बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बुटवल –२

जितिरहेका पौडेलका चार मुख्य प्रतिस्पर्धी : युवा र नयाँले घेरिए

बिहीबार, ०८ माघ २०८२, १७ : १२
बिहीबार, ०८ माघ २०८२

सारांश

  • रुपन्देहीमा नेकपा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल नयाँ र युवा उम्मेदवारहरूबाट घेरिएका छन्, जसले उनलाई चुनौती थपेको छ।
  • विभिन्न पार्टीबाट युवा, अधिवक्ता, चिकित्सक र सफल उद्योगीहरू मैदानमा उत्रिएका छन्, जसले चारपक्षीय प्रतिस्पर्धाको संकेत गर्छ।
  • विष्णु प्रसाद पौडेललाई रास्वपाबाट सुलभ खरेल, नेकपाबाट विश्वदीप पाण्डेय र नेपाली कांग्रेसबाट चुन्नु पौडेलले प्रतिस्पर्धा दिनेछन्।

बुटवल । २०६४ सालदेखि रुपन्देहीमा लगातार जित निकाल्दै आएका नेकपा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल अहिले नयाँ र युवा उम्मेदवारहरूबाट घेरिएका छन् । विभिन्न क्षेत्रमा दक्खल राख्ने युवा उम्मेदवारहरूलाई अन्य पार्टीले खडा गरेपछि पौडेललाई चुनौती थपिएको छ । युवा, अधिवक्ता, चिकित्सकदेखि सफल उद्योगीहरूसमेत मैदानमा रहेकाले अहिले यहाँ चारपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ जाने तयारी गरेका पूर्वअर्थमन्त्री पौडेलले पाल्पा जाँदा पार्टीभित्रको असन्तुष्टि र रुपन्देहीमा ‘बलिया’ उम्मेदवार देखेनन्, अन्ततः पुरानै किल्लामा फर्किएका उम्मेदवारी दर्ता गरेर भेटघाटमा हिँडेका कार्यकर्ताहरू बताउँछन् ।

२०५६ सालमा तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका पौडेललाई त्यसबेला नेपाली का्रंग्रेसका नेता सूर्य प्रसाद प्रधानले पराजित गरेका थिए, त्यसपछि २०६४ सालयता भने हरेका निर्वाचनमा उनले विजयको स्वाद चाखिरहेका छन् । 

२०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलसँग कडा प्रतिस्पर्धा भएपछि पौडेल यो क्षेत्रमा संशकित बनेका एमालेका कार्यकर्ताहरूको बुझाइ छ । रास्वपाका गणेशले २५ हजार ७८१ मत पाएका थिए भने विष्णुले २७ हजार १४७ मत प्राप्त गरेका थिए । लगातार जित्दै आएको क्षेत्रमा करिब १२ सय मत मात्रै अन्तर पर्नु विष्णुका लागि निराशाजनक थियो । यो विषय समीक्षा गर्नुपर्ने बुटवलमा एमालेको एक सार्वजनिक कार्यक्रममा पौडेल आफैँले भनेका थिए ।  

पौडेललाई टक्कर दिने कस्ता छन् उम्मेदवार ?

पौडेललाई अहिले चुनौती दिन रास्वपाले सुलभ खरेललाई मैदानमा उतारेको छ । युवा खरेल कानुन जानेका उम्मेदवार हुन् । उनले आफ्नै पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुरुमा हेरेका थिए । रास्वपाले यहाँ इन्जिनियर आशीष सुवेदीलाई भन्दा विदेशमा समेत कानुन अध्ययन गरेका प्रस्ट वक्ता भएकाले खरेललाई मैदानमा पठाएको छ । प्रतिनिधि सभामा इन्जिनियरभन्दा कानुनका ज्ञाता धेरै आवश्यक हुने भएकाले संविधान बुझेको युवा नेतालाई पौडेलको प्रतिस्पर्धामा पठाइएको रास्वपा नेता मधु प्रकाश अर्याल बताउँछन् । यसअघि (२०७९) मै रास्वपाका उम्मेदवारले पौडेललाई झन्डै हराएको स्मरण गर्दै अहिले झनै क्षमतावान् नेता आएकाले जित्नेमा ढुक्क रहेको दाबी गरे । 

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि युवा उम्मेदवार विश्वदीप पाण्डेयलाई मैदानमा उतारेको छ । जनयुद्धकालदेखि माओवादीमा सक्रिय ३९ वर्षीय पाण्डेय हाल नेकपा केन्द्रीय सदस्य, पार्टीको प्रचार विभाग सदस्य र सामाजिक सञ्जाल विभाग प्रमुखका रूपमा छन् । 

रुपन्देहीको सैनामैना निवासी पाण्डेयलाई युवाहरूको आशालाग्दा नेताका रूपमा पार्टीभित्र र बाहिर हेर्ने गरिन्छ । विश्वदीपका बुवा तत्कालीन माओवादी नेता स्वर्गीय भक्ति पाण्डे २०६४ को निर्वाचनमा  विष्णुसँग थोरै मतले पराजित भएका थिए । त्यसबेला विष्णु पहिलो, भक्ति दोस्रो र नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधान तेस्रो भएका थिए । अहिले विश्वदीपलाई बुबाको लिगेसी र केही नेताहरूको साथ छ । पाण्डेयले आफ्नो निर्वाचनको यो पहिलो अनुभव भए पनि पार्टीका जिम्मेवार नेताहरूको सचिवालयसमेत बसेर लामो समय काम गरेको अनुभव र स्थानीय साथीभाइहरूको समर्थनमा निर्वाचनमा खटिएको बताएका छन् । 

यो क्षेत्रमा अर्का युवा उम्मेदवार कलम भुसाल (निकोलस) पनि प्रतिस्पर्धामा छन् । चिकित्सक अध्ययन गरेका भुसालले पछिल्ला समय सामाजिक अभियन्ताका रूपमा परिचय बनाएका छन् । यसअघिको निर्वाचनमा पनि उनले यहाँ उम्मेदवारी दिएका थिए, यद्यपि उनको उम्मेदवारी खारेज भएको थियो । नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेका निकोलस अहिले सबै तरिकाबाट परिपक्व भएर मैदानमा आएको दाबी गर्छन् । उनले वर्षौंदेखि यस क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरसमेत चलाउँदै आएका थिए । 

यो पटक रुपन्देही–२ मा चौपक्षीय प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । एमाले उपाध्यक्ष पौडेल, कांग्रेसबाट चुन्नु पौडेल, नेकपाका पाण्डेय र रास्वपाका खरेल मुख्य प्रतिस्पर्धी हुन् । लगातार जितेका विष्णुलाई अहिले कांग्रेसबाट युवा उम्मेदवारको अभावमा सफल उद्योगी चुन्नुसँग उस्तै सामना गर्नुपर्नेछ । कांग्रेसले अहिले नयाँ अनुहारका रूपमा पौडेललाई मैदानमा उतारेको छ । बुटवलमा सफल उद्योगीका रूपमा नाम कमाएका चुन्नु निर्वाचनको मैदानमा पुगेपछि पार्टीको मतसँगै बुटवलको बजारको मत पनि कांग्रेसको पक्षमा आउने आकलन एक पक्षको छ । अर्कोतर्फ, एउटै उम्मेदवारलाई पटक–पटक मत दिनुभन्दा नयाँ अनुहारले जित निकाल्ने पनि उनीहरूलाई लागेको छ । 

यता, विष्णुले आफूले रुपन्देहीको विकासका लागि महत्त्वपूर्ण योगदान गरेको र अझै यहाँको विकास गर्न आफ्नो आवश्यकता रहेको बताएका छन् । उनले रुपन्देही छाडेर अन्यत्र जाने मनसाय नभएको उल्लेख गर्दै हिजो सुरु भएका विकास आयोजना पूरा गर्न र अझै थप विकासका लागि आफू निरन्तर खटिरहने बताए । 

विष्णुले २०६४ सालदेखि यहाँ लगातार जित्नुमा एमालेको बलियो संगठन भएको क्षेत्र हुनु एक कारण हो । २०७० सालमा यस क्षेत्रबाट तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पराजित गरेर पौडेलले आफ्नो उचाइ बढाएका थिए । 

अहिले कांग्रेसका चुन्नु, रास्वपाका अधिवक्ता खरेल, नेकपाका युवानेता विश्वदीप, यस्तै अभियन्तासमेत रहेका डा. निकोलससँगको प्रतिस्पर्धामा विष्णुले बाजी मार्छन् या हार्छन्, यसमा उनको थप राजनीतिक उचाइ बढ्ने वा घट्ने निर्भर हुन्छ । रुपन्देही–२ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ सम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडा पर्छन् । यहाँ १ लाख ३५ हजार ५० मतदाता छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप