बालेनको धावा, ‘किल्ला’ जोगाउन ओलीको कसरत
सारांश
- झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बालेन शाहबीच प्रतिस्पर्धा हुँदैछ।
- ओली आफ्नो पुरानो किल्ला जोगाउन घरदैलो अभियानमा लागेका छन् भने बालेनको भौतिक अनुपस्थितिको गुनासो छ।
- स्थानीय मतदाताहरू विकास र सिँचाइको माग गरिरहेका छन्, र आगामी निर्वाचनमा युवा पुस्ताको चासो बढेको छ।
दमक । पूर्वी नेपालको व्यापारिक केन्द्र दमक । झुल्के घामसँगै यहाँ अलग्गै सुगन्ध झर्छ, त्यो हो ‘भक्का’ । दमक नगरपालिकाको मुख्य चोकैमा छ ‘न्यौपाने खाजाघर’ । यहाँको भक्का पूर्वको पहिचान मात्र होइन, अचेल यो राजनीतिक गफगाफको मुख्य जमघटस्थल पनि बनेको छ ।
बिहानैदेखि खाजाघरमा निकै भिड लाग्छ । तात्तातो भक्का, समोसा र जेरी–पुरीको स्वाद लिनेहरूको ताँती छ । तर सञ्चालक सञ्जीव न्यौपानेका अनुसार अहिलेको भिड अलि फरक छ । ‘पहिले त चिनिएका स्थानीय मात्र आउँथे,’ न्यौपाने भन्छन्, ‘तर अहिले त दिनकै नयाँ–नयाँ अनुहारहरूको ओइरो छ ।’
यसको कारण, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन हो । झापा निर्वाचन क्षेत्र नम्बर ५, जहाँ देशकै हेभिवेट नेता नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) बिच भिडन्त हुँदै छ ।
यो चुनावी रापले दमकको धुलाम्य पूर्व–पश्चिम राजमार्ग मात्र होइन, भित्रसम्म चिल्ला भएका साना गल्ली र चिया पसलहरूलाई समेत गर्माएको छ । न्यौपानेका अनुसार यो क्षेत्रमा एमाले र रास्वपाका कार्यकर्ताहरू ठाउँठाउँबाट खनिएका छन् ।
पत्रकार, युट्युबहरू पनि बाक्लै आउजाउ गरिरहेका छन् । यहाँका मयुरी र टुकटुक चालकहरूलाई अहिले भ्याइनभ्याई छ । ‘कता कताबाट मान्छे आएका छन्, ठेगानै छैन,’ न्यौपानेले दमकको अवस्था सुनाए ।
झापा–५ ओलीको विरासत हो, उनको किल्ला हो । तर यसपटक यो किल्लाभित्रै उनलाई कडा चुनौती महसुस भएको छ । विगतका चुनावमा ओली झापा आउँदा एउटा ठुलो आमसभा गर्थे, हेलिकोप्टरबाट ओर्लिन्थे, हात हल्लाउँथे र जान्थे । तर यसपालि दृश्य बदलिएको छ । ओली अहिले दमकका घर–टोल र गल्ली–गल्लीमा पुगिरहेका छन् ।
दमक नगरपालिकाको कृष्ण मन्दिर नजिकै भेटिएका सुशील दाहाल भन्छन्, ‘उहाँले अहिले सबै प्राथमिकता झापा–५ मै दिनुभएको छ । घर–घर पुगेर पुराना गुनासो सुनिरहनुभएको छ । पहिला त हात हल्लाएर जाने मान्छे अहिले मतदाताको दैलोमै आइपुग्दा अलि बिग्रिएको मत फेरि सुध्रिएको जस्तो देखिएको छ ।’
झापा ५ का स्थानीय अहिले ओलीले यसअघि बिग्रेको मत विस्तारै सुधार गर्दै गइरहेको बताउँछन् । ‘पहिलाको चुनावमा दमकमा एउटा सभा गरेर हात हल्लाएर जाने गरेका थिए, तर यो पटक घर घरमा पुगेका छन् । केपी ओलीसँग मन दुखाएकाहरूलाई फर्काउन खोजिरहेका छन्,’ दाहाल भन्छन् ।
लामो समयदेखि एमालेमा रहेका ध्रुव घिमिरे यो पटकजस्तो चुनौती २०६४ सालपछि कहिले महसुस नगरेको बताउँछन् । ‘हामी दिन त एमालेलाई नै मत दिन्छौँ, जन्मजात एमाले नै हो, तर केपी ओलीको वरिपरिका मान्छेले बिगारेको धेरै गुनासो थियो । यो पटक घरमै आएर मत मागेपछि हामीले भनेका छौँ,’ उनी भन्छन् । घिमिरेका अनुसार १५ दिन अगाडिसम्म यहाँ बालेनको ७० प्रतिशतभन्दा राम्रो माहोला भए पनि अहिले ५०–५५ प्रतिशत मात्रै समर्थन देखिएको छ । ‘मत र मन फर्काउन सके ओलीले जित्लान् भन्ने छ नत्र धेरै गाह्रो देखिएको छ,’ उनले भने ।
- बालेनप्रति गुनासो
काठमाडौँका मेयरका रूपमा स्थापित बालेन जब प्रधानमन्त्रीको उम्मेदवारका रूपमा झापा–५ मा ओर्लिए, यहाँको युवा पुस्तामा एउटा आँधी नै आयो । तर चुनाव नजिकिँदै गर्दा एउटा नयाँ गुनासो सुनिन थालेको छ— बालेनको भौतिक अनुपस्थिति ।
यही कारण ओलीप्रति निराश भएका केही स्थानीय अझै मत कसलाई हाल्ने भन्ने दोधारमा पनि देखिन्छन्, जसको फाइदा ओलीलाई नै हुने देखिएको छ । ‘हामीले बालेनलाई मत दिने भनेकै हो, तर अहिलेसम्म अनुहार नै देख्न पाएको छैन । कसरी दिने ? अरू टोलतिर घुम्यो भन्ने सुनिन्छ, तर यता आएको नै छैनन् । अब मत माग्नै नआएको मान्छेलाई कसरी दिने ?’ कमल गाउँपालिकाकी देविका निरौला बताउँछिन् ।
निरौलाका अनुसार धेरैजसो मतदाता बालेनले वास्तै नगरेको गुनासो गरिरहेका छन् । ‘यहाँ धेरैले अनुहार मात्रै देख्न पाए पनि मत हाल्छु भनेका छन्, तर अहिले नै देख्न नपाएको मान्छेले चुनाव जितेर गएपछि कसरी हेर्छ भन्नेचाहिँ छ,’ उनले भनिन् ।
स्थानीय कमल आङहाङ्बोले अघिल्लो पटक राप्रपालाई मतदान गरेका थिए । ‘यो पटक कि घन्टी, कि माटोलाई मत हाल्ने भनेर बसेको थिएँ । तर मैले मत दिने मान्छेसँग भेट त हुनुप¥यो नि । त्यो कुरामा बालेन चुकेका छन् । त्यही भएर मत निक्र्योल गर्न सकेको छैन । मैले भेटेँ भने यही कुरा भन्छु,’ आङहाङ्बो हामीसँग बताए ।
झापा–५ मा बालेनलाई मत दिने मन भए पनि देख्नै नपाएर गुनासो गर्नेहरू निकै भेटिए ।
यहाँ बालेनप्रतिको आकर्षण डिजिटल माध्यममा जति बलियो छ, भौतिक घरदैलोमा कम छ, जसको प्रत्यक्ष फाइदा अन्य दल अथवा ओलीलाई पुग्न सक्छ ।
- देशभरका एमाले कार्यकर्ता ओलीको क्षेत्रमा
अहिले झापा–५ केवल झापाको छैन, यो देशभरका एमाले कार्यकर्ताको प्रतिष्ठाको विषय बनेको छ । दमकका होटलहरू अचेल ‘प्याक’ छन् । पूर्वेली गेस्ट हाउसका सञ्चालक कुमार न्यौपाने भन्छन्, ‘एमाले कार्यकर्ताको ओइरो छ, पछिल्लो एक हप्तादेखि त कोठा पाउनै मुस्किल छ ।’
नेकपा एमालेको भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अनेमसंघलगायत पदाधिकारीहरू नै यो क्षेत्रमा भेटिन्छन् । ‘यो क्षेत्र एमालेको स्वाभिमानसँग जोडिएको क्षेत्र हो, यहाँ हाम्रो अध्यक्ष नै उठेपछि देशभरबाट स्वःस्फुर्त नेता कार्यकर्ता आएका छन् । अरू क्षेत्रको मतलब भएन, केपी ओली जित्नुप¥यो भनेर हामी लागिरहेका छौँ,’ दमकमा भेटिएका एक विद्यार्थी नेता भन्छन् । यो क्षेत्रमा विशेषगरी युवा र महिलालाई एमालेले परिचालन गरेको उनले बताए । ‘हामी भूगोल हेरेर चिया पसलदेखि खेतसम्म पुगिरहेका छौँ । एमाले र ओलीविरुद्ध गरिएको प्रचार रोक्न खोजिरहेका छौँ,’ उनले सुनाए ।
यस्तै झापामा ‘जे पनि हुनसक्ने’ भन्दै एमालेले युवाहरू पनि खटाएको छ । झापाकै एमाले कार्यकर्ताहरू चक्रे मिलन ग्याङ दमकलमा ठुलो संख्यामा रहेको बताउँछन् । भ्रातृ संगठन मात्रै नभई, एमालेनिकट कलाकारहरू पनि झापामा उत्तिकै छन् । उनीहरूले ओलीलाई सकारात्मक वातावरण बनाउन खोजिरहेका छन् । दमकका होटल सञ्चालकहरू पनि प्रायः कोठा भरिएका बताउँछन् । ‘एमालेको कार्यकर्ताहरूको ओइरो छ, चुनाव लागेर राम्रै भएको छ । पछिल्लो एक हप्तादेखि त यहाँ आएको आएकै छन्,’ पूर्वेली गेस्ट हाउसका सञ्चालका कुमार न्यौपाने भन्छन् ।
रञ्जितले व्यक्तित्व बढाउँदा अन्य उम्मेदवार छायामा
ओली र बालेनको ‘हाइ–प्रोफाइल’ भिडन्तका बिच अन्य उम्मेदवारहरू भने यहाँ ओझेलमा परेका छन् । ओली र बालेनको व्यक्तित्वले गर्दा छायाँमा परे पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले आक्रामक ढंगले चुनावी अभियान गरिरहेका छन् ।

‘बालेन र ओली दुवै अतिवाद हुँदा विकल्पमा मै हुँ । स्थानीय पनि, युवा पनि हुँ,’ उनले दमकमा भोट माग्दै भनेका छन् । स्थानीयले तामाङलाई राम्रै प्रतिक्रिया दिए पनि उनको प्रतिस्पर्धा ओली र बालेनको अगाडि फिक्का देखिएको छ ।
दमक नगरपालिका एक घरदैलोमा तामाङले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गर्दा स्थानीय महिलाहरूले ‘जय घन्टी’ भनेका थिए । यद्यपि उनले सांगठनिकभन्दा व्यक्तिगत छवि बलियो बनाउँदै मत मागिरहेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मन्धरा चिमरिया पनि यहाँ छायामा परेकी छन् । सामाजिक रूपमा सक्रिय भए पनि यो पटक उनले नजित्ने भन्दै कांग्रेसकै केही सक्रिय कार्यकर्ताहरू रास्वपातिर लागेका छन्, जसका कारण उनलाई यहाँ मत जोगाउन पनि गाह्रो पर्ने देखिएको छ ।
‘व्यक्तिगत रूपमा उहाँमा केही समस्या त होइन, तर यो पटक दुई ढुंगाको बिचको तरुल बन्नुभएको हो,’ महारानीझोडाका स्थानीय कांग्रेस नेता रामशरण काफ्ले सुनाउँछन् ।
यो क्षेत्रमा श्रम संस्कृति पार्टीबाट समीर तामाङ पनि उम्मेदवार छन् । उनले मुख्यगरी राई, लिम्बूको जातीय मत यहाँ पाउने सम्भावना बढी छ । तर उनी प्रतिस्पर्धामा भने नदेखिएका हामीले पायौँ । ‘यो क्षेत्रको राईहरूको धेरै मत समीरलाई आउँछ, उनको कारणभन्दा पनि हर्क साम्पाङले नै यो क्षेत्रमा अलि बढी चासो राखेर हो,’ कमल गाउँपालिका भुत्लुङका स्थानीय फर्नाडेज राई बताउँछन् ।
- घरदैलोमा एउटा पाटो
यो चुनावी रौनकको एउटा अँध्यारो पाटो पनि छ । स्थानीय मतदाताहरूमा एक प्रकारको त्रास पनि देखिएको छ । यहाँ केही एमाले नेताहरू नै ओलीको शैलीप्रति असन्तुष्ट छन् । ‘केही सीमित व्यक्तिको घेराबाट अध्यक्ष कमरेड उठ्न सक्नुभएन । चुनावको बेला मात्रै सम्झेर मात्रै पनि हुँदैन । ग्राउन्ड सबै बिग्रियो भनेर रिपोर्ट गर्दा वास्ता गरेनन् । अहिले कसरी हुन्छ, मत थपौँ भनेर भएन नि,’ गौरीगञ्जका एमालेका एक नेता भन्छन् ।
यहाँ ओलीको मत बिग्रनुको अर्को कारण हो, चुनावी अभियानको शैली । स्थानीय नेताभन्दा धेरै यहाँ युवा संघका कार्यकर्ता, नेसनल भोलेन्टियर्स फोर्सका सदस्य हिँड्ने गरेका छन् । ‘हामीलाई नै नचिन्ने गुण्डाहरू बोकेर हिँडेका छन्, मत दिन्नँ भन्नेलाई मुख छाड्ने, हात हाल्नेसम्म गरेका छन् । उहाँ चुनावपछि काठमाडौँ हिँड्नुहुन्छ । हामी त यहीँको मान्छे हो नि । लोकल ठाउँमा दादागिरी गरेर हुन्छ ? मत माग्न नसक्ने भइसकेका छौँ,’ ती नेताले भने ।
ती नेताले भनेझैँ ओलीको घरदैलोमा पनि त्यस्तै देखियो ।
_8rigsun0re_LWRf42Y6qu.jpg)
एमाले र ओलीविरुद्ध बोल्नेहरूलाई झापा–५ मा भोलेन्टियर फोर्सले धम्की दिने, आक्रमण गर्ने सामान्य जस्तै भइसकेको स्थानीय शिक्षक सुबोध रिमाल (नाम परिवर्तन) बताउँछन् । ‘यहाँ मत अन्तै हाल्छु भन्ने स्थिति नै छैन, यहाँ उनीहरूको अगाडि बोल्यो भने ज्यान खतरामा छ,’ उनले भने । झापाका स्थानीय पत्रकार, सामाजिक अगुवाहरू समेत ओलीको घरदैलो टिममा गुण्डाहरू रहेका बताउँछन् ।
- मतदाताको आवाज : भ्यु टावरभन्दा सिँचाइ चाहियो
दमकका मतदाताहरू अहिले विकासको परिभाषा खोजिरहेका छन् । ८३ वर्षीया एक वृद्ध मतदाता भन्छिन्, ‘मैले १८–१९ सालदेखि भोट हालेको । नेताहरू चुनावमा गुरुरु आउँछन्, जितेपछि अनुहार देखाउँदैनन् । बालेनले अर्काको घर भत्काएको मलाई मन परेको छैन ।’
स्वतन्त्र नागरिक विमल गणेशको आक्रोश अलि फरक छ । ‘भ्यु–टावर त बन्यो, तर केका लागि ? एउटा गाउँमा डाक्टर र औषधि छैन । १५ वर्षदेखि पुल अलपत्र छ । प्रधानमन्त्री र सभामुख आफ्नै जिल्लाको हुँदा पनि जनताले के पाए ?’ उनी सोध्छन् ।

कमल गाउँपालिकाको मुजुरभिट्टाका वृद्ध किसानहरूलाई पनि भ्यू टावरभन्दा सिँचाइ चाहिएको छ । ‘बाटो त बन्यो, तर खेतमा पानी छैन । मोटर हालेर खेती गर्नुपर्छ, त्यो पनि चोरी हुने डर छ । हामीलाई भाषण होइन, काम गर्ने मान्छे चाहिएको छ,’ उनीहरू भन्छन् ।
दमक–४ की एक महिला मतदाताको भनाइमा युवापुस्ता ‘घण्टी’तिर ढल्किएको छ, तर वृद्ध पुस्तामा अझै पनि ‘केपी बा’ प्रतिको मोह बाँकी छ । ‘केपी बा बुढो हुनुभयो, अब युवालाई पालो दिए हुन्थ्यो,’ उनी भन्छिन् ।
रातोपाटी टिमले झापा–५ को निर्वाचन क्षेत्रमा दुई बितायो । जसअनुसा भन्न सकिन्छ– यो क्षेत्र चुनावी मैदान मात्र रहेन, यो त पुराना र नयाँबिचको वैचारिक र शक्ति संघर्षको कुरुक्षेत्र बनेको छ । एकातर्फ संगठन, सत्ताको अनुभव र ‘डेरा’ जमाएर बसेका कार्यकर्ताको फौज बोकेका ओली छन् भने अर्कातर्फ सामाजिक सञ्जालको लहर, परिवर्तनको भोक र युवा पुस्ताको आशा बोकेका बालेन छन् ।
दमकको चोकमा भक्का पाक्दै गर्दा झापा–५ को भविष्य पनि पाकिरहेको थियो । ओलीले आफ्नो बिग्रिएको मत कति सुधार्न सके ? बालेनले आफ्नो ‘अदृश्य’ उपस्थितिलाई मतमा कति बदल्न सके ? र रञ्जितजस्ता युवाहरूले कति मत तान्न सके ? यी सबै प्रश्नको उत्तर फागुन २१ गतेको मतपेटिकाले दिनेछ ।
भिडियो : मनोज खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध
-
बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण