शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाँके घटनाका दोषीलाई कारबाही गर्न गठबन्धनको माग

शनिबार, २६ पुस २०८२, १८ : २७
शनिबार, २६ पुस २०८२

काठमाडौँ । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको नृत्वमा रहेको संघीय लोकतान्त्तिक गठबन्धनले १६ वर्षीया किशोरीमाथि भएको बलात्कारको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । 

बाँके जिल्ला डुडुवा गाउँपालिका–४ कक्षा ९ मा अध्ययनरत १६ वर्षीया किशोरीको अपहरण तथा सामूहिक बलात्कारको घटनाप्रति देशभर विरोध भइरहेको छ । गठबन्धनले आज एक प्रेस नोट जारी गरी सामूहिक बलात्कार र अपहरण गरेको आरोप लागेका सद्दाम खान, मैनुदिन खान, समीर खान, फिरोज खान र साहिद खानलाई कारबाही गर्न भनेको हो । 

'यो घटना केबल एक बालिकामाथि गरिएको अपराध मात्र नभई संविधान, कानुनको शासन, न्याय प्रणाली र लोकतान्त्रिक मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण हो' गठबन्धनले भनेको छ । गठबन्धनले अपराधीको कुनै जात, धर्म, समुदाय वा राजनीतिक पहिचान नहुने स्पष्ट गर्दै अपराधलाई केवल अपराधकै रूपमा हेर्नुपर्नेमा जोड दिएको छ ।

घटनाको निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न गठबन्धनले पाँचबुँदे माग अघि सारेको छ । मागअनुसार सबै आरोपितलाई तत्काल पक्राउ गरी निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न, दोषी ठहरिएमा कडा कानुनी सजाय सुनिश्चित गर्न, पीडित बालिका र उनको परिवारलाई पूर्ण सुरक्षा, निःशुल्क कानुनी सहायता, स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ । 

महिला, बालअधिकार, दलित तथा मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई घटनाप्रति सक्रिय निगरानी र हस्तक्षेप गरी न्यायका लागि दबाब सिर्जना गर्न आह्वान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप