बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी अधिकारीहरू भर्ती गर्न प्रयोग गरिएका १२ भन्दा बढी वेबसाइट एफबीआईको कब्जामा

बिहीबार, २८ जेठ २०८३, १४ : ३१
बिहीबार, २८ जेठ २०८३

वासिङ्टन डीसी । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले चिनियाँ गुप्तचर एजेन्टहरूले अमेरिकी वर्तमान तथा पूर्व सरकारी अधिकारीहरूलाई भर्ती गर्न प्रयोग गरेको आरोप लगाइएका १२ भन्दा बढी वेबसाइटहरू नियन्त्रणमा लिएको छ ।

एफबीआईले अदालतमा पेस गरेको पत्रअनुसार ती वेबसाइटहरू नक्कली परामर्श कम्पनीका रूपमा सञ्चालन गरिएका थिए । तिनको उद्देश्य अमेरिकी सुरक्षा अनुमति भएका व्यक्तिहरूलाई आर्थिक प्रलोभन दिएर संवेदनशील तथा सम्भावित रूपमा गोप्य जानकारी प्राप्त गर्नु थियो ।

ती वेबसाइटहरूमा अन्तर्राष्ट्रिय मामिला विश्लेषक, रक्षा विश्लेषक, पूर्वसैनिकका लागि जागिर तथा विभिन्न परामर्श सेवासम्बन्धी पदहरूको विज्ञापन राखिएको थियो । एफबीआईका अनुसार कम्तीमा सात जना व्यक्तिलाई यस्ता वेबसाइटमार्फत भर्ती गरिएको थियो । उनीहरूलाई चीन–अमेरिका सम्बन्ध, इरान, तथा इजरायल–प्यालेस्टाइन युद्धजस्ता विषयमा प्रतिवेदन तयार गर्न लगाइएको थियो । तर त्यसक्रममा भित्री तथा सार्वजनिक नभएका विशेष जानकारी माग्ने प्रयाससमेत गरिएको थियो ।

एफबीआईले यो अभियान सञ्चालन गर्ने व्यक्तिहरू विदेशमा बसेको र उनीहरूले जानेर वा नजानेर चिनियाँ सरकारका तर्फबाट काम गरिरहेको हुन सक्ने विश्वास व्यक्त गरेको छ । यद्यपि अमेरिकी न्याय विभागका अनुसार वेबसाइट सञ्चालनकर्ताहरूले कुनै विदेशी सरकारसँग सम्बन्ध रहेको आरोप अस्वीकार गरेका छन् । अनुसन्धानअनुसार वेबसाइटहरूको खर्च क्रिप्टोकरेन्सी तथा विदेशी बैंक खातामार्फत तिरिएको थियो ।

भर्ती गरिएका व्यक्तिहरूलाई पनि विदेशस्थित खाताबाट अमेरिकास्थित बैंक खातामा रकम पठाएर भुक्तानी गरिएको एफबीआईले जनाएको छ । हालसम्म उक्त योजनामार्फत कुनै गोप्य सरकारी दस्ताबेज वा वर्गीकृत सामग्री चुहिएको थियो वा थिएन भन्ने स्पष्ट भइसकेको छैन । एफबीआईका अनुसार योजनाका सञ्चालकहरूले नक्कली पहिचान बनाउन कृत्रिम बौद्धिकताबाट द्वारा तयार गरिएका तस्बिर र भिडियो प्रयोग गरेका थिए ।

उनीहरूले अनुसन्धान प्रतिवेदनका लागि असामान्य रूपमा ठूलो रकम प्रस्ताव गरेर संवेदनशील जानकारीमा पहुँच हासिल गर्ने प्रयास गरेको पनि आरोप छ । गत वर्ष अमेरिकी नौसेना आपराधिक अनुसन्धान सेवाले पनि विदेशी गुप्तचर संस्थाहरूले संघीय कर्मचारीहरूलाई लक्षित गरिरहेको चेतावनी दिएको थियो । प्रतिवेदनअनुसार कम्तीमा एक विदेशी गुप्तचर अधिकारीले आफ्नो सहयोगीलाई व्यावसायिक सामाजिक सञ्जाल लिङ्क्डइन मा कम्पनी प्रोफाइल बनाएर जागिरको विज्ञापन राख्न निर्देशन दिएका थिए ।

विशेष गरी ‘कामको खोजीमा छु’ भन्ने सङ्केत दिएका सरकारी कर्मचारीहरूलाई लक्षित गरिएको थियो । एफबीआईका अनुसार भर्ती प्रक्रिया लिङ्क्डइन, अपवर्कलगायत रोजगारी खोज्ने वेबसाइटहरूमार्फत सञ्चालन गरिएको थियो । अनुसन्धानले वेबसाइट सञ्चालकहरूले वास्तविक विदेशी कम्पनीहरूको विवरण र तस्वीर चोरी गरेर आफ्नो वेबसाइटमा प्रयोग गरेको देखाएको छ । अझ रोचक कुरा, कब्जा गरिएका वेबसाइटहरूमध्ये एउटामा हलिउड कमेडी चलचित्र एन्करम्यानका काल्पनिक पात्रहरूको प्रशंसापत्रसमेत राखिएको भेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप