आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
संवाद

धनगढीका मेयर हमाललाई प्रश्न : तपाईं कुनै दलमा जोडिँदै हुनुहुन्छ ?

बुधबार, ०९ पुस २०८२, १८ : ३१
बुधबार, ०९ पुस २०८२

काठमाडौं । पछिल्लो समय नेपालको राजनीति वैकल्पिक शक्तिहरूबिच ध्रुवीकरणको चर्चाले तातिएको छ । यसमा रास्वपा, उज्यालो नेपाल पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हाल श्रम संस्कृति पार्टी खोलेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबिच एकता वा सहकार्य गरेर जानुपर्ने मत निकै बलियो बनेको छ । यसमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पनि जोडिनुपर्ने चर्चा भइरहेको छ । 

तर आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ राजनीतिक समीकरणका बहसहरू भइरहँदा धनगढीका मेयर हमाल भने चुपचाप आफ्नै काममा व्यस्त छन् । 

स्वतन्त्र रुपमा निर्वाचन लडेर मेयरमा विजयी भएका हमाल त्यसअघि विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक थिए । तर उनले पार्टी छोडेको घोषणा गरिसकेका छन् । अहिले विवेकशील साझा पार्टी रास्वपामा एकीकृत भइसकेको छ । यद्यपि हमाल भने कतै खुलेका छैनन् । उनलाई फकाउन रास्वपाका स्थानीय नेताहरु लागेको पनि देखिन्छ । उनको राजनीतिक कदम कता हुन्छ भन्नेमा उच्च चासो देखिन्छ । 

के हमाल वैकल्पिक भनिएका शक्तिहरूको ध्रुवीकरणमा सामेल होलान् ? यसै विषयमा केन्द्रित रहेर मेयर हमालसँग रातोपाटीले गरेको संवादको सम्पादित अंश : 

पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरू एक हुने चर्चा निकै चुलिएको छ । यसमा तपाईंको पनि नाम जोडिएर आउने गरेको छ, तपाईंको तयारी के छ ?

मेरोबारेमा भइरहेका विभिन्न अड्कलबाजीहरूका सम्बन्धमा म प्रष्ट पार्न चाहन्छु । धनगढीका नगरबासीले मलाई पाँच वर्षका लागि एउटा महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । मेरो सम्पूर्ण ध्यान अहिले त्यही जिम्मेवारी पूरा गर्नमै केन्द्रित छ । आफ्नो कार्यकाल नसकिँदासम्म अन्य कुनै पनि राजनीतिक दौडधुपमा लाग्ने मेरो कुनै सोच छैन ।

विभिन्न राजनीतिक टोलीहरूसँग तपाईंको भेटघाट भइरहेका तस्बिरहरू त सामाजिक सञ्जालमा देखिइरहन्छन् नि ?

कतिपय साथीहरू मलाई भेट्न आउनुहुन्छ, शिष्टाचार भेट हुन्छ । भेटका क्रममा फोटोहरू खिचिन्छन् र उहाँहरूले सामाजिक सञ्जालमा हाल्नुहुन्छ । कतिपय अवस्थामा त्यही फोटोलाई आधार बनाएर समाचारहरू पनि बन्ने गरेका छन् । तर मेरो ‘स्ट्यान्ड’ एकदम प्रष्ट छ- म अहिले केवल जनताको काममा केन्द्रित छु । भेटघाटलाई नै राजनीतिक संलग्नताको रूपमा बुझ्नु हुँदैन ।

त्यसो भए अहिले नै कुनै नयाँ दल खोल्ने वा कुनै अभियानको नेतृत्व गर्ने तपाईंको योजना छैन ?

अहिल्यै त्यस्तो कुनै योजना छैन । मेरो मुख्य प्राथमिकता भनेकै धनगढीको विकास र नगरबासीको सेवा हो । पाँच वर्षका लागि जनताबाट पाएको म्यान्डेट (जनादेश) लाई म कति पनि तलमाथि हुन दिन्नँ । मेरो ध्यान अहिलेको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुमा मात्रै छ ।

त्यसो भए बाँकी कार्यकालभरि दलीय राजनीतिमा नलाग्ने भन्ने हो ?

म कुनै पनि किसिमको राजनीतिक गतिविधिमा लाग्दिनँ । मेरो प्रतिबद्धता सुशासन र विकासका लागि हो । आफ्नो बाँकी कार्यकालभरि म सुशासन कायम गर्न र विकास निर्माणका कामलाई गति दिनमै समय खर्चिनेछु । मलाई विश्वास गरेर जिताउने नगरबासीको शिर झुक्न दिने छैन ।

तपाईंको स्वास्थ्यमा केही समस्या रहेको सुनिन्छ, अहिले काम गर्न कति सहज भइरहेको छ ? 

स्वास्थ्यमा केही समस्या त छ, तर म नियमित रूपमा काममा खटिरहेको छु । स्वास्थ्य अवस्थाले मेरो कार्यसम्पादनमा बाधा पुर्‍याएको छैन । म नगरबासीको सेवामा उत्तिकै सक्रिय छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप