बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

फ्यूल कन्ट्रोल स्वीचमा समस्या देखिएपछि एयर इन्डियाको बोइङ जेट ग्राउन्डेड

मङ्गलबार, २० माघ २०८२, १५ : ०७
मङ्गलबार, २० माघ २०८२

काठमाडौँ । भारतीय हवाई सेवा प्रदायक कम्पनी एयर इन्डियाले बोइङ ७८७–८ ड्रिमलाइनर जहाजलाई ग्राउन्डेड गरेको छ । 

पाइलटले विमानको इन्धन नियन्त्रण स्विचमा सम्भावित खराबीको सङ्केत गरेपछि विमानलाई ग्राउन्डेड गरिएको हो । 

पाइलटको चिन्तामाथि प्राथमिकताका साथ जाँच भइरहेको कम्पनीले एउटा विज्ञप्तिमा भारतको नागरिक उड्डयन नियामकलाई सूचित गर्दै जानकारी दिएको छ ।

बोइङका प्रवक्ता एयर इन्डियासँग समन्वयमा रहेको र यस मामिलाको समीक्षा गर्न सहयोग गरिरहेको बताए । 

यो कदम गत वर्षको जेठमा भएको उही मोडेलको जहाज दुर्घटनासँग सम्बन्धित अनुसन्धानको बीचमा आएको हो । बोइङको ७८७–८ ड्रिमलाइनर फ्यूल स्विच समस्याका कारण विमान दुर्घटना हुँदा गएको वर्ष २६० जनाको मृत्यु भएको थियो ।

एयर इन्डियाले जहाजमा देखिएको खराबीसम्बन्धी विस्तृत जानकारी वा उडान विवरण खुलाएको छैन । तर रिपोर्टअनुसार लन्डनबाट बेंगलुरु आएको जहाजमा पाइलटले समस्या देखाएका थिए ।

गत वर्षको दुर्घटनाको प्रारम्भिक प्रतिवेदन अनुसार इन्धन स्विच ‘रन’ बाट ‘कट अफ’ स्थितिमा गएपछि इञ्जिन बन्द भएको थियो । तर यसो कसरी भयो भन्ने स्पष्ट भएको छैन ।

अमेरिकी नियामकले त्यसपछिका बोइङ जहाजका इन्धन स्विच सुरक्षित रहेको बताएका थिए । भारतको नागरिक उड्डयन नियामक डीजीसीएले पनि बोइङ ७८७ र ७३७ जहाजका ककपिट स्विचको जाँच आदेश दिएको थियो ।

आफ्नो सबै ७८७ जहाजमा जाँच गर्दा कुनै समस्या नदेखिएको र स्विचको लकिङ मेकानिजममा कुनै दोष नभएको एयर इन्डियाले दोहोर्‍याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप