आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
मिल्स भेट्रान्स गोल्डकप

उर्लाबारीलाई हराउँदै युनाइटेड सेमिफाइनलमा

मङ्गलबार, ०५ फागुन २०८२, १८ : ५०
मङ्गलबार, ०५ फागुन २०८२

विराटनगर । विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली युनाइटेड भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको अन्तिम  क्वाटरफाइनलमा उर्लाबारी भेट्रान्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको हो । युनाइटेडको जितमा जागेश्वर चौधरीले दुई र तेजमान लिम्बुले एक गोल गरे । उर्लाबारीका लागि प्रकाश राईले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको २३ औँ मिनेटमा तेजमान लिम्बुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको उर्लाबारी दोस्रो हाफमा थप दबाबमा देखियो । ४५ औँ मिनेटमा जागेश्वर चौधरीले गोल थप्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

खेलको ५० औँ मिनेटमा उर्लाबारीका प्रकाश राईले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर पुनरागमनको संकेत गरे पनि त्यो उत्साह धेरै समय टिक्न सकेन । त्यसको एक मिनेट नबित्दै जागेश्वरले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे । अन्तिम समयमा गोलका केही सुन्दर अवसर चुकाउँदा उर्लाबारी क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

निर्णायक दुई गोल गरेका युनाइटेडका जागेश्वर चौधरी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा एभरेष्ट भेट्रान्स क्लब र हाम्रो इटहरी भेट्रान्स क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप