आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

१४औं नेपाल अफ्रिका फिल्म फेष्टिभल: ‘अञ्जिला’ उत्कृष्ट फिल्म, नीर शाह र सुरक्षा पन्त उत्कृष्ट कलाकार

मङ्गलबार, ०६ माघ २०८२, २० : ०२
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • काठमाडौंमा आयोजित १४औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘अञ्जिला’ ले उत्कृष्ट फिल्मसहित ४ विधामा अवार्ड जित्यो।
  • वरिष्ठ अभिनेता नीर शाह र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भए भने ‘कोशेढुङ्गा’ ले स्पेशल मेन्सन अवार्ड प्राप्त गर्यो।
  • महोत्सवमा नेपालसहित २० देशका चलचित्र सहभागी थिए, जसमा स्वदेशी र विदेशी गरी कुल ४३ फिल्म प्रदर्शन गरिएका थिए।

काठमाडौँ । राजधानीमा आयोजित १४औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिभलमा चलचित्र ‘अञ्जिला’ले उत्कृष्ट फिल्मसहित ४ विधामा अवार्ड प्राप्त गरेको छ। महोत्सवको ‘नेपाल पानारोमा’ विधाअन्तर्गत प्रतिस्पर्धामा रहेको यस फिल्मबाट मिलन चाम्सले उत्कृष्ट निर्देशक, मञ्जु श्रेष्ठले उत्कृष्ट सह-अभिनेत्री र थानेश्वर गौतमले फिल्मको गीत ‘रात किन हुन्छ’ बाट उत्कृष्ट संगीतकारको अवार्ड हात पारेका हुन्।

फेष्टिभलमा वरिष्ठ अभिनेता नीर शाह र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भए। चलचित्र विकास बोर्डको सहकार्य तथा कलेज अफ मास कम्युनिकेशन र विलक्षण क्रिएसनको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा शाहले चलचित्र ‘परान’ र पन्तले ‘कोशेढुङ्गा’ बाट अवार्ड प्राप्त गरेका हुन्।

यसैगरी, फिल्म ‘कोशेढुङ्गा’ ले स्पेशल मेन्सन अवार्ड प्राप्त गर्दा सोही फिल्मबाट आर्यन सिग्देलले सह-अभिनेता र मञ्जिल कुमारले नव-अभिनेताको अवार्ड जिते। फिल्म ‘परान’ ले जुरी अवार्ड (चलचित्र) प्राप्त गर्‍यो भने यसका निर्देशक दीपक प्रसाद आचार्य (काकु) नव-निर्देशक घोषित भए। समग्रमा ‘कोशेढुङ्गा’ ले ४ र ‘परान’ ले ३ विधामा सफलता हासिल गरे।

फेष्टिभलमा नेशनल पानारोमातर्फ २० र इन्टरनेशनल पानारोमातर्फ ६ गरी कुल २६ विधामा अवार्ड प्रदान गरिएको थियो। नेपालसहित २० देशका चलचित्र सहभागी यस महोत्सवमा स्वदेशी २० र विदेशी २३ गरी कुल ४३ वटा फिचर, सर्ट र डकुमेन्ट्री फिल्म प्रदर्शन गरिएका थिए।

अन्य अवार्डहरूमा ‘यो मन त मेरो नेपाली हो’ बाट रोशन श्रेष्ठले स्पेशल मेन्सन अवार्ड (अभिनेता) र ‘माग्ने राजा’ को गीत ‘त्यो मिठो जोवन’ बाट सविन सुवेदीले उत्कृष्ट गायनको अवार्ड जिते। आदिवासी फिल्म विधामा ‘नाम ओती’ ले उत्कृष्ट फिल्मसहित ३ अवार्ड पायो, जसमा दिलीप फुरुम्बो उत्कृष्ट निर्देशक र पूर्ण बहादुर लिम्बुले स्पेशल मेन्सन अवार्ड (नायक) प्राप्त गरे। सोही विधामा ‘सेमेक्वां’ बाट रुद्र पाहिम उत्कृष्ट नायक घोषित भए।

छोटो फिल्मतर्फ ‘भुवा’ बाट सौगात विष्टले उत्कृष्ट फिल्म र गजित विष्टले उत्कृष्ट अभिनेताको अवार्ड जिते। यस्तै, ‘अन्तर्वार्ता’ बाट प्रसन्न मालीले उत्कृष्ट विद्यार्थी फिल्म र ‘अरिंगाल म्यान’ बाट भीमलाल श्रेष्ठले उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड प्राप्त गरे।

स्वदेशी फिल्मको निर्णायक मण्डलमा निर्माता संघका अध्यक्ष उदय सुब्बा, सेन्सर बोर्ड सदस्य भीमा मैनाली, रामराजा दाहाल, रोशनी केसी र सरिता भारती रहेका थिए। समारोहमा बाल कलाकार अप्रिसा भुसाल र रमेश खड्कालाई अनरेवल मेन्सन प्रदान गरियो।

अन्तर्राष्ट्रिय विधामा इजिप्टको ‘द मङ्की’ ले बेष्ट अफ्रिकन फिल्म, बंगलादेशको ‘मेमोरिज अफ ग्लोमी मनसुन’ ले बेष्ट इन्टरनेशनल फिचर र भारतको ‘ब्ल्यू’ ले बेष्ट इन्टरनेशनल सर्ट फिल्मको अवार्ड जिते। युक्रेनको ‘नट सिड्यूल्ड अर फाइटिङ टु लर्न’ ले उत्कृष्ट डकुमेन्ट्री र बंगलादेशको ‘लेटर अफ द फलेन लिभ्स’ ले बेष्ट फिमेल फिल्म अवार्ड प्राप्त गरे। अन्तर्राष्ट्रिय निर्णायकमा सुपिन बर्मन (बंगलादेश), क्याथेरिन सोफियानेश (दक्षिण अफ्रिका) र राजु केसी (नेपाल) थिए। महोत्सवमा ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सिनेमा, नेचर एण्ड कल्चर’ भावमा फोटो प्रदर्शनी समेत गरिएको जानकारी निर्देशक डब्बु क्षेत्रीले दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप