बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

बिहीबार, २१ जेठ २०८३, ११ : ४४
बिहीबार, २१ जेठ २०८३

काठमाडौं। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् ।

बुधबार झापाको मेचीनगर नगरपालिका–७ स्थित संजय सिमेन्ट फ्याक्ट्री अगाडिको सडकमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २१ वर्षीय अजय राजबंशी र भारतको किशनगन्ज गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

धादिङको नीलकण्ठ नगरपालिका–१० टारीबेशीमा ईको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार भक्तपुर सूर्यविनायक नगरपालिका–७ निवासी ५३ वर्षीय नुछेबहादुर कोजुको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित अन्य ६ जना घाइते भएका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–९ फुटुङ ग्याडोलमा ट्याक्सीको ठक्करबाट पैदलयात्री ४ वर्षीय स्पर्श बानिया केसीको मृत्यु भएको छ । गोरखा घर भई मनमैजु बस्दै आएका बालक स्पर्शको उपचारका क्रममा ईशान बाल अस्पताल बसुन्धारामा मृत्यु भएको हो ।

यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–८ कलामसीमा मिक्सचर जडित ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सिन्धुली भीमान नगरपालिका–१० घर भई काठमाडौं सिनामंगल बस्ने २६ वर्षीय हेमबहादुर नेपाली र भोजपुर घर भएका ३२ वर्षीय विजय राई रहेका छन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–२ अर्मादी घुम्तीमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ का ४० वर्षीय हिरा गर्बुजा र मोटरसाइकलमा सवार कुश्मा नगरपालिका–१ मालढुंगा निवासी ३५ वर्षीय सुर्जन भण्डारीको मृत्यु भएको छ । दुवै जनाको उपचारका क्रममा प्रदेश अस्पताल कुश्मामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–१ बागखोर तिलकन्या खोलामा ग्यास बोकेको ट्याङ्कर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक भारत उत्तर प्रदेशका ४४ वर्षीय देबेन्द्र पालको ज्यान गएको छ । गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी राप्ती सोनारी गाउँपालिका–९ सिमलचोकमा ट्रकको ठक्करबाट साइकलयात्री ३६ वर्षीया हरिकला वलीको मृत्यु भएको छ । घाइते वलीको नेपालगन्जस्थित संजीवनी मेडिकल कलेज अफ साइन्सेसमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप