बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बागमतीमा ७१९ उम्मेदवार : हेभिवेटविरुद्ध नयाँ उम्मेदवार मैदानमा

बुधबार, ०७ माघ २०८२, २२ : ०४
बुधबार, ०७ माघ २०८२

सारांश

  • बागमती प्रदेशका १३ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७१९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
  • काठमाडौं क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेल र प्रदीप पौडेलबीच प्रतिस्पर्धा हुनेछ भने चितवनमा रवि लामिछाने, मीना खरेल र अस्मिन घिमिरे चुनावी मैदानमा छन्।
  • विभिन्न क्षेत्रमा हेभिवेट नेता, नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

हेटौँडा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा उम्मेदवारी दर्ता भएका छन् । प्रदेशभर ३३ निर्वाचन क्षेत्रमा ७१९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

काठमाडौँका १० निर्वाचन क्षेत्रमा २२७ उम्मेदवार छन् भने ३ क्षेत्र रहेको चितवनमा ७३, ललितपुरका ३ क्षेत्रमा ६६ उम्मेदवार छन् । २ क्षेत्र रहेका जिल्ला भक्तपुरमा ५७, धादिङमा ४८, काभ्रेमा ४६, मकवानपुरमा ४५, नुवाकोटमा ३१, सिन्धुलीमा २८, सिन्धुपाल्चोकमा ३६, दोलखामा ३३, रामेछापमा १७ र रसुवामा १२ उम्मेदवार आपसमा भिड्ने भएका छन् । 

प्रदेशका हेभिवेट नेताहरूदेखि नयाँ तथा वैकल्पिक दल र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएसँगै चुनावी सरगर्मी बढेको छ । विशेषगी बागमती प्रदेशको काठमाडौँ, चितवन लगायतका जिल्लामा कडा प्रतिस्पर्धा निश्चित छ । 

देशको राजधानीसमेत रहेको काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रमुख दलहरूबिच कडा प्रतिस्पर्धा देखिएको छ । काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेल बिचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । काठमाडौँका अधिकांश क्षेत्रमा वैकल्पिक पार्टीको रूपमा रहेको रास्वपाका उम्मेदवारले पुराना दलका नेताहरूलाई चुनौती थपेको छ । राप्रपाका कमल थापा, रास्वपाका स्मित पोखरेलबिचको प्रतिस्पर्धा पनि कडा हुने पक्का छ ।

काठमाडौँ–४ मा नेपाली कांग्रेसले नयाँ उम्मेदवार खडा गरेको छ । कांग्रेस सभापति गगन कुमार थापा चुनाव लड्दै आएको सो क्षेत्रमा कांग्रेसका तर्फबाट सचिन तिमल्सेना र रास्वपाका पुकार बम तथा एमालेका राजन भट्टराई र राप्रपाका सुरेन्द्र राज भण्डारी चुनावी मैदानमा छन् । 

चितवनमा लामिछाने, अस्मिन र खरेल मैदानमा

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ लामिछानेविरुद्ध कांग्रेसका मीना खरेल र एमालेका अस्मिन घिमिरे पनि छन् । साथै नेकपाका प्रताप तामाङ पनि यहाँ सशक्त उम्मेदवार हुन् ।

यता चितवन–३ मा एमालेका शंकरराज थपलिया र कांग्रेसका टेक प्रसाद गुरुङ चुनावी दौडमा छन् भने यस क्षेत्रमा नेकपाकी उम्मेदवार रेणु दाहाल र रास्वपाकी सोविता गौतमको प्रतिस्पर्धा निर्णायक हुने मानिएको छ । राप्रपाका विक्रम पाण्डे यस क्षेत्रका अर्का बलिया उम्मेदवार हुन् ।

नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेस नेता डा. प्रकाशशरण महत र एमालेका बद्री मैनालीबिच प्रतिस्पर्धा हुने भएको छ भने धादिङमा पनि एमालेका भूमि प्रसाद त्रिपाठी र कांग्रेसका राम बहादुर भण्डारी तथा नेकपाका राजेन्द्र पाण्डे र रास्वपाकी आशिका तामाङ लगायतको प्रतिस्पर्धा रोचक हुने निश्चित छ ।

मकवानपुर–१ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चुनावी मैदानमा छिन् । उनीविरुद्ध राप्रपाका दीपक बहादुर सिंह, एमालेका रामेश्वर राना र नेकपाका विजय गौतम प्रतिस्पर्धामा छन् ।

ललितपुर–३ मा रास्वपाबाट डा. तोसिमा कार्की र नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठबिच प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर–१ मा कांग्रेसका उदय शमशेर राणाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । उनीविरुद्ध एमालेका चेतनाथ सञ्जेल उम्मेदवार छन् ।

सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, नेकपाका युवराज दुलाल र जंग बहादुर लामाबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । काभ्रेमा एमालेका अशोक कुमार ब्याञ्जु श्रेष्ठ, नेकपाका बसुन्धारा हुमागाई र कांग्रेसका मधु प्रसाद आचार्य चुनावी मैदानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप