माझी बस्तीवासीका पीडा : रोजीरोटी खोसियो, जीवन धान्न मुस्किल
सारांश
- बागलुङको माझी बस्तीका बासिन्दा गरिबीका कारणले गर्दा घरको छानामा ढुङ्गा राख्न बाध्य छन्।
- कालीगण्डकी नदीमा भइरहेको दोहनले बस्तीलाई खतरामा पारेको छ, जसका कारण स्थानीयहरू विस्थापित हुने चिन्तामा छन्।
- चुनावमा भोट बैंकको रूपमा प्रयोग हुने माझी बस्तीका बासिन्दाले राज्यबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन्।
बागलुङ । बस्ती नजिकै बगिरहेको कालीगण्डकी नदी । छेउमै स–साना सिमेन्टका ब्लक र पुराना जस्तापाताले छाएका छाप्रा । छानाभरि ढुङ्गै ढुङ्गा । किन यसरी छानामा ढुङ्गा राखिएको होला ? माझी बस्तीमा देखिने यो दृश्यले बागलुङ–पोखरा राजमार्गमा यात्रा गर्ने हरेक यात्रुको मनमा उठ्छ यो प्रश्न ।
पर्वतको कुश्मा नगरपालिका–१, मालढुङ्गास्थित माझी बस्तीमा बनाइएको घरका छानाले नै यहाँका नागरिकको अवस्था छर्लङ्ग पार्छ । माझी बस्तीका स्थानीयले छानामा ढुङ्गा राख्नुको कारण हो– गरिबी ।
गतिलो घर बनाउने ठाउँ छैन । ठाउँ भए पनि पैसा छैन । बिहान–बेलुका छाक टार्न अनेक सङ्घर्ष गर्ने माझी बस्तीवासी राज्यको नरबाट सधैँ ओझेलमा छन् । छेउमै रहेको राजमार्गमा कोलाहल हुँदा माझी बस्ती मौन छ । स्थानीयवासी आफ्नै सुरमा छन् । यहाँ बसोबास गर्ने धेरैजसो परिवारसँग जग्गाधनी पुर्जा (लालपुर्जा) छैन । कतिपय त छाप्रोको भाडा तिरेर बसेका छन् ।
दशकौँदेखि कालीगण्डकी किनारमा बस्दै आएका स्थानीयलाई हिजोआज एउटै कुराले सताइरहेको छ– कालीगण्डकी दोहन ।

बस्ती नजिकैको कालीगण्डकीमा ठुला–ठुला मेसिन प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् हुँदा उठीबास लाग्ने चिन्ता उनीहरूलाई छ । बर्खाको समयमा बस्तीमै नदी पस्ने भय हुन्छ । माथि अजङ्गको भिर र तल कालीगण्डकीको चपेटामा परेका स्थानीयवासी चुनावका बेला ‘भोट बैंक’का रूपमा मात्रै प्रयोग हुने गरेका छन् ।
गण्डकीले बस्ती बगाउने भयो, कता जाने ?
अवैध रूपमा भएको कालीगण्डकी दोहन राज्यले रोक्न सकेको छैन । दोहनका कारण बस्तीमा कालीगण्डकी पस्ने डरले बर्खामा बस्ती छोड्न बाध्य हुने गरेको स्थानीय ६५ वर्षीय प्रमीला भण्डारी गौचनले बताइन् । ३२ वर्षदेखि यहाँ बस्दै आएको भन्दै उनले पछिल्लो समय कालीगण्डकी दोहनका कारण बर्खामा घरमा बस्नै नसकिने अवस्था आउने गुनासो पोखिन् ।

गौचनले भनिन्, ‘गण्डकीमा जथाभावी डोजर चलाउँदा हाम्रो थातथलो नै नरहने जोखिम भयो । बस्ती बगाउने भयो । अब हामी कता जाने ?,’
गौचनका अनुसार पहिले–पहिले काली उर्लिएर माथि आउँदैनथ्यो । उनले भनिन्, ‘डोजर लगाएर बालुवा गिट्टी निकाल्न थालेपछि बर्खामा काली उर्लिएर बस्तीमा आउँछ ।’
हरेक चुनावका बेला मत माग्न आउने नेताहरूले बस्ती संरक्षण गरिदिने आश्वासन दिए पनि अहिलेसम्म केही काम नगरेको उनले सुनाइन् ।

‘चुनावका बेला यो गर्छौँ, त्यो गर्छौँ भनेर भोट माग्छन् । चुनाव जितेपछि कहाँ जान्छन्, थाहै हुँदैन । यो ठाउँका जनताले बस्ती संरक्षण खोजेका छन्’ उनले भनिन्, ‘हामीलाई अनेक बाचा गरेर झुक्याउँछन् । धेरै पटक झुक्कियौँ ।’
स्थानीय ६० वर्षीय सरिता माझीले राज्यबाट कुनै पनि सहयोग नपाएको गुनासो पोखिन् । चुनाव बेलामात्रै नेता विकासका कुरा गर्न आए पनि अन्य बेला गुमनाम बन्ने गरेको उनको भनाइ छ ।

खासगरी बर्खाको समयमा कालीगण्डकीको कटान र बस्तीमाथिको पहाड खसेर पुरिने डरले घर छोड्न बाध्य हुने उनले सुनाइन् ।
माझीले भनिन्, ‘हामी सबै असुरक्षित छौँ । हाम्रो सुरक्षा दिने कोही छैन । जसलाई भोट दिए पनि केही हुनेवाला छैन । दिक्क भइसक्यौँ ।’
कालीगण्डकीमा तटबन्ध गरिदिए बस्ती सुरक्षित हुने माझीको भनाइ छ ।
रोजीरोटी खोसियो, जीवन धान्न मुस्किल

केही वर्ष अगाडिसम्म माझी बस्तीका स्थानीयको रोजिरोटी बनेको थियो कालीगण्डकी किनार, तर हिजोआज उनीहरूले किनारबाट बालुवा गिट्टी निकाल्न पाएका छैनन् । उच्च अदालत पोखरा, बागलुङ इजलासले कालीगण्डकी नदीको दोहन रोक्न २०७५ जेठमा अन्तरिम आदेश जारी गरेपछि मजदुरको रोजीरोटी गुमेको थियो ।
अन्तरिम आदेशपछि मजदुरले गैटी–बेल्चा प्रयोग गरेर नदीजन्य वस्तु निकाल्न रोकिए पनि अवैध रूपमा दोहन भने रोकिएन । कुनै पनि निकायले अवैध दोहन रोक्न सकेनन् । त्यसको मारमा माझी समुदाय परे । स्थानीय ४३ वर्षीय गणेश माझीले बालुवा निकाले जीविका चलाएका परिवार अहिले समस्यामा परेको सुनाए ।
उनले भने, ‘पहिला दिनभरि बालुवा चालेर बिहान–बेलुकाको छाक टार्ने स्थानीयहरू अहिले बेरोजगार छन् । न त सरकारले रोजगारी दिन्छ, न त केही सहायता । युवाहरू दिनभर यतिकै हुन्छन् । बालुवा चाल्ने व्यवस्था मिलाइदिए पनि जीवन धान्न त सक्थे होलान् ।’
राज्यले अवैध रूपमा नदी दोहन गर्ने ठेकदारलाई रोक्न नसक्ने भन्दै माझीले बालुवा चालेर जीवन चलाएकामाथि घात गरेको आरोप लगाए । गण्डकीमा बालुवा चाल्न पाए यहाँका धेरै माझीलाई दैनिकी चलाउन समस्या नहुने उनको भनाइ छ ।
सडक कालोपत्र गर्ने आश्वासन मात्रै
माझी बस्तीको सडक कालोपत्र गर्ने आश्वासन पनि धेरैवटा निर्वाचनमा नेताहरूले दिए । अहिलेसम्म बस्तीभित्रको सडकको अवस्था बेहाल छ । गग्रेटाले भरिएको घर अगाडि सडक लामो समयसम्म स्तरोन्नति नहुँदा बालबालिका लडेर घाइते हुने गरेको स्थानीय रामचन्द्र कुमालले बताए ।
सडकको दुरवस्थाका कारण बस्तीमा प्रदूषण हुने गरेको भन्दै उनले यसतर्फ कसैले पनि ध्यान नदिएको गुनासो गरे ।
कुमालले भने, ‘माझी बस्तीको सडक धेरै लामो पनि छैन । एक किलोमिटर जति होला । त्यही पनि पिच गरिदिन्नन् । चुनावका बेला त हामीलाई भोट दिनुस्, कालोपत्र गरिहाल्छौँ भन्छन् तर चुनावपछि कोही आउँदैनन् ।’
कुमालले यहाँका नागरिकको समस्या बुझ्ने नेता अहिलेसम्म नपाएको दुखेसो पोखे । गरिबी र अभावै अभावमा रहेको माझी बस्तीमा नेताले खेलवाडमात्रै गर्ने गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण