बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सैनिक कमाण्ड तथा स्टाफ तालिम: स्वदेशी र विदेशी गरी ९२ अधिकृत दीक्षित

शुक्रबार, १५ फागुन २०८२, १५ : ३३
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट ९२ जना अधिकृतहरू दीक्षित भएका छन्।
  • समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरे।
  • कलेजले हालसम्म विभिन्न सुरक्षा निकाय र मित्रराष्ट्रका १५०७ जना अधिकृतहरूलाई प्रशिक्षित गरेको छ।

काठमाडौं । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट स्वदेशी र विदेशी गरी कुल ९२ जना अधिकृतहरू दीक्षित भएका छन्। 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गत वैशाख ४ गतेबाट सुरु भएको सि.सं. ३२ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह प्रधानसेनापति महारथी अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको हो।

निर्देशनालयका अनुसार यसपटक दीक्षित हुने अधिकृतहरूमा नेपाली सेनाका ८१ जना रहेका छन्। यसैगरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट एक/एक जना अधिकृतले तालिम पूरा गरेका छन्। 

उक्त तालिममा मित्रराष्ट्रहरू बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका गरी ८ जना विदेशी सैनिक अधिकृतहरूसमेत सहभागी भई दीक्षित भएको निर्देशनालयले जानकारी दिएको छ।

दीक्षान्त समारोहमा प्रधानसेनापति सिग्देलले तालिममा सर्वोत्कृष्ट हुने सेनानी दिपेन्द्र विक्रम के.सी.लाई 'सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार' प्रदान गरेका थिए भने भारतीय सेनाका मेजर अनमोल चौधरीलाई 'सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षार्थी अधिकृत पुरस्कार'बाट सम्मान गरिएको थियो। सोही अवसरमा प्रधानसेनापति सिग्देलले कलेजको वार्षिक प्रकाशन 'शिवपुरी जर्नल'को २७औँ संस्करणसमेत विमोचन गरेको निर्देशनालयले उल्लेख गरेको छ।


यसैगरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक आचार्यले 'मास्टर्स इन स्ट्राटेजिक स्टडिज (एमएसएस)' तर्फ प्रथम भएका भारतीय सेनाका मेजर चौधरीलाई पुरस्कृत गरेका थिए। कार्यक्रममा कलेजका शिक्षाधिकृत उपरथी भुवन खत्रीले कमाण्डान्ट पेपरतर्फ प्रथम भएका सेनानी सञ्‍जय सिलवाल र सह-सेनानी विनोद कुमार गुरागाईलाई पुरस्कार प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।


सैनिक कमाण्ड तथा स्टाफ कलेजले हालसम्म विभिन्न सुरक्षा निकाय र मित्रराष्ट्रका गरी जम्मा एक हजार पाँच सय सात जना शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षित गरिसकेको छ। निर्देशनालयको तथ्याङ्कअनुसार यसमा नेपाली सेनाका १३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरीका २९, अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रका १३२ जना रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप