बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कार्यकर्ताको दलबल लिएर ओली अस्पताल पसे, सेवाग्राही परे मर्कामा

सोमबार, ०४ फागुन २०८२, २० : २६
सोमबार, ०४ फागुन २०८२

सारांश

  • आगामी निर्वाचनको प्रचारको क्रममा केपी शर्मा ओली दमक अस्पताल पुगेपछि सेवाग्राहीहरूले सेवा प्रभावित भएको गुनासो गरे।
  • अस्पतालमा ओलीको उपस्थितिका कारण सेवा बन्द भएको र औषधि लिन घण्टौँ लाइनमा बसेका सेवाग्राहीहरू मारमा परे।
  • निर्वाचन आचारसंहिता अनुसार अस्पतालमा प्रचार गर्न नपाइने र सेवा प्रभावित भएको पाइए कारबाही हुने निर्वाचन अधिकृतले बताए।

दमक । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनावी प्रचार–प्रसारमा तीव्र रूपमा सक्रिय भएका छन् । निर्वाचन आयोगले आगामी १७ गतेसम्म आचारसंहिता पालना गर्दै प्रचार गर्न समयसीमा तोकेको छ, तर झापा क्षेत्र नम्बर ५ मा भने चुनावी आचारसंहिता उल्लंघन भएको भन्दै विवाद चर्किएको छ । 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहानदेखि झापा क्षेत्र नम्बर ५ मा मतदाता भेटघाटमा सक्रिय थिए । सोही क्रममा उनी दलबलसहित दमक अस्पताल पुगेपछि अस्पतालको सेवा प्रभावित भएको गुनासो सेवाग्राहीहरूले गरेका छन् । 

सोमबार बिहानदेखि नै दमक अस्पताल बिरामीले खचाखच थियो । लगातार दुई दिन सार्वजनिक बिदा परेका कारण सोमबार बिरामीको चाप अत्यधिक रहेको अस्पताल स्रोतले जनाएको छ । बिहान ११ बजेदेखि एमाले निकट युवा संघका कार्यकर्ताहरू अस्पताल गेटमा झण्डा–ब्यानरसहित ‘केपी बा हाई हाई’ जस्ता नाराबाजी गर्दै उभिएका थिए । 

damak-hospital2

करिब १ बजेर ५० मिनेटमा ओली कार्यकर्तासहित अस्पताल परिसरमा प्रवेश गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार उनी प्रवेश गरेलगत्तै ‘माथिको निर्देशन’भन्दै काउन्टर, वार्ड र इमरजेन्सी सेवा समेत केही समयका लागि बन्द गरिएको थियो । औषधि लिन घण्टौँदेखि लाइनमा बसेका सेवाग्राहीहरू फार्मेसी सेवा बन्द हुँदा झनै मारमा परेका थिए । दमक अस्पतालमा दैनिक एक हजार दुई सय भन्दा बढी बिरामीले सेवा लिने गर्दछन् ।

एक सेवाग्राहीले गुनासो गर्दै भने, ‘हामी बिहानैदेखि लाइनमा बसेका थियौँ । अचानक सेवा बन्द भयो। बिरामी लिएर आएका छौँ, तर कसैले सुनुवाइ गरेन । चुनाव प्रचारका लागि अस्पतालजस्तो ठाउँ किन प्रयोग गर्ने ?’
ओली करिब २ बजेर ३० मिनेटसम्म अस्पताल परिसरमा रहेका थिए । त्यस अवधिमा अस्पतालका अधिकांश सेवा प्रभावित बनेको सेवाग्राहीहरूको दाबी छ । निर्वाचन आचारसंहिताअनुसार कुनै पनि राजनीतिक दल वा उम्मेदवारले सरकारी, सार्वजनिक तथा संवेदनशील स्थलहरू, विशेष गरी अस्पताल, विद्यालय, स्वास्थ्य चौकीजस्ता स्थानमा प्रचार–प्रसार, सभा वा भिडभाड गर्न पाइँदैन । सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने कार्य स्पष्ट रूपमा निषेध गरिएको छ । 

निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत तुलसी नेपालले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भेला भई प्रचार गर्न नपाइने स्पष्ट पारे । उनले भने, ‘अस्पताल, विद्यालयजस्ता संवेदनशील स्थानमा प्रचार–प्रसार गर्न पाइँदैन । यदि सेवा प्रभावित भएको पाइएमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइन्छ ।’ 

यता दमक अस्पताल प्रशासनले भने सेवा ठप्प भएको आरोपलाई अस्वीकार गरेको छ । अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार कार्यक्रम अस्पताल बाहिर भएको र खासै ठुलो प्रभाव नपरेको दाबी गरे । ‘हामीलाई करिब एक घण्टाअघि जानकारी भएको थियो । कार्यक्रम अस्पताल बाहिर भएको हो । वार्ड र उपचार कक्षमा उहाँ (ओली) पुग्नुभएको छैन । त्यसैले ठुलो प्रभाव परेको छैन । सेवा अवरुद्ध भएको कुरा पनि सही होइन ।’ 

damak-hospital

चिकित्सक तथा नर्स सेवा बन्द गरेर स्वागतमा पुगेको विषयमा उनले ‘रेस्ट टाइम’ रहेको बताए । ‘रेस्ट टाइममा आउने कुरा थियो । करिब २ बजेमात्रै आउनुभयो, त्यसले गर्दा अलिकति असरचाहिँ परेको हो,’ उनले भने ।

अस्पताल प्रशासनले सेवा प्रभावित नभएको दाबी गरे पनि सेवाग्राहीहरूले भने घण्टौँ सेवा अवरुद्ध भएको गुनासो गरेका छन् । एक महिलाले रोईकराई गरिरहेको अवस्थामा प्रहरीले सम्झाईरहेको थियो । 

नेकपा एमाले झापा क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालले भने ओली चुनाव प्रचारका लागि नभई अस्पताल निरीक्षणका क्रममा पुगेको बताए । ‘अध्यक्ष कमरेडले नै बजेट छुट्याएर अस्पतालको भवन निर्माण भएको हो । उक्त भवन निरीक्षणका लागि त्यहाँ जानु भएको हो । सेवा प्रभावित भएको वा कुनै नारा जुलुस भएको कुरा सत्य होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप