीदिनभित्रै नामको टुंगो लाग्ने उनले बताइन् ।
कुन दलको के छ हैसियत ?
ठुला तीन दल छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा कांग्रेस पहिलो दल हुन सक्ने सम्भावना हुँदा एमाले दोस्रो तथा नेकपा तेस्रो बन्न सक्छ । तर निर्वाचनमा गठबन्धन भए परिणाम कता जान्छ भन्न सकिँदैन । राष्ट्रिय सभामा सांसद र स्थानीय तहका जनप्रतिनिधिको मतभार फरक हुन्छ । अध्यावधिक विवरण अनुसार प्रदेश सांसदको मतभार ४८ बाट बढेर ५३ पुगेको छ भने स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ बाट बढेर १९ पुगेको छ ।
प्रदेशमा कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४ सय ३१ हुन्छ । स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये कांग्रेसबाट ६७ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २ सय ७३ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेश सभामा १ हजार १ सय ६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३ सय ३० मतभार हुन्छ ।
अहिलेसम्म दलहरू गठबन्धन गर्ने वा एक्लाएक्लै निर्वाचनमा सहभागी हुने कुनै निर्णयमा पुगेका छैनन्, तर हालको गठजोड हेर्दा कांग्रेस र एमालेको गठबन्धनले निरन्तरता पाए अरु दलहरूले गण्डकीबाट राष्ट्रिय सभा सांसद पाउने सम्भावना छैन ।
नेपाली कम्युनिस्ट पार्टीका ७ सांसदको मतभार ३ सय ७१ र स्थानीय तहका ३० जनप्रतिनिधि (एकीकृत समाजवादीको १ समेत) को ५ सय ७० मतभार हुन्छ । पोखरा महानगरका मेयर धनराज आचार्य एकीकृत समाजवादीबाट निर्वाचित प्रदेशका एक्ला जनप्रतिनिधि हुन् ।
यस्तै राष्ट्रिय जनमोर्चासँग ५७ मतभार छ । स्थानीय तहमा ३ वटा पद जनमोर्चाले जितेको थियो । राप्रपासँग १ सय ६ मतभार छ । प्रदेश सभामा २ सांसद राप्रपाको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को ५३ मतभार छ । यहाँ एकजना सांसद नयाँ शक्तिका छन् । समग्रमा हिसाब गर्दा कांग्रेसले २ हजार ७ सय ४ मतभार होल्ड गरेको छ । नेकपा एमालेको २ हजार ४ सय ९६ र नेपाली कम्युनिस्ट पार्टीले ९ सय ४१ मतभार छ ।
प्रतिस्पर्धा गठबन्धन कि एक्लाएक्लै ?
अहिलेसम्म दलहरू गठबन्धन गर्ने वा एक्लाएक्लै निर्वाचनमा सहभागी हुने कुनै निर्णयमा पुगेका छैनन्, तर हालको गठजोड हेर्दा कांग्रेस र एमालेको गठबन्धनले निरन्तरता पाए अरु दलहरूले गण्डकीबाट राष्ट्रिय सभा सांसद पाउने सम्भावना छैन ।
एक्लाएक्लै निर्वाचनमा गए दुवै सिट कांग्रेसले जित्न सक्छ । अहिले रिक्त हुन लागेको सिटमध्ये एउटा नेपाली कम्यनिस्ट पार्टी र अर्को नेकपा एमालेको हो । एमाले र नेकपा मिल्दा मात्रै पुरानो सिट जोगाउन सक्छन् । यहाँ राष्ट्रिय राजनीतिको निर्णयले भूमिका खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण