कांग्रेसको कर्णाली आमसभा : पूर्णबहादुरलाई पुष्पाले सम्झिइन्, गगनले सम्झिएनन्
सारांश
- कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी आम सभामा ४ हजारदेखि ४५ सयको उपस्थिति रहेको सुरक्षा निकायको रिपोर्ट छ।
- कांग्रेस सभापति गगनकुमार थापाले रास्वपा र माओवादीको आलोचना गरे, भने उपसभापति पुष्पा भुसालले पूर्णबहादुर खड्काको नाम लिइन्।
- थापाले कर्णालीको विकासका लागि कानुनमा बदलाव ल्याउनुपर्ने र बजेट खर्च गर्ने व्यवस्थामा परिवर्तन आवश्यक रहेको बताए।
सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी आम सभा झण्डै दुई घण्टा चल्यो । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा आयोजित उक्त सभामा ४ हजारदेखि ४५ सयको उपस्थिति रहेको रिपोर्ट सुरक्षा निकायको छ।
जबकि सबैभन्दा पहिले सभा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यक्रममा झण्डै ११ हजार बढीको सहभागिता रहेको थियो । रास्वपाको तुलनामा कांग्रेसको चुनावी सभामा उपस्थिति कमजोर देखिन्थ्यो ।
विगतमा कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का चुनावी सभाको केन्द्र भागमा हुन्थे, यो पटक चुनावी मैदान छाडेका उनी गृह प्रदेशकै चुनावी सभामा देखिएनन् ।
विशेष महाधिवेशनपछि आधिकारिकताको विषय लिएर सर्वोच्च गएका खड्काले मुद्दा विचाराधीन रहेको अवस्थामा नैतिक रूपमा पनि चुनाव नलड्ने घोषणा गरे ।
यद्यपि कांग्रेस जिताउन अपिल गरेका उनी कर्णालीमै भएको आम सभामा देखिएनन्, तर कर्णालीका कार्यकर्ताले उनको खोजी भने गरेको देखियो ।आम सभा स्थलमा भएका केहीलाई रातोपाटीले विगत र अहिलेको चुनावी सभाबारे सोधेको थियो, जसमा धेरैले कर्णालीको अभिभावक नेता उपस्थित नहुँदा ‘के–के नपुगेको जस्तो लागेको’ प्रतिक्रिया दिए ।
‘उपस्थिति राम्रै हो, तर हाम्रो प्रदेशकै ठुलो नेता सभामा देखिनु भएन, उहाँको अभाव खट्किने भइहाल्यो नै,’ नाम नखुलाइदिने शर्तमा एक सहभागीले भने, ‘अहिले खुलेर कुरा गर्न गाह्रो छ हजुर..!’ खड्का उपस्थित नभए पनि अर्का नेता हृदयराम थानी भने मञ्चमा झुल्किएका थिए । उनले पनि यो पटक चुनावी मैदान छाडेका छन् ।
कर्णालीमा कांग्रेसका यी दुई ‘हेभीवेट’ नेताले चुनावी मैदान छाडेपछि दैलेख–२ बाहेक अधिकांश क्षेत्रमा नयाँ अनुहार उम्मेदवार छन् । खड्काले चुनाव लड्दै आएको सुर्खेत—१, मा उनका भाइ विष्णुकुमार खड्का र थानी लड्दै आएको सुर्खेत–२, मा थानी पक्षधर मानिने नारायण कोइराला उम्मेदवार छन् ।
नेता, कार्यकर्ताहरूले पूर्णबहादुरलाई सम्झिरहँदा खड्काकै गढमा आएका कांग्रेस सभापति गगनकुमार थापाले भने नामै लिन चाहेनन् ।
करिब २५ मिनेट भाषण गरेका थापाले खड्का र उनको योगदानबारे चर्चा गरेको सुनिएन । विशेष महाधिवेशनबाट थापा सभापति बने पनि कर्णाली भने विशेष महाधिवेशनको विपक्षमा (अधिकांश प्रतिनिधि) उभिएको थियो ।
खड्का नियमित महाधिवेशनबाट सभापति बन्ने लाइनमा थिए भने कर्णालीका नेताहरूले भावी प्रधानमन्त्रीकै रूपमा चर्चा गरिरहेका थिए । तर थापाहरूले विशेष महाधिवेशन गरेर खड्काको राजनीतिक यात्रामा पूर्णविराम लगाइदिए ।
बरु उपसभापति पुष्पा भुसालले भने खड्काको नाम लिएकी थिइन् । विकासको चर्चा गर्दै भुसालले भनिन्,‘सुर्खेतमा हाम्रो नेता पूर्णबहादुर खड्काले धेरै विकास गर्नु भएको छ, थानी र शिवराज दाइले पनि उत्तिकै योगदान गर्नुभएको छ ।’
कांग्रेसले रूपान्तरण भएको भनिए पनि चुनावी आमसभा र मञ्च हेर्दा परम्परागत नै पाइयो । मञ्चमा रहेका अधिकांश नेताहरूलाई खादा मालाले बेहुलाजस्तै सिँगारिएको थियो । हृदयराम थानी बाहेक सबैका गलाका दुबोका मालाहरू भरिएका थिए ।
यद्यपि विशेषको पक्षमा नखुलेका भूपेन्द्रजंग शाही लगायतका नेताहरू सभास्थलमा देखिएनन् ।
आफ्ना कमजोरी स्वीकार, अरूमाथि आलोचना
सभामा करिब २५ मिनेट लगातार भाषण गरेका सभापति गगनकुमार थापाले विगतमा कांग्रेसबाट थुप्रै कमजोरी भएको स्वीकार गर्दै हरेक जसो शब्दहरू अन्य दल विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र साबिक माओवादीको आलोचना गरे ।
उनले माओवादी र रास्वपालाई आलोचना गर्नुको कारण छ–रास्वपाले यसअघि प्रदेशस्तरीय चुनावी सभा सोही ठाउँमा गरेको थियो । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले कर्णालीबारे बोलेका कुरालाई थापाले प्रतिप्रश्नसहित आलोचना गरेका थिए ।
माओवादीलाई आलोचना गर्नुको कारण–सशस्त्र युद्धको केन्द्रबिन्दु नै कर्णाली भएको र उसको प्रभाव अझै पनि रहेकाले हो । १० जिल्ला रहेको कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा माओवादीबाट रूपान्तरण भएको नेपाली कम्युनिस्ट पार्टीको प्रभाव अझै पनि बलियो छ । फागुन २१ गते हुने चुनावमा उक्त दलले नै सबैभन्दा धेरै सिट ल्याउने आकलन गरिएको छ ।
यो अवस्थामा थापाले विगतमा माओवादीले खासै काम गर्न नसकेको भन्दै आलोचना गरेर जनमत आफूतिर बटुल्ने प्रयत्न गरे । थापाले १० वर्षे माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’ का रूपमा व्याख्या गरे ।
‘कर्णालीले त्यो बेला भोगेको दर्द, हिंसा थियो, त्यही हिंसाबाट बाहिर आउने कुरा सबैभन्दा ठुलो कुरा थियो,’ उनले भने, ‘हामीले धेरै भोग्यौँ, ती सबै भोगाइहरूबाट बाहिर निस्किसकेपछि जब देशले गति समात्नु पर्थ्यो, कहीँ न कहीँ हामीबाट त्रुटि भएको छ ।’

गठबन्धनको संस्कृतिले कहीँ न कहीँ राजनीति फोहोर भएको बताउँदै थापाले भने–त्यो अब हामी सफा गर्छौँ ।
थापाले युद्धमा कर्णालीमा माओवादीले मान्छे मारेको पनि बताए । ‘हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर बाहिर गएर मस्ती मारिरहेकाहरू आज हाम्रा बीचमा आएर, घुमेर पाँच वर्षमा चटक गर्छु भने, कम्तीमा कर्णालीले नपत्याओस्,’ उनले माओवादीसँगै रास्वपा सभापति रवि लामिछाने केन्द्रित आलोचना गरे, ‘कम्तीमा नपत्याऊँ, कांग्रेसका साथीहरू हो, ठुलो कोलाहल र ठुलो हल्ला छ, हल्ला सामाजिक सञ्जालमा छ । गाउँ गाउँ पुगेको छ, सहरमा मात्र होइन ।’
विदेशमा रहेकाहरूले रास्वपाप्रति समर्थन गरिरहेकोप्रति लक्षित गर्दै थापाले कांग्रेसले पाँच वर्ष सरकारको नेतृत्व गरेको खण्डमा ०४६ साल पछाडि भएका, भनिएका, सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने दाबी नै गरे ।
‘त्यस्ता काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एक जना मान्छे पनि बच्दैन,’ उनले थपे । उनले अन्य दललाई मत दिएर पाँच वर्ष फेरि खेर नफाल्न पनि भने ।
कुनै बेला माओवादीले पनि आफू नयाँ हौँ पाँच वर्षमा चमत्कार गर्छु भनेको स्मरण गरे थापाले । भने, ‘हिजो कर्णालीमा गाउँ गाउँमा भाषण गर्दै गर्दा माओवादीले अरूले कयौँ वर्ष राज्यसत्ता लुटे, अब हामी आउँछौँ, सत्ता लिएपछि लोकतान्त्रिक सत्तामा सब चमत्कार हुन्छ भनेको थियो, देखेको होइन हामीले ?’
नयाँ–नयाँ भनेर अन्य दलहरु पनि आएकाले फेरि भूलभुलैयामा नपर्न आग्रह गरे । दुई अतिवादी सोचकै कारण जेनजी आन्दोलन भएको र भोलि पनि हुन सक्ने आशङ्का व्यक्त गरे ।
उनले कांग्रेस एउटा प्रतिबद्धताका साथ आएकाले ८२ देखि ८७ सम्मको पाँच वर्ष देशको नेतृत्व गर्न पाए नेपालको इतिहासमा सबैभन्दा स्वर्णिम काल बनाउने उद्घोष पनि गरे ।
‘एउटा सपना र सङ्कल्प बोकेर आएका छौँ,’ उनले अगाडी भने, ‘पेटमा भोक छ, आँखामा सपना छ । हामी उड्नका लागि तयार छौँ तर हामीले जमिन छोडेका पनि छैनौँ ।’
कर्णालीको समृद्धिबारे के भने ?
कर्णालीको विषयमा यसअघि रास्वपा वरिष्ठ नेता बालेन साहले ३ मिनेटमा भाषण दिएका थिए । प्रशंसाले भरिएको साहको भाषण निकै रुचाइएको छ, कर्णालीमा । कांग्रेस सभापति थापाले भने साहको भाषण लक्षित आलोचनात्मक टिप्पणी गरे ।
‘कर्णाली स्वर्ग हो, अन्नको भण्डार हो भन्न सकिन्छ, स्याउको कथा भन्न सकिन्छ,’ साहले समेटेका शब्दहरूमाथि थप प्रश्न गर्दै उनले भने, ‘त्यसो भनिरहँदा करिब ४० प्रतिशत गरिबी भोगेर कर्णाली किन बसिरहेको छ ?’
साहजस्तो उनले पनि कर्णालीको कुपोषण समस्याबारे बोले । र थप भने—‘म आएपछि सबै कुरा ठिकठाक हुन्छ, यहाँ भन्दा पहिलाकाले केही गरेनन् भनेर उत्तर दिएर भाग्न पनि सकिन्छ तर उत्तरले समस्याको समाधान दिन्न, जरामा पुग्नुपर्छ ।’
कर्णालीको विकास गर्ने कुरा नै महँगो बताउँदै थापाले कर्णाली र काठमाडौँको विकासको ढाँचा एउटै तरिकाले नहुने बताए । उनले कर्णाली प्रदेश सरकारको आय कमजोर रहेको औँल्याए, कर्णालीको विकासका लागि केही कानुनमा बदलाप ल्याउनुपर्ने बताए ।
‘म संविधान र कानुनमा बदलाप ल्याउनका लागि पाँच वर्षको प्रयोग गरौँ भन्छु, एउटा साथी पाक्व मञ्चमा आएर बोल्दिनुहुन्छ, यत्रो वर्ष के गरिस् ? कति सजिलो छ है,’रविप्रति लक्षित गर्दै थापाले भने ।
साथै, थापाले कर्णालीमा बजेट आएन भन्ने गुनासोसँगै पाएको पैसा समेत खर्च नभएको प्रति भने प्रश्न उठाए । ‘कर्णालीले प्राप्त गरेको रकमको ६० प्रतिशत पनि खर्च भएको छैन,’ उनले थपे ।
खर्चका लागि अहिले भएको बजेट ल्याउने र बजेट खर्च गरिसक्ने व्यवस्थामा बदलाप आवश्यक रहेको उनको भनाइ थियो ।
मुलुक रूपान्तरणकै लागि मत माग्न आएको दाबी
कांग्रेस उपसभापति पुष्पा भुसालले मुलुक रुपान्तरणका लागि मत माग्न आएको बताइन् । कर्णालीको समृद्धि मुगु रारासम्म पुगोस् भनिन् ।
समृद्धिको सपना बोकेर कांग्रेसले मत मागिरहेको र अब कुनै पनि भ्रष्टाचारीलाई कांग्रेसले नस्विकार्ने बताइन्, उनले ।
साथै, उनले कर्णालीलाई पर्यटन जोन बनाउने कांग्रेसको योजना रहेको सुनाइन् । उनले विचारै नभएको पार्टीसँग प्रतिस्पर्धा गर्नु परेको भन्दै रास्वपामाथि टिप्पणी गरिन् ।
उनले गगनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेकाले कर्णालीका जनताले मतबाट कांग्रेस सभापतिलाई देशको बागडोर सम्हाल्न भोट मागिन् ।
०७९ मा गठबन्धनको बलमा कांग्रेसले कर्णालीमा ४ सिट जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण