बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मादीले ल्यायो ६५ करोडको बजेट, गुन्द्रुकको ब्रान्डिङ गर्ने

बुधबार, १० असार २०८३, १७ : २६
बुधबार, १० असार २०८३

सारांश

  • कास्कीको मादी गाउँपालिकाले रैथाने पहिचान बोकेको गुन्द्रुकको उत्पादन, गुणस्तर सुधार र बजारीकरणका लागि विशेष जोड दिँदै यसको ब्रान्डिङ गर्ने भएको छ ।
  • मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ६५ करोड १२ लाखको बजेट प्रस्तुत गरेको छ, जसमा चालूतर्फ ४६ करोड ९७ लाख र पूँजीगततर्फ १८ करोड १४ लाख विनियोजन गरिएको छ ।
  • गाउँपालिकाले भौतिक पूर्वाधार विकास, ग्रामीण सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि तथा दीर्घ रोगीलाई मासिक ५ हजार औषधि उपचार खर्च र सट्टा शिक्षक व्यवस्थापन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

पोखरा । कास्कीको मादी गाउँपालिकाले रैथाने पहिचानका रूपमा रहेको गुन्द्रुकको ब्राण्डिङ गर्ने भएको छ । यसको उत्पादन, गुणस्तर सुधार र बजारीकरणका लागि गाउँपालिकाले विशेष जोड दिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पालिकाले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरी आयआर्जन बढाउने लक्ष्य राखेको हो ।

मादीले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ६५ करोड १२ लाखको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष कल्पना गुरुङले चालूतर्फ ४६ करोड ९७ लाख र पूँजीगतमा १८ करोड १४ लाखको बजेट प्रस्तुत गरिन् । मादीले आगामी वर्षपनि भौतिक पूर्वाधार विकासलाई प्रमुख आधार मानेको छ । ग्रामीण सडकको स्तरोन्नति, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिलाई प्राथमिकतामा राखिएको छ ।

यस्तै, लामो समयदेखि कडा रोगका कारण औषधि सेवन गरिरहेका गाउँपालिका भित्रका दीर्घ रोगीहरूका लागि औषधी उपचार खर्च स्वरूप मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।

सामुदायिक विद्यालयहरूमा महिला शिक्षकहरू सुत्केरी बिदामा रहँदा पठनपाठन प्रभावित हुने समस्यालाई समाधान गर्न गाउँपालिकाको आन्तरिक स्रोतबाट सट्टा शिक्षक व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ भण्डारीले बताए ।

गाउँपालिकाको बजेट संघ र प्रदेशकै अनुदानमा निर्भर छ । संघीय समानीकरण अनुदानबाट १० करोड २६ लाख, ससर्त अनुदानबाट २८ करोड २९ लाख प्राप्त हुने अनुमान छ । 
यस्तै,प्रदेश समानीकरण अनुदानबाट १ करोड ११ लाख ९९ हजार र गाउँपालिकाको आन्तरिक आयबाट १ करोड ११ लाख ९६ हजार ४ सय २४ रुपैयाँ संकलन हुने अनुमान गरिएको अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप