आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बेलायती विश्वविद्यालयमा कार्यकारी डिन बने प्राध्यापक सिम्खडा

शनिबार, १७ माघ २०८२, ०६ : ५७
शनिबार, १७ माघ २०८२

सारांश

  • डा. पदम सिम्खडा बेलायतको चेस्टर विश्वविद्यालयको कार्यकारी डिनमा नियुक्त भएका छन्।
  • उनी बेलायतको विश्वविद्यालयमा कार्यकारी डिनको जिम्मेवारी पाउने पहिलो नेपाली हुन्।
  • सिम्खडाले चेस्टर विश्वविद्यालयमा क्रस युनिभर्सिटी हेर्ने डिन अफ ग्लोबल इम्प्याक्ट एण्ड रिसर्चको जिम्मेवारी पाएका छन्।

लन्डन । बेलायतमा प्राध्यापन गरिरहेका एकजना नेपाली बुद्धिजीवी बेलायती विश्वविद्यालयको कार्यकारी डिन नियुक्त भएका छन्। 

धादिङ स्थायी घर भएका प्राध्यापक डा. पदम सिम्खडा चेस्टर विश्वविद्यालयमा कार्यकारी डिन पदमा नियुक्त भएका हुन्। अब उनी चेस्टर विश्वविद्यालयको सम्पूर्ण शैक्षिक र प्रशासनिक जिम्मेवारी सम्हाल्ने वरिष्ठ व्यवस्थापन टोलीको एक प्रमुख सदस्य बनेका छन्। विदेशमा रहेका नेपालीमध्ये उनी बेलायतको विश्वविद्यालयमा कार्यकारी डिनको जिम्मेवारी पाउने सम्भवतः पहिलो व्यक्ति हुन्।

यसअघि हडर्सफिल्ड युनिभर्सिटीमा हेल्थ फ्याकल्टीको मात्र डिन भएका सिम्खडाले चेस्टर विश्वविद्यालयमा क्रस युनिभर्सिटी हेर्ने डिन अफ ग्लोबल इम्प्याक्ट एण्ड रिसर्चको जिम्मेवारी पाएका छन् । 

'विश्वका विभिन्न विद्यालयमा कसरी कोल्याबोरेशन गर्ने, रिसर्च कोर्स कसरी इन्हान्स गर्ने, विभिन्न देशमा कसरी शाखा विस्तार र कसरी अरु विश्वविद्यालयसंग मिलेर काम गर्ने भन्ने जिम्मेवारी मेरो काँधमा आएको छ', सिम्खडाले भने । 

प्राध्यापक सिम्खडाले युनिभर्सिटीको सिनियर म्यानेजमेन्ट टिमको पोष्ट ग्रहण गर्न पाउनु ठुलो उपलब्धि भएको जनाए । 

उनी बेलायत सरकारको तर्फबाट बेलायती युनिभर्सिटीमा भएको रिसर्चको मूल्याङ्कन गर्ने कमिटीमा पनि छन् । सो कमिटीलाई रिसर्चहरू छानबिन गरेर २०२९ सम्म प्रतिवेदन दिनुपर्ने जिम्मेवारी छ । 

धादिङको एउटा दुर्गम गाउँ हाल गङ्गा जमुनामा जन्मिएका पदम सिम्खडाले प्रस्तावित सरकारी हाइस्कुलबाट आफ्नो प्रारम्भिक शिक्षा प्राप्त गरे। विद्यालय जान थालेदेखि नै उनले पढ्न बस्ने कोठासमेत नभएको अवस्था झेल्नुपरेको थियो। तर, यी कठिनाइहरूले उनको सपनालाई रोक्न सकेनन्। निरन्तरको सङ्घर्ष र मिहिनेतले उनलाई एक प्रेरणादायी व्यक्तित्व बनायो।

धादिङमा पढ्दा पढ्दै उनी उच्च शिक्षाका लागि काठमाडौँ आए र अध्ययन र जागिरलाई एकसाथ अघि बढाउँदै प्रमाणपत्र तहदेखि स्नातक तहसम्मको अध्ययन पूरा गरे। अध्ययनको दायरालाई अझ फराकिलो बनाउने उद्देश्यले उनी सन् १९९८ मा बेलायत आए मास्टर्स गर्न । १९९९ मा मास्टर्स गरेपछि उनले सन् १९९९ देखि २००२ सम्म साउथह्याम्प्टन विश्वविद्यालयबाट पीएचडी पूरा गरे।

पीएचडीपछि सिम्खडाले सन् २००५ देखि २०१० सम्म विभिन्न शैक्षिक संस्थामा प्रोग्राम कोअर्डिनेटर र कोर्स कोअर्डिनेटरको रूपमा काम गर्दै शैक्षिक नेतृत्वको अनुभव हासिल गरे। 

एबरडिन विश्वविद्यालयमा रहँदा उनका झण्डै १२० जना विद्यार्थीले पब्लिक हेल्थमा मास्टर्स र केहीले पिएचडी गरे । 

सन् २०१० को अन्त्यदेखि उनले सेफिल्ड विश्वविद्यालयमा वरिष्ठ प्राध्यापकको रूपमा लगभग चार वर्ष काम गरे। त्यसपछि ०१४ मा लिभरपुल जोन मूर्स विश्वविद्यालयमा प्राध्यापक भएर करिब पाँच वर्षसम्म अध्यापन र शैक्षिक नेतृत्वको महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

उनको नेतृत्व क्षमतालाई सम्मान गर्दै सन् २०१९ को अन्त्यमा हडर्सफिल्ड विश्वविद्यालयले उनलाई एसोसिएट डिनको जिम्मेवारी दियो। यही अनुभव र योगदानका कारण उनी अहिले कार्यकारी डिनको भूमिका पाउन सफल भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप