प्रतिनिधिसभामा कांग्रेसका पदाधिकारी नपुग्ने निश्चित
सारांश
- नयाँ प्रतिनिधिसभामा नेपाली कांग्रेसका कुनै पनि पदाधिकारीको सहभागिता नहुने निश्चित भएको छ।
- कांग्रेस सभापति गगन थापा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित हुने देखिएका छन्।
- महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा अन्य सहमहामन्त्रीहरू पनि विभिन्न क्षेत्रमा पराजित भए।
काठमाडौँ । नयाँ आउने प्रतिनिधिसभामा नेपाली कांग्रेसका एक जना पनि पदाधिकारीको सहभागिता नहुने निश्चित भएको छ ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट आएका सभापति गगन थापासहितका पदाधिकारी नहुने अवस्था देखिएको हो ।
विशेष महाधिवेशनले १३ पदाधिकारी सर्वसम्मत चुनेको थियो । ती पदाधिकारी कुनै पनि प्रतिनिधिसभामा नपुग्ने देखिएको हो ।
सभापति थापा सर्लाही ४ मा प्रत्यक्षतर्फ उम्मेदवार छन् । उनको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहसँग यो समाचार तयार पार्दासम्म ६ हजारभन्दा कम मत पाएका छन् ।
उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने प्रतिनिधिसभाको यो निर्वाचनमा उम्मेदवार बनेका थिएनन् ।
महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे प्रत्यक्षतर्फ पराजित भएका छन् । पौडेल काठमाडौँ–५ बाट र घिमिरे मोरङ–४ बाट पराजित भएका हुन् ।
पौडेल काठमाडौँ–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलसँग पराजित भए । पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रदीप पौडेलले ९ हजार १५९ मत ल्याए ।
घिमिरे मोरङ–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशीसँग पराजित भए । राजवंशीले ४० हजार ८३३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी भएका घिमिरेले १२ हजार ८१८ मत मात्रै ल्याउन सके ।
८ सहमहामन्त्री विशेष महाधिवेशनबाट चुनिएका थिए । महिला सहमहामन्त्री डा. डिला संग्रौला पन्त यो निर्वाचनमा उम्मेदवार बनेकी थिइनन् । दलित कलस्टरका सहमहामन्त्री प्रकाश स्नेही रसाइली बझाङबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । उनी नेकपा एमालेका उम्मेदवार ऐन महरसँग पराजित भएका छन् ।
महरले १८ हजार ५४३ मत ल्याए निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका रसाइलीले १६ हजार ३०४ मत ल्याए ।
आदिवासी जनजाति कलस्टरका सहमहामन्त्री बहादुरसिंह लामा बागमती प्रदेशसभा सदस्य रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिएनन् । उनी बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री पनि हुन् ।
खस आर्य कलस्टरका सहमहामन्त्री उदय शमशेर राणा ललितपुर–१ बाट प्रत्यक्षतर्फ उम्मेदवार थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भए । महर्जनले २३ हजार ३७३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका राणाले १३ हजार ५२० मत मात्रै ल्याए ।
मधेसी कलस्टरबाट सहमहामन्त्री बनेकी मुक्ताकुमारी यादव प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बनेकी छैनन् ।
मुस्लिम कलस्टरबाट सहमहामन्त्री बनेका फरमुल्लाह मन्सुर बारा–३ बाट पराजित भएका छन् । मन्सुर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरबिन्द साहसँग पराजित भएका हुन् । साहले ४० हजार ६९७ मत ल्याएर निर्वाचित हुँदा मन्सुरले १० हजार ५२ मत मात्रै ल्याए ।
थारु कलस्टरमा सहमहामन्त्री बनेका योगेन्द्र चौधरीले पनि पराजय व्यहोर्ने निश्चित भइसकेको छ । तर, परिणाम भने घोषणा भएको छैन । उनी दाङ–१ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकसँग फराकिलो मतान्तरले पछाडि छन् । पाठकले १८ हजार ३४२ मत ल्याउँदा चौधरीले ७ हजार १९३ मत मात्रै ल्याएका छन् ।
पिछडिएको क्षेत्र कलस्टरबाट सहमहामन्त्री बनेका कर्णबहादुर बुढा पनि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । बुढा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढासँग फराकिलो मतान्तरले पछाडि छन् । धनबहादुरले २ हजार ९४ मत प्राप्त गर्दा कर्णबहादुरको ४२७ मत मात्रै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
-
प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान
-
बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक
-
रियल मड्रिडको अनुभवदेखि विश्वकपको मञ्चसम्मः मोरक्कोका ‘डिफरेन्स–मेकर’ डियाज
-
अध्यादेशको ६० दिने समयसीमाः प्रक्रियामा चार वटा पुग्दा बाँकी चार वटा निष्क्रिय हुने सम्भावना
-
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण