शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

गम्भीर नै रहनेछन् भारतको टेस्ट प्रशिक्षक, लक्ष्मणको चर्चा ‘निराधार’ : बीसीसीआई

आइतबार, १३ पुस २०८२, १७ : ०३
आइतबार, १३ पुस २०८२

सारांश

  • बीसीसीआईले गौतम गम्भीरलाई टेस्ट प्रशिक्षकबाट हटाउने हल्लाको खण्डन गरेको छ।
  • भारतले घरेलु मैदानमा दक्षिण अफ्रिका र न्युजिल्यान्डसँग टेस्ट शृङ्खला गुमाएपछि गम्भीरको आलोचना भएको थियो।
  • गम्भीर मुख्य प्रशिक्षकको रूपमा रहने र भारतको ध्यान अब टी-२० विश्वकपमा केन्द्रित छ।

मुम्बई । भारतीय क्रिकेट टोलीको टेस्ट प्रशिक्षक परिवर्तन हुने भनी चलेका चर्चालाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पूर्ण रूपमा खण्डन गरेको छ।  बीसीसीआई सचिव देवजित सैकियाले गौतम गम्भीरको स्थानमा भीभीएस लक्ष्मणलाई टेस्ट प्रशिक्षक बनाउन लागिएको भन्ने खबरहरू तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेका हुन्। 

सैकियाका अनुसार बोर्डले टेस्ट टोलीको नेतृत्व तहमा तत्काल कुनै पनि फेरबदल गर्ने निर्णय गरेको छैन र गम्भीर नै मुख्य प्रशिक्षकको रूपमा निरन्तर रहनेछन्। पछिल्लो समय भारतले घरेलु मैदानमै दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खला २–० ले र न्युजिल्यान्डविरुद्धको शृङ्खला ३–० ले गुमाएपछि गम्भीरको आलोचना भइरहेको छ।

यही खराब प्रदर्शनका कारण लक्ष्मणलाई टेस्ट टोलीको जिम्मेवारी सुम्पिन लागिएको दाबी कतिपय सञ्चारमाध्यमले गरेका थिए। तर, बीसीसीआईले ती रिपोर्टहरूलाई कल्पनामा आधारित मात्र भएको बताएको छ। गम्भीरको कार्यकालमा भारतले हालसम्म १७ टेस्टमध्ये ७ मा जित, १० मा हार र २ खेल बराबरी खेलेको छ।

टेस्ट क्रिकेटमा केही चुनौती देखिए पनि सीमित ओभरको क्रिकेटमा भने गम्भीरको प्रशिक्षणमा भारतले सानदार सफलता हात पारेको छ। उनकै नेतृत्वमा भारतले कुनै पनि खेल नहारी आईसीसी च्याम्पियन्स ट्रफी र एसिया कप टी२० को उपाधि जितेको छ। 

भारतीय टोलीको अबको मुख्य ध्यान आगामी टी–२० विश्वकपमा केन्द्रित छ, जहाँ सूर्यकुमार यादवको कप्तानीमा भारतले आफ्नो उपाधि रक्षा गर्ने प्रयास गर्नेछ। विश्वकपको पहिलो खेल फेब्रुअरी ७ मा मुम्बईमा अमेरिकाविरुद्ध हुने तय भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप